पोखरा/ गण्डकी प्रदेशका सांसदहरुले वर्षायाम सुरुसंगै विपद्जन्य घटना पनि सुरु भएको भन्दै जनधनको क्षति न्यूनिकरणमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन । प्रदेश सभाको विहीबारको बैठकमा शुन्य समयमा बोल्दै उनीहरुले संघीय सरकारलाई पनि यसप्रति चनाखो हुन अनुरोध गरेका छन ।
कांग्रेस सांसद अशोककुमार श्रेष्ठले बुधवार रातीको बाढीले तनहुँको भानु नगरपालिका–६ खत्रीखोलाको कजवे बगाएर आवागमन बन्द भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । कांग्रेसकै कल्पना तिवारी र महेश भट्टराईले बुटवल पावर कम्पनीले ४० प्रतिशतसम्म विद्युत महशुल बृद्धि गरी स्याङजा र पाल्पाका उपभोक्त्तालाई मारमा पारेको बताए । उनीहरुले उक्त मुल्य बृद्धि फिर्ता हुनुपर्ने र यसका लागि संघ र प्रदेश सरकारले पहल गर्नुपर्ने माग गरे । तिवारीले यसपटक वर्षा धेरै हुने संकेत देखिएको भन्दै जनधनको क्षति हुनबाट जोगिने उपायमा लाग्न अनुरोध गरिन ।
कांग्रेसकी टिकाकुमारी बस्यालले लमजुङको बेशीशहर नगरपालिका–१ उदीपुर पुरानो दलालबजारमा असार ४ र ५ गतेको वर्षाका कारण केही घरमा क्षति पुगेको र डुम्रे बेशीशहर सडक अवरुद्ध भएको जनाइन । वर्षायाममा बाढी पहिरोको कारण अवरुद्ध हुने सडक खुलाउन सडक मर्मत इमर्जेन्सी फन्डको व्यवस्था गर्न उनले माग गरिन । माओवादीे केन्द्रकी सांसद दमयन्ती रुचालले जेठ १७ गतेको हावाहुरीले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५ लालेस्थित सिद्ध आधारभूत विद्यालय क्षतीग्रस्त बनेको र २५ घरमा पनि क्षति पुगेको भन्दै बताइन । उनले विद्यालय पुननिर्माण गरी पठनपाठनलाई सहज बनाउन माग गरिन् ।
एमालेकी देवका पहारी त्रिपाठीले हवाई टिकटमा लगाइएको मुल्य अभिबृद्धि कर हटाउन माग गरिन । एमालेकै निर्मला थापाले स्याङजाको कालीगण्डकी गाउँपालिका–७ कालीगण्डकी नदी र आँधिखोलाको दोभान आँधिमुहानमा सिमान्तकृत बोटे समुदायको बस्ती रहेको, तर वर्षेनी वर्षायाममा नदीको सतह बढेर बस्ती जोखिममा परेकाले २ सय मिटर तटबन्धनको माग गरिन । नेपाली कांग्रेसकी पार्वती तामाङले गण्डकी प्रदेशको पशुपतिनाथले चिनिने लमजुङको इशानेश्वर महादेव मन्दिरलाई बजेटले छुटाएको गुनासो गरिन । कांग्रेस सांसद प्रकाश बरालले वर्षा हुनसाथ पोखराको महेन्द्रपुल, तेर्सापट्टी, राष्ट्रबैंक चोक र फेवाताल किनारको बाराही घाटमा समेत कायाकबाट पर्यटकको उद्धार गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले सिद्धार्थ राजमार्गको स्तरोन्नतिमा गम्भिर हुन माग गरे । एमालेका भीमबहादुर कार्कीले कास्की र तनहुँ जोड्ने सुरौदीखोलामा पुल बनाउन खनिएको जगमा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको भन्दै पुल छिटो निर्माण गर्न माग गरे । उनले वर्षायाम सुरु हुनसाथ स्तब्ध बनाउने दुखद घटना हुने भन्दै बिकास गर्ने तरीकाले निर्दोषको ज्यान जाने गरेको जनाए । एमालेकै मित्रलाल बस्यालले जेठ ५ गते पर्वतको बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविका दुई भवन नष्ट भएको र केही कम्प्युटरसमेतमा क्षति पुगेको घटना सुनाए । साथै बुधवार रातीको बाढीले कालीगण्डकी लोकमार्गको फलेबास खण्डमा निर्माणाधीन पुल बगाएको भन्दै उनले त्यसलाई छिटो बनाउन माग गरे ।
कांग्रेसकी विमला गौचनले वेनी जोमसोम सडकको म्याग्दीस्थित रघुगंगा गाउँपालिका–३ वैसरीमा सडक बिग्रिरहँदा मुस्ताङ जाने र आउने पर्यटकले सास्ती बेहोर्नुपरेको सुनाइन । एमालेकी सीतकुमारी सुन्दासले नदी तटीय क्षेत्रलगायत जोखिमपूर्ण बस्ती व्यवस्थाप गर्नुपर्ने अवस्था रहेको बताइन । माओवादी केन्द्रक सुशील सिंखडाले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अmभै पनि कतिपय बस्ती जोखिममा रहेको बताइन । संभावित जनधनको क्षति रोक्न ध्यानाकर्षण गराइन । एमालेका श्यामराजा महतले तनहुँको शुक्लागण्डकी ४ र ८ वडा जोड्ने सेती नदीमाथिको पुल भासिएको प्रसंग उल्लेख गर्दै अहिले दुलेगौडा बजार जोखिममा पुगेकाले जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे । साथै शुन्य समयमा उठेका विषयमा सरकार गम्भिर नभएको भन्दै उनले अव खैजडी मुजुरा ल्याएर गीत गाएमात्र सरकारले सुन्छकी भन्दै व्यंग्य गरे ।





