बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सत्ताविमुख एमालेमा मनोमालिन्य

सत्ताविमुख एमालेमा मनोमालिन्य

गणेशमानलाई सोधियो स्पष्टीकरण, राजनीतिक पक्षधरता भएको गुरुङको बुझाई


  • ढोरपाटन संवाददाता
  • असार २ २०८१, शनिबार

पोखरा/गण्डकीमा एमालेले आफ्ना सांसदलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण सोधेको विषय बाहिरिएकोमा एमाले संसदीय दलका प्रमुख सचेतक भने रुष्ट छन् ।
प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेशसभा सदस्य गणेशमान गुरुङलाई शनिबार स्पष्टीकरण पत्र बुझाएका हुन । उक्त स्पष्टीकरण पत्रमा चाहिँ ह्विप लगाइसकेको अवस्थामा सांसद गुरुङ प्रदेशसभा बैठक छाडेर किन बाहिरिएको भनि सोधिएको छ ।
यसको कारण चाहिँ शुक्रबारको प्रदेशसभा बैठक हो ।
शुक्रबारको गण्डकी प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । उक्त बैठकमा आफ्ना सांसदलाई विपक्षमा ध्वनी मत दिन नेकपा एमालेले ह्विप लगाएको थियो । तर, नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदा सांसद गुरुङ भने त्यहाँ थिएनन ।
सोही कारण एमाले प्रमुख सचेतक नेपालीले शनिबार सांसद गुरुङलाई स्पष्टीकरण पत्र बुझाएका हुन । तर, सांसद गुरुङले चाहिँ आफूले मोबाइल घरमै भुलेर गएका कारण आफूलाई ह्विपबारे कुनै जानकारी नभएको हुँदा प्रदेशसभाबाट बाहिरिएको बताएका छन । आफूलाई थाहै नभएको कुरामा स्पष्टीकरण सोधिनुलाई उनले राजनीतिक पक्षधरता पनि हुनसक्ने आशंका गरे । किनभने, एमाले संसदीय दलका नेता खगराज अधिकारीले गण्डकीमा एउटा समूहको प्रतिनिधित्व गर्छन, सांसद गुरुङ चाहिँ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका हुन । जिल्ला अधिवेशनहरु चलेको सन्दर्भ त्यतै गयो कि भन्ने आशंका राखेर आफूलाई स्पष्टीकरण सोधिएको हुनसक्ने वा संयोग पनि हुनसक्ने उनले बताए ।
सांसद गुरुङले आफ्नो स्पष्टिकरणबारे राखेको धारणाको संक्षिप्त अंशः
हिजो नीति तथा कार्यक्रम पारित गर्ने दिन थियो, महत्वपूर्ण हुनु स्वभाविक हो । प्रदेशसभा बैठक हुने हरेकदिन संसदीय दलको बैठक हुने गथ्र्यो । अस्ति थियो तर, हिजो चाहिँ थिएन । म समयमा नै गएको छु । मैले साथीहरुसँग आज केही रहेन्छ कि क्या हो भनेर सोधेँ, उहाँहरुले केही छैन भन्नुभयो । हिजो प्रदेशसभा बैठकमा पनि लाइन नआएका कारण एसीको समस्या थियो । प्रदेशसभाको जनाउ घण्टी बज्यो, भित्र गएँ । हिजो बैठक पनि ढिला गरी सुरु भयो । ११ बजे भनेतापनि समयमा सुरु भएन ।
प्रदेशसभाको हलको पहिलो रो मा दलको नेता, दोश्रो रो मा प्रमुख सचेतक बस्नुहुन्छ, मेरो सिट तेश्रो रो मा हो । गर्मीका कारण म भित्र बाहिर गरिरहेको थिएँ । मैले मेरो प्रस्तुति राखेँ । राखिसकेपछि ह्विप पनि छैन, मेरो बाहिर विशेष काम पनि थियो, दिनको सवा २ बजेतिर म निस्केँ ।
हिँडेपछि सवा ४ बजेदेखि मेरोमा फोनहरु आएको रहेछ, मैले उठाइन, केयर नै गरिन भनौँ । मेरो काम थियो म काममा नै ध्यान दिएँ । बेलुका ६ बजेतिर हेरेको फोनहरु आएको रहेछ । अर्का माननीयले फोन गर्नुभएको रहेछ, मैले उठाएँ । उहाँले सोध्नुभयो, किन आउनुभएन ?
मैले चाहिँ आज ह्विप छैन । बहुमत पु¥याउने सरकारले हो, हामी नभएपनि हुन्छ, नीति तथा कार्यक्रम पास गर्ने पनि उनीहरुको कुरा हो भनेँ ।
ह्विप पनि छैन भनेपछि म हिँडेकै हो । तर, आज बिहान प्रमुख सचेतकले मैले तपाईंलाई १ बजेर १ मिनेट जाँदा म्यासेज पठाएको छु भन्नुभयो ।
हाम्रो प्रदेश सांसदको म्यासेन्जर ग्रुप छ, त्यहाँ म्यासेज छैन भनेर मैले भनेँ । उहाँले चाहिँ पठाएको छु भन्नुभयो । मैले आज बल्ल साढे ३ बजे म्यासेज देखेँ, उहाँले म्यासेन्जरमा नभइ मोबाइल नम्बरमा पठाउनुभएको रहेछ ।
मैले तपाईँ पछाडिको रो मा छु, साढे २ बजेसम्म सदनमा नै छु, त्यतिञ्जेल मलाई कसैले जानकारी गराउनुभएन । मैले मोबाइल घरमा भुलेकै हो । मैले म्यासेज कतिबेला हेरेको रहेछु, अहिलेको प्रविधीले हेर्न मिल्ला नि त । मैले त्यही भनेँ ।
बाघ कराएको, बाख्रा हराएको पनि हुन सक्छ । अहिले अधिवेशनहरु भइरहेका छन, त्यता गएको हो कि भन्ने पनि लागेको होला । मलाई आज स्पष्टिकरण पत्र बुझाएपछि मैले उहाँलाई माथिकै कुराहरु भनिसकेँ । पत्र बुझेपछि मैले तपाइले पठाएको म्यासेज कतिबेला हेरेँ चेक गराउनुहोस भनेको छु । मैले थाहा नै नपाएको कुरामा कसरी ह्विप उल्लंघन हुन्छ त ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->