पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक संजालमा आएका अभिव्यक्ति र समाचार फरक हुन भन्ने कुरा आम नागरिकलाई बुझाउनु पर्ने अवस्था आएको बताएका छन । यी दुई बीचको फरक छुट्टाउन नसके पक्रकारिताको मर्म नै मर्ने अवस्था आएको उनको भनाई थियो ।
गण्डकी प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे सहकार्यमा ससदीय पत्रकार मंच गण्डकीद्वारा शनिवार पोखरामा आयोजित संसदीय पत्रकार अभिमुखीकरण एवं अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले अहिले सामाजिक संजालका कुरा र वास्तविक समाचार छुट्टाउन नसक्दा भ्रम उत्पन्न गराएको बताए । ‘सामाजिक संजालमा आउने अभिव्यक्तिलाई विश्वास गर्दा भ्रम उत्पन्न भएको छ’ उनले भने, ‘यसर्थमु वास्तविक समाचार र सामाजिक संजालका कुरा एउटै होइन भनेर बुझाउन जरुरी छ । यसकालागि पत्रकारकै भूमिका ठूलो हुन्छ ।’ मुख्यमन्त्री पाण्डेले पत्रकार र राजनीतिज्ञसंग मित्रता र तिक्तता रहेको र यो स्वभाविक पनि भएको बताए । पत्रकारले उजागर गरेको विषयप्रति अहिले सुधार्नेतर्फ लागेको प्रसंग उल्लेख गर्दै उनले पत्रकारले कन्टेन्ट भन्दापनि सतही कुरामा बढी केन्द्रीत भएको होकी भन्ने लागेको जनाए । उनले गण्डकी प्रदेशमा छिटै प्रेस रजिष्ट्रार नियुक्ती गरी कार्यालय स्थापना गर्ने उनले सुनाए ।
अहिले प्रदेश वा संघमा कुनै एक पार्टीको बहुमत नभएकाले राजनीति स्थिरता नभएको र यो निर्वाचन प्रणालीका कारण भएको भनिदै आएको उनले बताए । राजनीतिक स्थिरता नहुनुमा निर्वाचन पद्धति र एकल बहुमत नहुनुमात्रै नभएर मनोबृत्ति स्पनि रहेको उनले सुनाए । २०४८ मा कांग्रेस र २०७४ मा नेकपाको बहुमत भए पनि स्थायित्व नभएको उनले उल्लेख गरे । ‘कार्यशैली, सोंच, चिन्तनमा व्यापक परिवर्तन नभएसम्म पद्धतिलाई मात्र दोष दिएर हुदैन’ उनले भने, ‘कुरा सिस्टमका गर्ने तर व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न नपाए हुन्थ्यो भन्ने लागेकै कारण समस्या आउने गरेको छ ।’
गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता एवं निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुलुकमा निर्वाचन प्रणालीमाथि गम्भिररुपमा सोच्नुपर्ने बेला आएको बताए । संघीयतामा प्रदेश संरचना नयाँ भएकाले यसको स्थिरता दिने पक्षमा आफुहरु रहेको उल्लेख गर्दै अधिकारीले प्रदेश विरुद्ध धेरै चरकमरक गर्न नहुने बताए ।
माओवादी केन्द्र संसदीय दलको उपनेता शुशिला सिंखडाले पत्रकारिता जगत राज्यको मुटु सरह भएको बताइन । मुटु स्वस्थ्य रहे व्यक्ति पनि स्वस्थ रहने भन्दै पत्रकारित विश्वसनीय भए राज्य पनि जवाफदेही हुने भन्दै उनले पत्रकारितलाई व्यापारिक नभई व्यवसायिक बनाउनु पर्ने बताईन । पछिल्लो समय पत्रकारिताको विश्वास घट्दै गएकाले यसलाई रोक्न पत्रकारिता जगतनै लाग्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा पत्रकार रामजी दाहालले संसदीय पत्रकारितासम्बन्धी तालिम दिएका थिए । यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकाल, प्रदेशसभा सचिवालयका उपसचिव प्रेम सुवेदीले प्रशिक्षण दिएका थिए । कांग्रेस गण्डकीका महामन्त्री एवं पूर्व प्रदेश सांसद विष्णुप्रसाद लामिछाने र एमाले गण्डकी सचिव तथा पूर्व सांसद धनन्जय दवाडीले आफ्नो अनुभव सुनाएका थिए ।





