बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले सांसद पाठकको आक्रोश, समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाइयो

एमाले सांसद पाठकको आक्रोश, समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाइयो

बजेट पुस्तिकामा आगो लगाउने चेतावनी


  • लालप्रसाद शर्मा
  • असार १२ २०८१, मंगलबार

पोखरा/ गण्डकी प्रदेशका एमाले सांसद कृष्णप्रसाद पाठकले समानुपातिक सांसदलाई पेल्ने काम भएको भन्दै आक्रोश व्यक्त गरेका छन । प्रदेश सभाको मंगलबारको बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८१/ ०८२ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले यस्तो बताएका हुन ।

समानुपातिक सांसदलाई सत्ता पक्षबाट मात्र नभइ प्रतिपक्षबाट पनि पेल्ने काम भएको उनले बताए । साथै दोस्रो दर्जाको सांसदको रुपमा हेरिएको उनले गुनासो गरे । ‘एउटै निर्वाचन प्रणालीबाट, संविधान र व्यवस्थाबाट आएका सांसदलाई पेलिएको, दोस्रो दर्जाको रुपमा हेर्ने जुन खालको संस्कार मुलुकका मुख्य पार्टीले गरेका छन । गण्डकी प्रदेशको संसदीय नेतृत्वमा पनि यो संस्कार छ । यो दम्भ नपाल्न आग्रह छ’, उनले भने ।  समानुपातिक सांसदले भनेका योजना छनौटमा कम प्राथमिकता दिइएकोबारे उनको संकेत थियो । बजेट बिनियोजन गर्ने क्रममा सबै मन्त्रालय मुख्यमन्त्रीले गुटमुटाएको उनले आरोप लगाए । भौतिक पूर्वाधारको बजेट नीति तथा योजना आयोगबाट बाडिएको भन्दै उनले यो सुधारिएन भने मन्त्रालयगत छलफलमा प्रदेश बिकास पुस्तीका च्यात्ने, धुजाधुजा बनाउने र आगो लगाउने हो भन्दै आक्रोश व्यक्त गरेका थिए ।

बजेट संविधानको मर्म र भावनाविपरीत तथा सिद्धान्त र प्राथमिकता अनि नीति तथा कार्यक्रमसंग मेल नखाने खालको र वितरणमुखी र मनोमानीढंगले ल्याइएको उनले बताए । बजेटले सांसदको मानमर्दन गरेको, सांसदको बर्गलाई छुट्टाइदिएको र स्वार्थैस्वार्थ लुकेको उनको भनाई थियो । कतिपय माननीय, मन्त्री, मुख्यमन्त्री र मुख्यमन्त्रीको सचिवालयमा बस्ने कर्मचारीको छ्वाङछ्वाङती अनुहार बजेटमा देखिएको र यसले क्षेत्र सन्तुलन कायम गर्न नसकेको, भेदभाव र पूर्वाग्रहपूर्ण रहेको भन्दै उनले विधेयकमाथि छलफल गर्न आवस्यक नरहेको बताए ।
आफु प्रदेश सांसद भएर आएपछि अहिले घाँटीसम्म आएको एउटा प्रश्न सुनाउदै उनले हामी कहिले सुध्रने ? हाम्रो सुध्रिनेको दिन कहिलेबाट सुरु हुने हो ? भने । जनतालाई सहज र सुलभ ढंगले डेलीभरी दिन नपर्ने, आर्थिक अनुशासन र पारदर्शीता कायम गर्नु नपर्ने, सरकारको फजुल खर्च कटौती गर्न नपर्ने, भ्रष्ट्राचार, बेथिति र व्यभिचारको अन्त्य गर्न नपर्ने, सत्ता जोगाउन अनेक खेल खेल्नुपर्ने, फ्लोर क्रस गराउनु पर्ने, प्रतिपक्षलाई हदैसम्म पेल्नुपर्ने, आफ्नै पार्टीका मन नपरेकालाई पीना पारेर कुना पुराउनु पर्ने अनि तिनै कुना पारिएकाले आफ्नै पार्टीको सरकार भत्किदा खुशी हुदै बल्ल मुक्ती पाइयो भनेर भोजभतेर गर्नुपर्ने, यो खालको संस्कृति कहिले अन्त्य गर्ने ? उनले यो संस्कार अन्त्य गर्नु भन्दा पनि यो संस्कृतिलाई प्रोत्सहान गर्ने हिसावले प्रतिपक्ष र सत्तापक्ष अघि बढ्नु दुर्भाग्यपूर्ण रहेको बताए । प्रजातन्त्र, लोेकतन्त्र, गणतन्त्र ल्याएका नेताको संस्कार यही रहेकाले मुलुकलाई ठिक बाटोमा नलैजाने उनले जनाए ।

प्रदेशसभामा सत्ता र प्रतिपक्ष अर्थात एउटा अधिकार सम्पन्न र दम्भ लिएर बसेका सांसद र अर्को अधिकारबिहीन भएर सांसद बसेको उनले सुनाए । यो बजेट बिनियोजन अघाएको सिंह जस्तो र भोको मृगजस्तो सांसद दुवैतिर छौ भन्दै उनले लोकतन्त्र पक्षधरले आचरण, व्यवहार, कार्यशैली सुधार गर्न नसके यो व्यवस्था फाल्ने स्वयं हामी कारक बन्ने उल्लेख गरे । ‘सरकारले धेरै घमण्ड नपालोस, सौराहाको मत्ता हात्तीजस्तो भएर अघि नबढोस् भनेर सरकारलाई भन्न चाहान्छु’ उनले भने, ‘यस्तो भेदभावपूर्ण सुधार्न नसके कुनै दिन मुख्यमन्त्री हट्दा तपाईका पछाडि बसेका सांसदले लुकीलुकी हर्षबढाई गर्न नपरोस् ।’ मन्त्रालयगत छलफल हुनुअघि सांसद निर्वाचन क्षेत्रमा जाँदा राहत र बजेट लिएर जानसक्ने वातावरण बनाइदिन मुख्यमन्त्रीसमक्ष उनले आग्रह गरे ।  यो बजेट कुन प्रक्रिया र विधीबाट आएको हो ? प्रदेशबासी जनताको ढुकुटीलाई आफ्नो हिसावले बाड्न पाइन्छ ? मनखुशी लागेको गर्न पाइन्छ । व्यक्ति ब्यक्तिलाई पैसादिएर व्यक्तिले पैसा बाढ्न पाइन्छ । मुख्यमन्त्रीको सचिवालयले दशौ करोड बाडेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

कांग्रेस सांसद प्रकाश बरालले बजेटको प्राथमिकता र सिद्धान्तदेखि विनियोजन विधेयकमा आइपुग्दा सरकारले लिएको लक्ष्य र मुल नारा आत्मनिर्भर र समुन्नत प्रदेश र सम्मानित प्रदेशबासीलाई सहयोग पुराउने ६७ वटा अन्य नाराले लक्ष्य प्राप्त हुने विश्वास गरे ।
आफुमा भएको सिमित स्रोत साधनका बिच पनि पारदर्शी ढंगले जनचाहना र भावना अनुसार बजेट आएको भन्दै उनले बिनियोजित ठूलो कुरा नभई कार्यान्वयन अर्थात खर्च गर्नु ठूलो रहेको र यो हुने उन्ले विश्वास गरे । राप्रपाकी बिन्दु पौडेलले कृषि र पर्यटनमा बजेट कम भए पनि समग्रमा बिनियोजन बिधेयक राम्रो रहेको र कार्यान्वयन पनि सही हुने विश्वास ब्यक्त गरिन । कांग्रेसकी रेखा गुरुङले मनसुन सुरु भएकाले वर्षायाममा हुनसक्ने विभिन्न विपद्को व्यवस्थापनका लागि प्रदेश सरकारले आपतकालिन कोष, जनशक्ति र उपकरणलगायत सवै क्षेत्रलाई चुस्त दुरुस्त राख्न ध्यानाकर्षण गर्दै सरकारले ल्याएको बजेट प्रदेशको समृद्धि हासिल गर्न सक्षम हुने विश्वास लिदै सवल रुपमा कार्यान्वयन हुने विश्वास लिइन ।

एमालेकी निर्मला थापाले बजेट प्रष्टरुपमा दिशानिर्देश नभएको, गन्तव्यहीन र परम्परागत शैलीमा आएको बताइन । जनताले नयाँ करा, रोजगारमुलक, उद्यमशील, कृषिमा आमुल परिवर्तन, गरिवी न्यूनीकरण, सामाजिक, आर्थिक असमनता हटाउने खालको बजेट खोजेको तर यो नभएकाले बजेट दिशाहीन र गन्तव्यहीन भएकाले स्विकार्य नभएको उनले बताईन ।

कांग्रेसका डिल्लीराम सुवेदीले बजेट आउनुपूर्व ९० दिन अघिदेखिनै प्रीबजेटको छलफल गर्न पाए सिद्धान्त र प्राथमिकता अनि नीति तथा कार्यक्रमलाई दिशानिर्देश गर्न सक्ने बताए । यसले बजेटलाई पनि बरालिनबाट जोगाउने उनले उल्लेख गरे । तर सरकारको उथलपुथलले त्यो अवस्था नरहेको भन्दै विनियोजन बिधेयकले खर्च गर्ने उच्च क्षमता राखेको बताए । बजेटमा खर्च गर्ने क्षमता बढाउने गरी कार्यान्वयनमा सहजता र सरलीकृत स्वरुप ग्रहण गर्नसक्ने गरी परिवर्तन गर्ने प्रयत्न गरेको बताए । एमालेका मित्रलाल बस्यालले बजेट कार्यान्वयन गर्ने विषयमा अप्ठेरा र सप्ठेराबारे सोच्नु पर्ने बेला आएको बताए । एमालेकै सुधीरकुमा पौडेलले बजेटको अवस्था हेर्दा मन्त्रालय बढाउने होकी भन्ने शंका बढाएको भन्दै बजेटले गम्भिर आर्थिक अनुशासन पालना गर्नुपर्नेमा आर्थिक अनुशासनहिनतातर्फ गएको बताए । उनले बजेटले आर्थिक अनुशासन उलंघन गर्न उद्धत र प्रश्रय दिएको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->