पोखरा/नक्कली सुनको माला बेचेर ठगी गर्ने दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत उत्तर प्रदेश घर भएकी वर्ष ७१ की प्रभादेवी र सोही ठाउँका ४२ वर्षीय रामनारायण सुलेङीले पोखरा ९ सिर्जनाचोकमा प्लाष्टिक पसल संचालन गर्ने एक व्यवसायीलाई बुधबार नक्कली सुनको माला दिइ ४ लाख रुपैयाँ लिएका थिए ।
सुन नक्कली भएको ठहर भएसँगै ती व्यवसायीले प्रहरी गुहारेका थिए । लगत्तै पोखरा १७, छोरेपाटन प्रहरी चौकीले अभियुक्तहरुको खोजबिन थालेको थियो । पोखराबाट बुटवलतर्फ जाँदै गरेको गाडीमा दुबैजना अभियुक्तलाई नगद ३ लाख ९० हजारसहित प्रहरीले फेला पारेको थियो ।
उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।





