पोखरा/मंगलबार गण्डकी प्रदेशसभा कार्यसूचीभन्दा बाहिरै बहकियो । प्रदेशसभामा अहिले असार १ गते पेश भएको बजेट वक्तव्य र सम्बन्धित अर्थ विधेयकमाथिको छलफल चलिरहेको छ । वार्षिक विकास कार्यक्रममा मन्त्रालयगत छलफलको विषयले प्रवेश पाइसकेको छैन ।
मंगलबार ११ बजेको बैठकलाई बोलाइएको बैठकमा असार ७ गते पेश गरिएको ‘गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलको कार्यक्रम थियो ।
यो पनि अर्थसम्बन्धी विधेयक नै हो ।
सरकारले प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन हरेक वर्ष यो विधेयक ल्याउँछ । यो विधेयकले प्रदेश सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको लागि विनियोजन गर्न सक्ने व्यवस्था गरेको छ ।
हरेक आर्थिक वर्षको पहिलो दिनदेखि असार मसान्तसम्म मात्र यो विधेयक लागु हुने गर्छ । यो विधेयकले रकमान्तर तथा स्रोतान्तरणदेखि आयोजना तथा कार्यक्रममा भएको सामान्य त्रुटि संशोधन सम्मको अधिकार दिन्छ । यसको अनुसूचीमा सञ्चित कोषमाथि व्ययभार हुने रकमदेखि कोषबाट विनियोजन हुने कार्यालय तथा संस्ीथागत बजेट उल्लेख गरिएको हुन्छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९६ करोडको बजेट ल्याएको छ । यो विधेयकले यही अंकलाई नबढाइ सञ्चित कोषबाट खर्च गर्ने अधिकार दिन्छ ।मंगलबार यही विधेयकमाथिको सैद्धान्तिक छलफल हुनुपर्ने हो ।
तर, प्रदेशसभा सदस्यहरु चाहिँ वार्षिक विकास कार्यक्रममा केन्द्रित भएर आफ्ना भनाई राखे । बजेटलाई च्यात्ने, धुजाधुजा पार्ने र जलाउनेसम्मका अभिव्यक्ति दिए ।
विधेयकको सैद्धान्तिक छलफलमा भाग लिने एमालेका प्रदेशसभा सदस्य कृष्ण पाठक आक्रोशित तरिकाले प्रस्तुत हुन पुगे ।
छलफलमा सहभागी उनले समानुपातिक सांसदलाई दोश्रो दर्जाको व्यवहार गरिएको आरोप लगाए । ‘एउटै निर्वाचन प्रणालीबाट, संविधान र व्यवस्थाबाट आएका सांसदलाई पेलिएको, दोस्रो दर्जाको रुपमा हेर्ने जुन खालको संस्कार मुलुकका मुख्य पार्टीले गरेका छन । गण्डकी प्रदेशको संसदीय नेतृत्वमा पनि यो संस्कार छ । यो दम्भ नपाल्न आग्रह छ,’ उनले भने ।
बजेटमा आफ्ना योजना छुटेकोबारेमा उनले मुख्यमन्त्रीमाथि आक्रोश पोखे । भौतिक पूर्वाधारको बजेट नीति तथा योजना आयोगबाट बाडिएको भन्दै उनले यो सुधारिएन भने मन्त्रालयगत छलफलमा प्रदेश विकास पुस्तिका च्यात्ने, धुजाधुजा बनाउने र आगो लगाउने हो, भन्दै आक्रोश पोखे ।
प्रदेशसभामा बोल्ने अन्य सांसद पनि कार्यसूची भन्दा बाहिरै बहकिए । विश्वासको मत दिएर पनि प्रतिपक्षमा बसेको राप्रपाका विन्दु पौडेलले पनि वार्षिक विकास कार्यक्रम र बजेट वक्तव्यमा केन्द्रित रहेर बोलिन । उनले यथार्थपरक बजेट आएको र सोही अनुरुप कार्यान्वयनमा जानुपर्ने बताइन । उनले बजेटलाई समर्थन गरेर बाहिरिइन् ।
एमालेकै निर्मला थापाले त असार १ गते पेश भएको बजेट वक्तव्यको पेज नै उल्लेख गरेर प्रश्न गरिन । बजेटको सिलिङ नमिलेका कारण विनियोजन कसरी हुन्छ भन्ने प्रश्न उनले गरिन ।‘यो विनियोजन विधेयक प्रष्टरुपमा दिशानिर्देश नभएको बजेट हो, गन्तव्यहीन, परम्परागत शैलीमा आएको बजेट हो,’उनले भनिन ।
कांग्रेसका डिल्लीराम सुवेदीले बजेट आउनुपूर्व ९० दिन अघिदेखिनै प्रीबजेटको छलफल गर्न पाए सिद्धान्त र प्राथमिकता तथा नीति तथा कार्यक्रमलाई दिशानिर्देश गर्न सक्ने बताए । यसले बजेटलाई पनि बरालिनबाट जोगाउने उनले उल्लेख गरे । तर, सरकारको उथलपुथलले त्यो अवस्था नरहेको भन्दै विनियोजन विधेयकले खर्च गर्ने उच्च क्षमता राखेको बताए ।
एमालेका मित्रलाल बस्यालले बजेट कार्यान्वयन गर्ने विषयमा अप्ठेरा र सप्ठेराबारे सोच्नु पर्ने बेला आएको बताए । एमालेकै सुधीरकुमा पौडेलले बजेटको अवस्था हेर्दा मन्त्रालय बढाउने होकी भन्ने शंका बढाएको भन्दै बजेटले गम्भीर आर्थिक अनुशासन पालना गर्नुपर्नेमा आर्थिक अनुशासनहिनतातर्फ गएको बताए । उनले बजेटले आर्थिक अनुशासन उलंघन गर्न उद्धत र प्रश्रय दिएको उनले आरोप लगाए ।
कांग्रेस सांसद प्रकाश बरालले बजेटको प्राथमिकता र सिद्धान्तदेखि विनियोजन विधेयकमा आइपुग्दा सरकारले लिएको लक्ष्य र मुल नारा आत्मनिर्भर र समुन्नत प्रदेश र सम्मानित प्रदेशबासीलाई सहयोग पुराउने ६७ वटा अन्य नाराले लक्ष्य प्राप्त हुने विश्वास गरे ।
प्रदेशसभाको मंगलबारको कार्यसूचीमा अर्थसम्बन्धी नै विधेयकबारेको सैद्धान्तिक छलफल भएतापनि प्रदेशसभा सदस्यहरु चाहिँ कार्यसूचीभन्दा बाहिर गएर बोलेको प्रदेशसभा सचिवालयकै अधिकारी बताउँछन् ।‘विधेयकको सैद्धान्तिक छलफल हुनुपर्ने हो, तर माननीयहरु चाहिँ कार्यसूचीभन्दा बाहिर गएर बोलेको देखियो,’ती अधिकारीले भने ।





