पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जिज्ञासा थियो, खाना खाइसकेपछि काँटाचम्चा कसरी राख्ने ? प्रायः नेपालीले हातैले खाना खाने भए पनि मुख्यमन्त्रीको जिज्ञासाचाहिँ कुनै औपचारिक भोजहरुको प्रसंगमा थियो । त्यसमाथि विशिष्ट पाहुनाहरूसँग वा आफू पाहुना भएर जाँदा कसो गर्ने भन्नेतर्फ लक्षित थियो । मुख्यमन्त्री त्यसबारे जानकार त थिएनै तर अरुलाई पनि जानकारी होस् भनेर जिज्ञासामार्फत सहजीकरण गरिदिएका हुन । गण्डकी प्रदेश प्रक्षिक्षण प्रतिष्ठानले बुधबार आयोजना गरेको कूटनीतिक शिष्टाचार सम्बन्धी संवाद कार्यक्रमको एउटा दृश्य थियो यो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल भइसकेका दिलीपकुमार पौडेलले औपचारिक सभा वा बैठक र भोजहरुमा कस्तो पहिरन लगाउने, कसरी खाने लगायत टेबुल म्यानर (शिष्टाचार÷मर्यादा) का विषयमा जानकारी दिए । कूटनीतिक शिष्टाचार कस्तो हुन्छ र कसरी शिष्टाचार राख्नुपर्छ भन्नेबारे पौडेलले गण्डकी प्रदेशका मन्त्री र सांसदहरूसमेतलाई प्रशिक्षित गरे ।
प्रदेशमा आएका विदेशी पाहुनाले भेट्न चाहेमा के गर्ने भन्ने मुख्यमन्त्रीको अर्काे जिज्ञासा थियो । कतिपय विदेशी कूटनीतिज्ञ पोखरा अर्कै काममा आएको भए पनि भेटघाटको अनुरोध आउने उनले बताए । ‘अनौपचारिक रुपमा भेट्न हुन्छ तर त्यसमा सन्चो, बिसन्चो, मौसम र घरपरिवारको मात्रै कुरा गर्न सकिन्छ,’ राष्ट्रपति कार्यालयको परराष्ट्र सम्बन्ध महाशाखा प्रमुखसमेत रहेका पौडेलले भने, ‘त्यस्तो छलफलमा औपचारिक कुरा गर्नु हुँदैन, कुराकानीको नोट पनि राखिन्न ।’ कतिपय विदेशीहरु आफ्नो व्यक्तित्व बढाउन फलानालाई पनि भेटेँ भन्ने देखाउन भेटघाटका लागि इच्छुक हुने गरेको पौडेलले बताए ।
कसैले खाना खाइसकेपछि नाइफलाई काँटामा घुसाइदिएको भए खाना नमिठो छ, सेवा पनि नराम्रो छ भनेर सम्झनुपर्ने सन्देश पौडेलले बुझाए । प्लेटमा काँटा र नाइफ वा चम्चा सीधा तेर्साे गरी राख्दा भने खाना पनि मिठो र सेवा उत्कृष्ट भन्ने अर्थ लाग्ने उनले सुनाए । खाना खाँदाखाँदै बसिरहेको ठाउँबाट उठेर कतै जानुपरे छड्के पारेर काँटा चम्मा राख्नुपर्ने लगायत जानकारी उनले दिए ।
कूटनीतिज्ञ वा विदेशी पाहुनासँगका कुनै पनि छलफल र बैठकमा टेबुललाई अनुशासनको थलो सम्झनुपर्ने पौडेलले सुनाए । बैठकको टेबुल वा डिनर तथा लन्चको टेबुल भनेको अनुशासनको थलो हो, त्यहाँ लगाउने पोसाक, प्रयोग गर्ने भाषा र हाउभाउ अनुशासित र शिष्ट हुनुपर्ने उनको भनाइ थियो । औपचारिक भ्रमणका बेला वा विदेशी कूटनीतिज्ञसँगका बैठक तथा छलफलमा गाढा नीलो कोट लगाउनुपर्ने जानकारी पौडेलले दिए । पौडेलले विदेशसँगको संवादमा अंग्रेजीमै कुरा गर्नुपर्ने भन्ने आचारसंहितामा नभएको सुनाए । अनुवाद पनि गर्न सकिने गरी प्रष्ट, शुद्ध र शिष्ट भाषामा बोल्नुपर्ने भन्दै उनले कुनै पनि छलफलमा नो (होइन, हुँदैन) भन्नेबाट कुरा सुरु गर्नु हुन्न । कसैले कुनै प्रस्ताव राखेमा हुन्छ, हामी हेर्छाैं, छलफल गर्छाैं र पछि खबर गर्छाैं भन्नुपर्छ, बिचमा तीता कुरा भए पनि सकारात्मक भाषामा सुरुआत र अन्त्य गर्नुपर्छ भन्ने कुरा सुनाए ।
राष्ट्रको जिम्मेवार पदाधिकारीले परराष्ट्र मन्त्रालयको समन्वय र प्रतिनिधि राखेरमात्रै विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्नुपर्ने आचारसंहिता रहेको पौडेलको भनाई थियो । समकक्षीसँगमात्रै भेट्नुपर्ने पनि उनले सुनाए । विदेशी भनेर भेट्न दौडिहाल्नु पर्दैन, उनीहरु पनि हामीजस्तै मानव हुन् भन्दै उनले कूटनीतिक अर्थात रातो पासपोर्ट भइहाल्दैमा कुनै पनि देशले भिसा दिने सुनिश्चितता नहुने जानकारी दिए । रातो पासपोर्टधारीलाई पनि परराष्ट्र मन्त्रालयको ‘नोट’ बिना अरु देशले सीधा भिसा नदिने पौडेलले सुनाए । विदेश भ्रमण गर्न जाँदा पनि आयोजक संस्थाको गरिमा र त्यस देशमा उसको हैसियत हेरेरमात्रै निम्तो स्वीकार्नुपर्ने र औचित्यपूर्ण देखिँदामात्रै परराष्ट्र मन्त्रालयले नोट लेखिदिने उनको भनाइ थियो ।
रात्रिभोजमा मदिरा राख्ने चलन भए पनि हार्डड्रिक्स र बियरहरु नराखिने तर वाइन दिने पौडेलले बताए । कतारका राजा नेपाल आउँदा वाइन पनि नराखिएको प्रसंग सुनाउदै उनले कतारको संस्कृति हेरेर त्यसो गरिएको बताए । भोजहरुमा प्लेटभरि खाना राख्न नहुने पनि उनले सुझाए । बरु पछि थप्न सकिन्छ, तर जति नै भोक लागे पनि प्लेटभरि खाना राख्नु नहुने, खाना खाँदा चम्चाप्लेट बजाउनु नहुने, हातमा काँटा र चम्चा लिएर हल्लाउँदै गफ गर्नु पनि नहुने उनले बताए ।
पूर्वमुख्यमन्त्री खगराज अधिकारीले शिष्टाचारबाट देशको सभ्यता र संस्कार झल्कने बताए । कार्यक्रमकै सिलसिलामा शिष्टाचार महापाल पौडेलले औपचारिक बैठक, भोज, छलफल र कार्यक्रममा जिन्स लुगा लगाउन नहुने जानकारी गराए । आफूभन्दा विशिष्ट व्यक्तिका अघि पर्दा कोटको माथिल्लो टाँक लगाउनुपर्ने जानकारी पनि उनले दिए । ३ वटा टाँक छन् भने बिचको लगाउने भन्दै उनले शोकको बेलाको भेटघाट भएमा पुछारको टाँक लगाउनुपर्ने र बस्दा सजिलो र सुविधा हुने गरी टाँक फुकाल्न सकिने उल्लेख गरे । कोटको टाँककै प्रसंग पौडेलले सुनाइरहँदा मुख्यमन्त्री पाण्डेले निवर्तमान मुख्यमन्त्री अधिकारीतर्फ हेर्दै आफ्नो अफिस आउँदा कोटको माथिल्लो टाँक लगाएर आउने ठट्टिए । अधिकारी हाँसे ।





