बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढीपहिरो पीडितलाई क्षतिपूर्तिको माग

बाढीपहिरो पीडितलाई क्षतिपूर्तिको माग


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

पोखरा/गण्डकी प्रदेशका सांसदहरुले हालैको बाढीपहिरोबाट पीडित परिवारलाई आवस्यक क्षतिपूर्ति र राहत दिन प्रदेश सरकारसंग माग गरेका छन । साथै उनीहरुले प्राकृतिक विपद्बाट घाइते भएकालाई उचित उपचारका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन । प्रदेश सभाको विहीबारको बैठकमा शुन्य समयमा बोल्दै उनीहरुले अन्य समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।

एमालेकी यसोदा रिमालले भिषण वर्षाका कारण लमजुङको क्व्होलासोंथार गाउँपालिकामा एकै परिवारका ४ को मृत्यु र एकजना घाइते भएको बताउँदै मृतकका परिवारलाई राहत, गासबासको व्यवस्था, घाइतेको उपचार, सुरक्षित बासस्थानको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन । कांग्रेसकी टीकाकुमारी बस्यालले पहिरो र चट्याङका कारण लमजुङमा ६ जनाले ज्यान गुमाएपछि जिल्ला शोकमा डुवेको बताइन । उनले घाइतेको उपचार र पीडित परिवारलाई उचित क्षतिपूर्ति एवं इमर्जेन्सी फन्डको व्यवस्थाको माग गरिन ।

एमालेकै गणेशमान गुरुङ पोखरा– १९ सार्दीखोला पुरुन्चौरस्थित नहरमा क्षति पुगेकाले नहर पूर्ववत् अवस्थामा संचालन गरी किसानलाई राहत दिन माग गरे । माओवादी केन्द्रकी दमयन्ती रुचालले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ४ घुमाउरे र वडा १ जयकुटीमा विनयी खोलामा बाढी आएर जोखिम बढाएकोले त्यसको नियन्त्रणको माग गरिन । एमालेकी देवका पहारी त्रिपाठीले वर्षा र चट्याङले देशकाविभिन्न स्थानमा जनधनको क्षति भएकोप्रति दुख व्यक्त गर्दै प्रभावित र पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको माग गर्नुका साथै एसईईमा झन्डै ४८ प्रतिशतमात्रै विद्यर्थी उत्तीर्ण हुनु सरकार फेल भएको बताइन । एमालेकै नन्दकला दमै नेपालीले दलित वस्तीमा विपद् बढी आएकाले सोही अनुसार व्यवस्थापनकालागि सरकारको ध्यानाकर्षण गराइन । एमालेकै पद्मा जिसी श्रेष्ठले पूर्व पश्चिम राजमार्गको दाउन्नेमा सवारी जाम हुन थालेको बताइन । एकातिर सडक जीर्ण र त्यहीमाथि पहाडबाट बगेर आउने लेदोको कारण समस्या भएको भन्दै बुटवल नारायण खण्ड बिस्तारको काममा ढिलाई हुदा सास्ती बेहोर्नुपरेकाले काम छिटो सम्पन्न गर्न माग गरिन । एमालेकै प्रकाश बहादुर क्षेत्रीले प्रदेशभित्रका जोखिम क्षेत्र पहिचान भएका स्थानमा उद्धार टोली तयार राख्न आग्रह गरे । बेदबहादुर गुरुङले कास्कीको मादी गाउँपालिकका पर्यटकीय गाउँ सिकलेस, ताङतिङ र मिजुरे जाने सडक अवरुद्ध भएकाले खुलाउन माग गरे । एमालेकै भक्तबहादुर कुँवरले पर्वतको मालढुंगादेखि वारीवेनीसम्म कालीगण्डकी करिडोर निर्माण सुरु भएको तीन वर्ष पुग्दा पनि काम नसकिएको भन्दै राष्ट्रिय गौरवको योजनाले हिउँदमा धुलो र वर्षायाममा हिलो भएर आवागमन तथा सर्वसाधारणलाई समस्यामा पारेको बताए । एमालेकै भीमबहादुर कार्कीले अवैज्ञानिक र असारे बिकासले समस्या निम्त्याएको भन्दै पोखराका विभिन्न ठाउँमा बाढी र पहिरोको चपेटामा परेको उल्लेख गरे ।

एमालेकै मित्रलाल बस्यालले पर्वतको महाशिला र पैयुं गाउँपालिकाका बस्ती जोखिममा परेको उल्लेख गरे । एमालेकै रोशनबहादुर गाहा थापाले नवलपुरका कावासोती र देवचुली नगरपालिका, हुप्सेकोट र बुलिङटार गाउँपालिकामा खसेको पहिरोले सडक अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । कांग्रेसकी विमला गौचनले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले बृद्धबृद्धाले सास्ती खेप्नु परेकाले नेपाली नागरिकताको आधारमा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था मिलाउन आग्रह गरिन । कांग्रेसकै सरस्वती गुरुङले पीडितलाई राहत र क्षतिपूर्तिको तत्काल उपलब्ध गराउन माग गरिन ।

एमालेकी सीताकुमारी सुन्दासले स्याङजाको पुतलीबजारस्थित आँधिखोलाको किनार कारागारदेखि मालेबगरसम्म जोखिम भएकाले तटबन्धनको माग गरिन । साथै सबै खोला तथा नदीका तटीय क्षेत्रमा ध्यान दिन पनि उनले आग्रह गरिन । माओवादी केन्द्रकी सुशिला सिंखडाले असारे बिकासले बजेटमात्रै सक्ने बताइन । यसले सरकारप्रतिको आकर्षण घट्ने भन्दै गोरखाका धेरै स्थानमा सडक नपुगेको र पुगेको पनि कच्चीमात्र रहेको सुनाइन । एमालेका श्यामराजा महतले तनहुँको शुक्लागण्डी–८ बांगे डहरेमा अल्पसंख्यक कुमाल, भूजेल र दलित समुदायको बसोबास रहेको तर डहरे खोलाका कारण विद्यार्थीलाई विद्यालय जानपनि समस्या भएको र खानेपानीको पनि अभाव रहेको सुनाए । कुमाल र दलित समुदायको लागि संग्रहालय खोल्ने कुरा भएकाले सरकारसंग सहयोग मागे । माओवादी केन्द्रका हरिबहादुर चुमानले तनहुँको आँवुखैरेनी–५ लाब्दी भोेटेखोलाका युवा रन्जित गुरुङ रसियन सेनामा भर्ति भएका र अहिले उनको मृत्यु भएकाले प्रदेश र संघ सरकारमार्फत उनको शव छिटो भन्दाछिटो नेपाल ल्याउन माग गरे । साथै जेठ ६ मा राती दमौली बजारको फलफुल लाईन बजारमा २४ वटा सर्टरका २१ वटा पसल जलेर ७ करोडको क्षति भएकाले अहिलेसम्म राहत नपाएकाले राहतका लागि प्रदेश सरकारले पहल गरोस भन्दै ध्यानाकर्षण गराए ।

कांग्रेसकी कल्पना तिवारी र एमालेका सुधिरकुमार पौडेलले स्याङजामा चिस्यान केन्द्रमा राखिएका सुन्तला कुहिएकाले किसानलाई क्षतिपूर्तिको माग गरे । साथै हालैको डढेलोले पुतलीबजार, भिरकोट, बिरुवा र हरिनासमा सुन्तलाका बोटसमेत जलेकाले त्यसको पनि क्षतिपूर्ति दिनुपर्ने उनीहरुल बताए । पौडेलले आगलागीबाट सुन्तलाका बोट, कफिका बोट, सिंचाई पाइपसमेत गरी ३० करोड बराबरको क्षति भएको जनाए । एमालेका कृष्णप्रसाद पाठकले प्रदेशभित्रका सार्वजनिक सम्पत्तिको सुरक्षा एवं संरक्षण गर्ने जिम्मा प्रदेश सरकारको रहेको सुनाए । विभिन्न व्यक्तिले विभिन्न पहुँच, प्रलोभन र पावरको आधारमा राज्यको सम्पत्ति लुट्ने, अतिक्रमण गर्ने, व्यक्तिगत फाइदामा प्रयोग गर्ने प्रबृत्ति मौलाउँदै गएको भन्दै उनले बागलुङको गलकोट नगरपालिकास्थित दरमखोला हाइड्रो इनर्जी कम्पनीले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भेडागाडेदेखि मनेवासम्मको करीव ५ सय मिटर पक्की सडक अतिक्रमण गरी पेनस्टक पाइप सडकमा विछ्याएर विद्युत उत्पादन गर्दै आएको बताए । यस विषयमा आवस्यक छानविन र कारवाहीका लागि पटकपटक आवाज उठाउँदा पनि स्थानीय प्रशासन, जनप्रतिनिधि, राजनीतिक नेतृत्व र अख्तियारले पनि चासो नदेखाएको । यसर्थ गैरकानुनी ढंगले राज्यको सम्पत्ती अतिक्रमण गरी निजी स्वार्थमा प्रयोग गरेकाले उक्त कम्पनीका संचालकलाई कानुनी दायरामा ल्याउन माग गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->