पोखरा/जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधार पौडेलले गण्डकी प्रदेशमा मानव अधिकार कार्यान्वयनको अवस्था थप मजबुत बनाउनुपर्ने बताएका छन् । उनले भएका मानव अधिकारसम्बन्धी ऐन कानुन र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धिहरूको कडाइका साथ लागू गर्नुपर्ने पनि बताए ।
पौडेलबिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र गण्डकी प्रदेशको आयोजनामा प्रदेशमा मानव अधिकार मैत्री कानून कार्यान्वयनको अवस्था र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई बोल्दै थिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गिरधारी सुवेदीले प्रदेशमा संक्रमणकालीन न्याय अझै संवेदनशी भएको बताउँदै मानव अधिकारको विषयमा गण्डकी प्रदेशका पालिकाहरू थप गम्भीर हुनुपर्ने देखिएको जिकिर गरे ।
गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कानून महाशाखा सचिव धर्मनाथ कुइँकेलले गण्डकी प्रदेशले मौलिक हकको कार्यान्वयनका सवालमा केही महत्वपूर्ण ऐन निर्माण भएको जानकराी दिए ।
कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ,गैरसरकारी संस्था महासंघका उपाध्यक्ष इन्दिरा पौडेल , राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका अधिकृत सरोज गैर्हे ,मानव अधिकार एलायन्स कास्कीका अध्यक्ष पदम पहारी, प्रदेश बाल समन्वय अधिकारी बद्री वाग्ले, सिबिआरएसका कृष्ण न्यौपाने ,गोरेटो नेपालका अध्यक्ष बिमला गुरुङ ,कास्की जिल्ला बाल संजालका अध्यक्ष तेजप्रसाद ढकालसहितले प्रदेशमा मानव अधिकार मैत्री कानून कार्यान्वयनको अवस्था र सरोकारवालाहरूको भूमिका बिषयमा चर्चा गरेका थिए ।
इन्सेक पोखरा कार्यालयका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन इन्सेकका कार्यक्रम अधिकृत सबनम शर्माले गरेकी थिइन् ।





