बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जानाजान करोडौं राजश्व गुमाउँदै पोखरा महानगर

जानाजान करोडौं राजश्व गुमाउँदै पोखरा महानगर

फेवा सिल्टेसन ड्यामबाट प्रालिले २ वर्षदेखि राजस्व छली गर्दै, साढे दुई करोड बढी असुल हुनुपर्ने


  • विजय नेपाली
  • असार ४ २०८१, सोमबार

पोखरा/फेवातालको मुहान क्षेत्रमा बनेका फेवा सिल्टेसन ड्याम प्रालिले दुई वर्षदेखि राजस्व छली गर्दै आएको भेटिएको छ । सो कम्पनीले फेवाताल जोगाउनका लागि बनाइएको ड्यामबाट निस्कने नदीजन्य पदार्थबाट आउनुपर्ने दुई वर्षको राजस्व दुई करोड ६० लाख २१ हजार दुई सय ५० रुपैयाँ राजस्व छली गरेको भेटिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजानिक गरेको प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाले उक्त रकम राजस्व असुल गर्नुपर्ने उल्लेख छ ।
प्रतिवेदनले एकै पटक दुई वर्षको लागि २५ प्रतिशत दाखिला गर्नेगरी ठेक्का सम्झौता भएको र त्यो नियमसम्मत नभएकोसमेत औंल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘आइइई (वातावरणीय प्रभाव मूल्याङ्कन) ले सिफारिस गरेबमोजिमको परिमाणमा समग्रमा २ वर्षको निर्माण अवधिको लागि भन्दै २५ प्रतिशत दाखिला गर्नेगरी ठेक्का सम्झौता गर्नु नियमसम्मत देखिँदैन । यसरी प्राविधिक मूल्यांकन समितिले सिफारिस गरेको परिमाणभन्दा ५० प्रतिशत घटी प्रतिशतमा सूचना प्रकाशित गरी ठेक्का सम्झौता गरेको कुनै प्राविधिक आधार कारण पेश हुन सकेन भने, फाँटका कर्मचारीलाई सोधनी हुँदा भत्केका ड्याम निर्माण अवधिको लागि भनेर घटाएको भन्ने जवाफ प्राप्त भएको छ । तर, प्राविधिक आधार–कारणबेगर घटी परिमाणमा ठेक्का सम्झौता भइ नोक्सानी भएको २ वर्षको दुई करोड ६० लाख २१ हजार २५० राजस्व असुल हुनुपर्ने ।’
फेवातालको पानीको मुहान हर्पनखोला, खहरेखोला, लौरुक र बेतेनीखोलामा बनेको सिल्टेसन ड्याम मर्मत–संभार तथा संकलन हुने सामग्रीको संकलन र निकासीका लागि पेब्याक पिरियड र आईआरआर ( आन्तरिक ब्याजको दर) समेत गणना गरी २४ वर्षका लागि एकमुष्ट ठेक्का दिइएको हो ।
महानगरपालिकाले ड्याममा थुप्रिएका नदीजन्य स्रोत संकलन तथा निकासी गर्ने प्रयोजनको लागि आइइई ( वातावरणीय प्रभाव मूल्याङ्कन) प्रतिवेदनले वार्षिक रुपमा दुई लाख २५ हजार घनमिटर उत्खनन हुन सक्ने सुझाएकोमा ठेक्का लगाउँदा उक्त क्षेत्रबाट ५१ हजार ५ सय पच्चीस हजार घन मिटर सामग्रीको गुणस्तर नभएको माटो मिसिएको भनी कूल परिमाणबाट घटाएर १ लाख ७३ हजार ४ सय ७५ घनमिटर परिमाणको तीन सय रुपैयाँको दरले पाँच करोड २० लाख ४२ हजार पाँच सय रुपैयाँमा न्यूनतम ठेक्का कायम गरेको थियो ।
२०७८ जेठ १७ गते फेवा सिल्टेसन प्रालिसँग आइईको परिमाणमा ५० प्रतिशत घटाइ पहिलो २ वर्ष २ वर्षको दुई करोड ६० लाख २१ हजार २५० रुपैयाँ दाखिला गर्नेगरी २५ वर्षका लागि ठेक्का भएको थियो । तर, उक्त रकम अझैसम्म पनि दाखिला नभएको भेटिएको हो । महानगरबाट ड्याम मर्मत संभारका लागि भनि राजस्व छुट दिए पनि सो अनुसार काम भने हुन सकेको छैन ।

फेवातालको सिरान क्षेत्रबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवालगायतका ग्रेगर रोक्नका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको २८ करोड ९६ लाखको संयुक्त लगानीमा उक्त ड्याम निर्माण गरेको हो २०७५ भदौ २९ गते सम्झौता भइ २०७६ असार १४ गते शिलान्यास गरिएको ‘सिल्टेसन ड्याम’ २०७७ सालमा सम्पन्न भएको थियो ।
तालको सिरान क्षेत्रमा रहेका ४ वटा खोलामा सिल्ट पोखरी र ड्याम निर्माण गर्न कुल ३४ करोड ४९ लाख अनुमान गरिएपनि २८ करोड ९६ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सिल्ट पोखरी र ड्याम निर्माण गर्न प्रदेश सरकार र पोखरा महानगरपालिकाको आधा आधा अर्थात समान १४ करोड ४८ लाखका दरले लगानी गरेको थियो । वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाई, ५० मिटर चौडाइ र ४ मिटर उचाइको तथा अँधेरीखोला र घाँटीछिनास्थित हर्पनखोलामा १ सय मिटर लम्बाइ, १ सय मिटर चौंडाइ र ४ मिटर उचाइको सिल्टेसन ड्याम’ बनाइएको छ ।
फेवाताल जलाधार संरक्षण अभियानअन्तर्गत पोखरा २४ स्थित बेतयानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीता÷जयनेपाल इश्वर जेभी, स्याङ्जाले ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँमा निर्माण गरेको हो । पोखरा २४ लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्ण÷पिके जेभी दाङले ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँमा बनाएको हो ।
पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित ‘सिल्टेसन ड्याम’पनि खड्का कृष्ण÷पिके जेभी दाङले नै निर्माण गरेको हो । जसको लागत ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँ लागेको थियो । हर्पनखोलामा समेत सोही कम्प्नीले ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँमा ड्याम निर्माण गरेको थियो । ड्यामबाट वार्षिक २ करोड ७६ हजार घनमिटर सिल्ट निस्कने अनुमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->