पोखरा/पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा पोखरामा मेट्रो ट्याक्सी चलाउने भएको छ । आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पोखराका मेयर धनराज आचार्यले मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाइने बताएका हुन ।
नीति तथा कार्यक्रममार्फत उनले पोखरामा पोडवे सञ्चालनको अध्ययन समेत गरिने बताए ।
“पोखरा महानगरपालिका क्षेत्र भित्र उपयुक्त रुटमा पोडवे सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी प्रतिवेदनको आधारमा आवश्यक प्रक्रिया अघि बढाइनेछ ।” मेयर आचार्यले भने ।
यो प्रविधीले सार्वजनिक यातायातको कानुनी मान्यता समेत पाइसकेको छ ।
पोखरा महानगरपालिकाले नगर प्रहरीको क्षमता विकास, उत्प्रेरणा तथा मनोबल अभिवृद्धिका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने र नगर प्रहरीको लागि छुट्टै ब्यारेकको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
राजश्व परिचालनमा योगदान पुग्ने गरी सम्पत्ति कर, मालपोत र भूमिकरलाई व्यवस्थित गर्न जिआइस ट्रयाकिङ प्रणालीको विकास गरी कार्यान्वयन गरिने र घर÷कोठा बहालमा दिने तथा बहालमा लिन चाहनेलाई सहज हुने गरी छुट्टै वेभ प्रणाली विकास गरी बहालकरलाई महानगरपालिकाको करको दायरामा ल्याई कार्यान्वयन गरिने मेयर आचार्यले बताए ।
महानगरले सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण गर्न तथा अतिक्रमण हटाउन स्थानीय प्रशासन समेतको सहयोग तथा समन्वयमा विशेष अभियान सञ्चालन गर्ने जनाएको छ ।
पुरानो लेखनाथ नगरपालिकामा एसियाली विकास बैङ्कको सहयोगमा आगामी आर्थिक वर्षमा साविक लेखनाथ नगरपालिकाको कार्यालय परिसरमा विपद् व्यवस्थापन केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महानगरले आफ्ना मितेरी शहरहरुसँगको सम्बन्धलाई थप प्रगाढ र उच्चस्तरको बनाइराख्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा समन्वय ब्युरो स्थापना गर्ने भएको छ । मितेरी सम्बन्ध रहेका शहरहरूमा युवा विद्यार्थी उद्यमी व्यवसायी कलाकार तथा अन्य क्षेत्रका व्यक्तिहरूको भ्रमण तथा अनुभव आदानप्रदानलाई जोड दिइने उल्लेख छ ।
पर्यटन राजधानी पोखराको विकासलाई योजनाबद्ध रूपमा अघि बढाउन “पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना” तयार गरी सङ्घ, प्रदेश र अन्य सरोकारवालाहरूसँग समन्वय तथा साझेदारी गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ र
मेयर आचार्यले नीति तथा कार्यक्रम वाचन गर्दै सबै वडामा मौलिकता तथा विशिष्टताको पहिचान दिने, वडाको सम्भावना र अवसरको उपयोग गर्ने गरि “एक वडा एक विशिष्ट कार्यक्रम” अभियान सञ्चालन गरिने बताए ।
पोखराको पहिचान बनाउँदै आएका जेठोबुढो धान, उखु, मह, कफी लगायतका स्थानीय मौलिक उत्पादनको विस्तार, व्यवसायीकरण बजारीकरणमा प्रोत्साहन, पहाडी तथा काष्ठफल फलफूल आयोजनाको साझेदारीमा सुन्तला,कागती मेकाडेमियानट एभोकार्डो आदि फलफूल खेतीको विस्तार तथा प्रवद्र्धन गरिने उनले बताए ।
महानगरपालिकाले किसान परिचयपत्रको आधारमा कृषि अनुदान दिँदा भौचर प्रणाली अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
बाँदरको अतिक्रमणबाट प्रभावित क्षेत्रमा वैकल्पिक तथा सुरक्षित कृषि बालीको सम्भाव्यता अध्ययन गरी सिफारिसको आधारमा बाँदरले मन नपराउने तर किसानलाई फाइदा हुने कृषि बालीको विकास तथा प्रवद्र्धन गरिने र संघ तथा प्रदेश सरकारसँग समेत समन्वय गरी बाँदर व्यवस्थापनको पहल गरिने उल्लेख गरेको छ ।
“मेकइन पोखरा मेडइन पोखरा” लाई प्राथमिकतामा राखी स्थानीय उत्पादनको विकास, विस्तार र प्रवद्र्धन, नेपाल सरकार लगायत सरोकार निकायसँग समन्वय गरी पोखरामा आधुनिक पशु वधशाला निर्माण प्रक्रिया सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पोखराले आगामी सन् २०२५ लाई “पोखरा भ्रमण वर्ष २०२५” घोषणा गर्ने र संघ, प्रदेश सरकार तथा नीजिक्षेत्र सँग सहकार्य गरी पोखरामा पर्यटक आगमन १५ लाख पु¥याइने उल्लेख गरेको छ ।
निजी क्षेत्रको सहकार्यमा “पोखरा सबै मौसमका लागि” अभियान सञ्चालन गर्ने, पोखरा महानगरपालिका वडा नं १ स्थित सीमपानीमा कालिगंगा तथा सेती गङ्गाको जलसिंचित शालिग्राम सहितको“मुक्तीक्षेत्र प्रवेशद्वार” निर्माण प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
फेवातालको उत्तर पश्चिमी खण्डमा बायो–इन्जिनियरिङ अध्ययनको आधारमा मडड्याम निर्माण गर्ने, हर्पनखोला र फेवातालको सङ्गममा फेवाबिच निर्माण गरिने उल्लेख गरिएको छ ।





