पोखरा/ सांसदले प्रदेश सभा बैठकमा उठेका विभिन्न जिज्ञासा र प्रश्नको सरकारसंग जवाफ माग गरेका छन । प्रदेश सभाको शुक्रबारको बैठकमा उनीहरुले पहिरो नियन्त्रणमा बजेट थप्न मागदेखि विभिन्न रोगबाट पीडितलाई आर्थिक सहयोगको माग गरे ।
एमालेका कृष्णप्रसाद पाठकले प्रदेश सभामा जनताका आवाज उठाए पनि प्रदेश सरकारले कुनै जवाफ नदिएको भन्दै सरकारलाई रुलिङ गर्न सभामुखसमक्ष माग गरे । उनले जनताका आवाज प्रतिविम्वित गर्ने थलो प्रदेश सभा रहेको र आफुहरु संवाहक रहेको बताए । पटकपटक सांसदहरुले उठाएका जिज्ञासा र प्रश्नको जवाफ सरकारले नदिएको उनको भनाई थियो ।
कांग्रेसका डिल्लीराम सुवेदीले बागलुङ जिल्लाको दक्षिण भेग जाने मालढुंगा शान्तिपुर सडकको मुखैमा पर्ने बहुचर्चित दब्ल्याङको पहिरो प्रदेश सरकारको सहयोगमा बागलुङ नगरपालिकाले व्यवस्थापन गर्न लागेको तर पछिल्लो समय वर्षाका कारण काममा समस्या आएको बताए । उनले पहिरोको व्यवस्थापन गरी निर्वाधरुपमा सडक संचालनका लागि गरिएको काममा थप जटीलता उत्पन्न भएकाले थप रकमको सहयोगको आवस्यकता भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
एमालेकी निर्मला थापाले विपन्न परिवारका मुटुरोगी, मृगौला पीडित, क्यान्सरपीडितलाई प्रदान गर्ने सहयोग असार मसान्तभित्र उपलब्ध गराउन माग गरिन भने एमालेकै लक्ष्मणबहादुर पाण्डेले आफुले १४१ जना मुटु, मृगौला र क्यान्सर पीडितहरुको निवेदन दर्ता गरेकोमा ४३ जनाले मात्र सहयोग पाएको अरुले नपाएकाले अरुलाई पनि उपलब्ध गराउन माग गरे । एमालेकी यसोदा रिमालले उत्तरी लमजुङको व्यापारिक केन्द्र मस्र्याङदी गाउँपालिकास्थित खुदी बजार खुदी खोलाका कारण संकटमा परेको बताइन । । खुदीखोलाका कारण बजार, सरकारी कार्यालय र सर्वसाधारण जोखिममा परेकाले तटबन्धनकालागि बजेट विनियोजनको माग उनले गरिन । एमालेकै सीताकुमारी सुन्दासले पूर्ण अशक्त र अपांगता भएका व्यक्तिलाई सहयोगी र सुस्तश्रवण भएकालाई दोभासेको व्यवस्था गर्न माग गरिन । एमालेकै श्यामराजा महतले तनहुँको ढोरबराही मन्दिर संसारकै अनौठो रहेको भन्दै विश्व सम्पदा सूचीमा पर्नुपर्नेमा प्रदेश सरकारले धार्मिकस्थल समेत भनेर समेट्न नसकेको भन्दै दुख व्यक्त गरे । उनले मन्दिरको दर्शनका लागि सबैलाई आमन्त्रण पनि गरे ।
माओवादी केन्द्रका हरिबहादुर भण्डारीले पर्यटनको राजधानी पोखरामा पर्यटनको एउटा महत्वपूर्ण क्षेत्र यातायातको कुरा गर्दा ट्याक्सी मिटरमा गुड्न नचाहने र नगर बसले कालो धुवाँ फालेर हिड्ने गरेकोप्रति ध्यानाकर्षण गराए ।





