पोखरा/गण्डकी प्रदेश सरकारले यही असार १ मा ल्याएको आर्थिक वर्ष २०८१ ०८२ को बजेटको मन्त्रालयगत छलफल विहीबारदेखि सुरु भएको छ । पहिलो दिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा बिनियोजित बजेट र कार्यक्रममाथि छलफल भयो । त्यस क्रममा प्रमुख प्रतिपक्षी एमालेका दुई सांसदले खर्च कटौति प्रस्तावसमेत पेश गरेका छन ।
छलफलमा भाग लिदै एमालेकी देवका पहारी त्रिपाठीले पर्यटन मन्त्रालय अन्तर्गत पदमार्ग शिर्षकमा खर्च कटौतिको प्रस्ताव पेश गरिन । गण्डकी प्रदेशको आर्थिक समृद्धिको आधार पर्यटन भएको उनले बताइन । पर्यटनमा पनि कल्चर, एड्भेन्चर र नेचरको व्याख्या गरिरहँदा कतिपय पेशभएका योजना र रकम विनियोजनलाई अध्ययन गर्दा पदमार्ग भनिएको छ । पदमार्ग पनि आर्थिक उपार्जन, कृषि, रोजगारीमा जोडिनुपर्नेमा त्यस्तो नभई व्यक्तिगत खेत वटा घरमा जाने खालको मात्रै देखिएको उनल बताइन । पर्यटकीयस्थलमा जानका लागि पदमार्ग बनाउने नदेखिएकाले उक्त शिर्षकको खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भनि उनले प्रस्ताव पेश गरिन ।
एमालेकै बेदबहादुर गुरुङले छलफलमा भाग लिदै उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको बजेट गत वर्षको भन्दा कम भएको टिप्पणी गरे । मन्त्रालयले कुन विधि र प्रकृयाले योजना छनौट गरेको हो भन्ने प्रश्न गर्दै उनले नीति र सिद्धान्त भन्दा बाहिरबाट जथाभावी रुपमा योजना वितरण गरिएको आरोप लगाए । जनतालाई एक घर एक धारामार्फत स्वच्छ खानेपानी पुराउने योजनालाई बजेटले ठोस रुपमा संवोधन नगरेको उनले बताए । प्राथमिकता नपाएको बजेट संविधानप्रति वेवास्ता र जनताप्रतिको खेलवाड रहेको भन्दै गुरुङले ८ करोड रुपैयाँ अबन्डा बजेट हचुवा र शंकास्पद रुपमा राखिएको जनाए । अझ उर्जा मन्त्रालयमा ३२ लाख रुपैयाँ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि राखिएकोप्रति यो गम्भिर त्रुटी रहेको बताए । सिंचाइका योजना पनि कुहिरोका कागजस्तो अत्यन्तै अस्तव्यस्त रहेको उनको भनाई थियो । लक्ष्य र उद्देश्यविहीन बजेट विनियोजन गरिएको भन्दै उनले यस्तो बजेटले विनाश ल्याउने भन्दै हुबहु लागु भए प्रतिफल नदिने भन्दै बजेट कटौती गरी एक रुपैयाँ कायम गरियोस् भनि प्रस्ताव पेश गरे ।
कांग्रेसका महेश भट्टराईले विज्ञ र सबै माननीयसंग छलफल गर्न नपाई छोटो समयमा आएको बजेट राम्रो रहेको बताए । ‘समग्रमा जनचाहना अनुसार सबैलाई समेटेर बजेट आएको छ’ उनले भने, ‘मेगा प्रोजेक्टका रुपमा नआएको होला, बजेटले सबै क्षेत्र समेटेको छ ।’ उनले आगामी वर्ष उज्यालो प्रदेश घोषणा गर्नु, लिफ्ट खानेपानी र सिंचाइकालागि शत्प्रतिशत् विद्युत महशुल तिर्ने प्रदेशको योजना स्वागतयोग्य रहेको सुनाए । एमालेका गणेशमान गुरुङले प्रदेशको आधार कृषि र पर्यटन भनिए पनि बजेट प्रयाप्त नभएको गुनासो गरे । माओवादी केन्द्रकी कुसुम बुढा पुनले मुख्यमन्त्रीले सन्तुलत र समन्यायिक बजेट ल्याउछु भने पनि त्यस्तो नभएको बताईन । एउटा भन्ने तर गर्ने अर्कै कुराले सही बिकास नहुने उनको भनाई थियो । ‘बजेट म र मेरो, मेरो र मेरो क्षेत्रको रुपमा मात्रै आएको छ’ उनले भनिन ।
राप्रपाका पंचराम गुरुङले जनताले प्रत्यक्ष लाभ पाउने कार्यक्रम लुकेका हुनकी भन्ने महशुष गरेको भन्दै कुनै योजनामा शिर्षक दोहोराउनु वित्तिय सुशानको अभाव रहेको बताए । कार्यान्वयन राम्रेसंग हुनसके बजेट समग्रमा राम्रो रहेको भन्दै उनले कार्यान्वयनमा सबैको सहयोगको अपेक्षा पनि गरे । कांग्रेसकी दिलमाया पौबिले ढोरपाटन क्षेत्रलाई बजेट कम भएको गुनासो गर्दै सिमिति स्रोतका बाबाजुद पनि खुशी लाग्ने बजेट आएको बताइन । एमालेकी राजकुमारी भुजेलले उर्जाको बजेटले जनचाहनालाई संवोधन गर्न नसक्ने बताइन । माओवादी केन्द्रकी हरिबहादुर भण्डारीले म्याग्दीमा परेको कम बजेट पनि फिर्ता लैजान आग्रह गरे । राप्रपाकी बिन्दु पौडेलले मुख्यमन्त्रीमा काम गर्ने चाहना भए पनि बजेटमा कर्मचारी हावी भएको तर पनि बजेटप्रति पूर्ण समर्थन भएको जनाइन ।
कांग्रेसका डिल्लीराम सुवेदीले कर्मचारीप्रति आक्रोश व्यक्त गर्दै कर्मचारीकै कारण प्रदेशलाई गाली खुवाउने बनाएको भन्दै खेद ब्यक्त गरे । उनले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए । एमालेका लक्ष्मणबहादुर पाण्डेले कान्छो नवलपुर जिल्लामा कम बजेट परेको गुनासो गरे भने कांग्रेसका दीपेन्द्रबहादुर थापाले बजेटको प्रशंसा गरे ।





