पोखरा/भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।
घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिए । सोही अवसरमा कुकुरलाई रेविजविरुद्धको खोप पनि लगाइएको थियो । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलको भनाइ छ ।
बन्ध्याकरण गरिएकामध्ये १७ वटा भाले र ४६ पोथी कुकुर थिए । २०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने सरकारको नीति अनुरुप छाडा तथा घरपालुवा कुकुरमा सो अभियान सुरु गरिएको सो कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए ।
सहरी क्षेत्रमा कुकुर पाल्ने चलन बढ्दै जानु र पछि गएर छाडा छोड्ने प्रवृत्तिले गर्दा कुकरको संख्या बृद्धि हुदै जाने गरेको छ । त्यस्ता कुकुरले सर्वसाधारणलाई टोक्दै जादा रेबिजको जोखिम बढेको हुँदा कुुकुरको बन्ध्याकरणलाई तीव्र पारिएको पशु चिकित्सक डा. किरण पाण्डेले जानकारी दिए ।
बन्ध्याकरणबाट पोथी कुकुरमा आउने पाठेघरको समस्याको न्यूनीकरण भएर जाने डा. पाण्डले बताए ।
डा.पाण्डेको नेतृत्वमा रहेको सो टोलीमा डा.अनन्त कोइराला, डा.आशिष गौतम, डा.आशेष बिक, डा.पवन पाण्डे, डा.प्रियङ्का कोइरालालगायतका विभिन्न पशु विज्ञहरुको सहभागिता रहेको थियो ।





