पोखरा /अविरल वर्षापछि आएको पहिरोले कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार राति सवा २ बजेतिर मादी गाउँपालिका–५ चितेपानीमा कच्ची घर भत्कँदा १३ वर्षकी आयुश्मा रानाभाटको मृत्यु भएको छ । सँगै सुतेकी हजुरआमा लालमाया बञ्जारा सामान्य घाइते भएकी छन् ।
यसैगरी पोखरा महानगरपालिका वडा नं. २७ आरूपाटामा कच्ची घर पहिरोले पुर्दा ३ वर्षे बालक अनमोल सुनारको मृत्यु भएको छ । उनकी आमा रितु सुनारको घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज पठाईएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।
लमजुङमा २ को मृत्यु, ३ बेपत्ता
यसैगरी लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनी सुनारगाउँमा पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाई १८ वर्षीय मिलन सुनारसहित २ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याउनेबित्तिकै विकललाई बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएकोमा एकजनाको मृत्यु भएको छ । मध्यराती गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन् । मृत्यु ुनेमा ६९ वर्षीय रुद्रमान गुरुङ रहेका छन । उनकी बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू ७ वर्षीया इच्छा र ५ वर्षीया नम्रता बेपत्ता भएका हुन् ।





