पोखरा/ लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ बगुममा मंगलबार रातिको पहिरोले घर बगाउँदा हराइरहेका एकै परिवारका ४ जनाको शव भेटिएको छ ।
पहिरोले ३ वटा घर बगाएकोमा ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधिले खोजतलास गरेकोमा बुधबार दिउँसो चारैजनाको शव फेला परेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिएका छन । पहिरोमा ७० वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू ८ वर्षीया इच्छा र ४ वर्षकी नम्रता भन्ने निष्मा गुरुङको शव फेला परेको हो । ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको छ ।
बेपत्तामध्ये रुद्रमानको शव घरकै आंगनको कुनामा र अन्य ३ जनाको शव घरबाट करीव २० मिटर तल हुमदेवी गुरुङको धन्सारका आडमा एकै ठाउँमा भेटिएको थियो । योसहित लमजुङमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । लमजुङकै दोर्दी गाउँपालिका– ९ धैरेनी सुनारगाउँमा मंगलबार राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । मिलनको उपचार भइरहेको छ ।





