बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फ्लोर क्रस गरेका देवकोटाको सांसद पद गयो

फ्लोर क्रस गरेका देवकोटाको सांसद पद गयो


  • ढोरपाटन संवाददाता
  • असार १ २०८१, शुक्रबार

पोखरा/ माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेश सभाका सांसद फणिन्द्र देवकोटाको पद गएको छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुनेबित्तिकै उनको पद गएको सूचना सुनाएका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई प्रदेशसभा सदस्यबाट निस्कासन गरी दल त्याग गरेको सूचना शुक्रबार प्रदेशसभा सचिवालयमा बुझाएको थियो ।

सभामुखले माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयबाट राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ अन्तर्गत दल त्याग गरेको सूचना प्राप्त हुन आएको संसद्‌मा जानकारी गराए । उनले भने, ‘‘प्राप्त सूचना अनुसार ०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ अन्तर्गत गोरखा २ (ख) बाट माओवादी केन्द्रको एकल चुनाव चिह्न गोलाकारभित्रको हँसिया–हथौडा तथा दलका अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको उम्मेदवारको आधिकारिक पत्र प्राप्त गरी निर्वाचनमा उम्मेदवार भइ देवकोटा निर्वाचित भइ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको सदस्य रहेकोमा नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा गण्डकी प्रदेशसभा नियमावली २०८० प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई प्रदेशसभा सदस्य पदबाट निस्कासन गरी दल त्याग गरेको व्यहोरोको सूचना राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम प्राप्त हुन आएकोले सोही ऐनको दफा ३५ र गण्डकी प्रदेशसभा नियमावली २०८० को नियम २०७ समेतको कानुनी व्यवस्थाअनुसार सभासमक्ष जानकारी गराउँदछु ।’ यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ । सभामुखले सूचना सुनाएसँगै उनको मन्त्री पद पनि गएको छ । तर ६ महिनाका लागि मन्त्रीमा नियुक्त हुनसक्छन् । देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री छन ।

माओवादी केन्द्रले जेठ २८ मा मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत नदिन ‘ह्वीप’ जारी गरे पनि उल्लंघन गरेपछि माओवादीले देवकोटालाई कारवाही प्रक्रिया अघि बढाएको हो । देवकोटाले आफू माओवादी केन्द्रको चुनाव चिह्नबाट लडे पनि नेपाल समाजवादी पार्टीको कार्यकर्ता रहेकोले ‘ह्वीप’ नलाग्ने र माओवादीले कारबाही गर्न नमिल्ने बताउँदै आएका थिए । मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि जेठ २९ मा उनी मन्त्री नियुक्त भएका थिए । माओवादी पार्टी र प्रदेश सभामुखको निर्णयविरुद्ध देवकोटा सर्वोच्च अदालत जाने बताउँछन् । आफू माओवादीको नभइ नेपाल समाजवादी पार्टीको भएकाले माओवादीको यो निर्णय असंवैधानिक रहेको उनको दाबी छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको दिने बेलामा उनले फ्लोर क्रस गरेका कारण पाण्डेका पक्षमा ३१ मत पुगेको थियो । पाण्डेका पक्षमा मत हालेको भोलिपल्टै देवकोटा मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->