पोखरा/ पोखराका धार्मिक तथा सामाजिक व्यक्तित्व पदमवहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ। हिमालय क्लब बाटुलेचौरले क्लवका पूर्व अध्यक्ष स्व. कार्कीको स्मृतिमा एकलाख एघार हजार एकसय एघार रूपैयाँको अक्षयकोष स्थापना गरेको हो ।
क्लवले बुधवार आयोजना गरेको श्रद्धाञ्जली सभामा समाजमा धार्मिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति संस्थालाई सम्मान गर्ने उद्देश्यले कोष स्थापनाको घोषणा गरिएको क्लवका पूर्व अध्यक्ष मोहनवहादुर थापाले जानकारी दिए । सभामा मानार्थ सदस्य एवं पूर्वमन्त्री कुमार खड्काले स्व कार्कीले यस क्षेत्रको सामाजिक, धार्मिक तथा राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै उहाँको योगदानलाई चिरस्थायी बनाउनु पर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तीर्थ तामाङ, पूर्व अध्यक्ष जीवनारायण श्रेष्ठ, मोहनवहादुर थापा, केभसिटी सहकारीका अध्यक्ष दुर्गालाल श्रेष्ठ, हिमालय सहकारीका उपाध्यक्ष प्रकास थापा, क्लवका सचिव िशवराज देवकोटा लगायतकाले स्वर्गीय कार्कीको योगदानको चर्चा गरेका थिए।
यसैबिच विन्ध्यवासिनी माविले पनि शोक सभा गरेको छ। विन्ध्यवासिनी उच्च मावि स्थापनार्थ आयोजित महायज्ञका प्रमुख अतिथि रहेका कार्कीको स्मृतिमा शोक सभा गरिएको हो। सभामा स्व कार्कीको योगदानको चर्चा गर्नुका साथै पुष्प गुच्छा अर्पण गरिएको थियो। क्षेत्री समाजका केन्द्रीय कोषाध्यक्ष समेत रहेका कार्कीको गत विहीबार ६७ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो।





