पोखरा / गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाइएको छ। बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका देवकोटालाई मर्यादापालकले भित्र प्रवेश गर्न रोक लगाएका हुन्।
ढोरपाटनसँग कुुरा गर्दै सांसद देवकोटाले भने, ‘म बैठकमा सहभागी हुन आएको छु, मर्यादापालकले भित्र प्रवेश गर्न दिनुभएन। अहिले बाहिर बसिरहेको छु।’ अहिले संसद् बैठक चलिरहेको छ । देवकोटा फर्किने तयारीमा छन् ।
नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले कारबाही गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा पुगेका देवकोटालाई मर्यादापालकले रोकेका हुन्।
माओवादी केन्द्रले गत जेठ ३१ गते पत्रबाट गरेको कारबाही पत्र सुनाउँदै सभामुख कृष्ण प्रसाद धितालले निलम्बनको सूचना पढेर सुनाएका थिए। त्यसविरुद्ध देवकोटा सर्वोच्च गएका थिए।





