पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ /०८२ कालागि ५८ करोड ९५ लाख ६३ हजार बराबरको बजेट ल्याएको छ । बजेटमध्ये चालु खर्चतर्फ ४२ करोड ५१ लाख ६३ हजार र पुजीगततर्फ १६ करोड ४४ लाख रुपैयाँ बिनियोजित छ ।
कृषि, पर्यटन, उर्जा र पूर्वाधार, अन्नपूर्णको समृद्धिको आधार दीर्घकालिन लक्ष्य तयर गरेको गाउँपालिकाले सामाजिक र आर्थिक रुपान्तरणमार्फत समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माण गर्ने बजेटको पहिलो उद्देश्यमा राखेको छ । कृषिको उत्पादन र उत्पादकत्व अभिबृद्धि गरी गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आयआर्जनको माध्यय बनाउने, पर्यटन क्षेत्रको बिकास, पर्यटन प्रवद्र्धनमार्फत पर्यटक भित्राई पर्यटनको माध्ययमबाट गाउँपालिकाबासीको आर्थिक स्तर अभिबृद्धि गर्ने पनि उदेश्यमा समेटीएको छ । यसैगरी समृद्ध अन्नपूर्ण सुखी अन्नपूर्णबास जनता भन्ने अभियानलाई सार्थक बनाउनका लागि श्रम, सीप, प्रविधि र पुजीको व्यवस्थित परिचालन गर्नेलगायत १० बुदामा बजेटका उद्देश्य प्रस्तुत गरिएको छ । यसैगरी स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने, कृषि तथा पशु सेवामा पनि विमा कार्यक्रम लागु गर्ने, सडक, खानेपानी, शिक्षा, भौीतक पूर्वाधार, कृषि, पर्यटनलगायत १४ वटा क्षेत्रलाई बजेटका प्राथमिकतामा राखिएको बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन ।
गाउँपालिकाले यसअघि आइतबार आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भिजिट अन्नपूर्ण कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्ने जनाएको थियो । साथै संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा कोदोबाट उत्पादित लोक्कल रक्सीलाई ब्रान्डीङ गर्ने, गाँजा खेतीलाई प्राथमिकता दिने, पालिका क्षेत्रका सहकारीहरुको नियमित निरिक्षण तथा अनुगमनको व्यवस्था गर्ने, कोसेली घर संचालनमा ल्याउने, परीक्षणका रुपमा पढ्दै कमाउदै कार्यक्रम विस्तार गर्ने, विद्यालय क्षेत्रलाई मदिरा निशेधित क्षेत्र बनाउने, आपतकालिन सुरक्षित मातृत्व कोष स्थापना गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए। त्यस्तै अन्नपूर्ण प्रज्ञा प्रतिष्ठान गठन गरिने, बालश्रममुक्त पालिका घोषणा गरिने जस्ता विषय पनि नीति तथा कार्यक्रममा समेटिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।





