पाेखरा/ अबिरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत पोखरा– १४ चाउथे आनन्द टोलस्थित घट्टे कुलोको पानी बहाव बढ्न गई सडक भासिएको छ । सडक भासिएपछि एकतर्फी रुपमा यातायात संचालनमा ल्याइएको छ ।
आज बिहान साढे ६ बजेको समयमा सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।
यसैगरी वर्षाका कारण पोखरा– ७ गैरीखेत स्थित कुमार सुनारको घर र रेशम गुरूङको घरमा पानी पसी डुबानमा परेका छन । प्रहरीले मोटरद्वारा पानी तानी उद्दार कार्य भई रहेको शर्माले बताए । यसैगरी पोखरा– ३३ बागमारा त सिप्लिङ तारा टोलमा पनि राम्जी बास्तोला, सुमन बिक र बाबुराम बस्नेतको घरमा पनि पानी पसेर जनजीवन प्रभावित भएको छ ।





