बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेता तथा कार्यकर्तालाई गल्ती दोहोराउने छुट छैनः ज्ञवाली

नेता तथा कार्यकर्तालाई गल्ती दोहोराउने छुट छैनः ज्ञवाली


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८१, शुक्रबार

पोखरा/ नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेका नेता तथा कार्यकर्तालाई गल्ती दोहो¥याउने छुट नभएको बताएका छन । शुक्रबार एमाले पोखरा महानगरपालिका कमिटीले ७३ औं मदन जयन्तिको अवसरमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले अबको निर्वाचन मार्फत एमालेले एकल बहुमतका साथ आफ्नो खुट्टामा उभिनसक्ने हुनुपर्ने बताए ।

‘अब गल्ती दोहो¥याउने छुट छैन । अब हामी एक्लै कसैको पनि बैसाखी नटेकिकन मुलुकको नेतृत्व गर्न चाहन्छौं । समेट्ने कुरा सबैको होला, हामी अरुलाई पनि समेटौला, तर एमाले एक्लै आफ्नो खुट्टामा उभिनसक्ने बन्नुपर्छ’ उनले भने । एमालेले बलियो राष्ट्रिय शक्तिको निर्माण गर्नेे संकल्प गरेकोले जननेता मदनकुमार भण्डारीलाई सम्झदै त्यो संकल्प पुरा गर्नका निम्ती सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘एमाले आफ्नै असमझदारीका कारण आफ्नै खुट्टामा अल्झिएर धेरैं ठाउँमा लडेको छ, यो स्थितिलाई अन्त्य गर्नुपर्छ’ उनले भने । विगतमा पार्टीमा चुनौतीको सामना गर्न खोज्नेको जमात बढी हुने गरेपनि पछिल्लो समय आफूले टिकट पाए ठीक नपाए असहयोग गर्ने, अन्तरघात गर्ने विपक्षीहरुसँग मिल्ने जस्ता खालका कामहरु हुने प्रवृत्ति देखा परेको उपमहासचिव ज्ञवालीको गुनासो थियो ।

पछिल्लो ३ वर्ष एमाले विरुद्ध घेरावन्दी भएपनि गएको फागुन २१ गतेदेखि त्यसलाई तोडेर एमाले राजनीतिको केन्द्रविन्दुमा आइपुगेको भन्दे अब आफ्नै खुट्टामा एकल बहुमतका साथ उभिने परिस्थिति निमार्णमा जुट्नुपर्ने उनले बताए । चुम्बक बलियो भयो भने फलामका कणहरु आफै खोज्दै–खोज्दै आइपुग्ने भन्दै उनले एमालेलाई राष्ट्रिय राजनीतिको चुम्बकको रुपमा स्थापित गर्नुपर्ने जनाए । ‘सहकार्य विचार मिल्दा गरिएला । तर, भोली नै पार्टी एकता हुन्छकी, भोलीनै वामपन्थी एकता हुन्छ की, भोली नै हिजो जस्तो नेकपा बन्छकी, यो कुनैपनि अन्यौलमा नपरीकन आफ्नो पार्टीलाई बलियो बनाउ’ उनको भनाई थियो । वर्तमान समीकरण भत्काउन अनेक खालका प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने उनले बताए ।

विचार गोष्ठीमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जननेता मदनकुमार भण्डारीका विचारको अध्ययन गरेर सोही अनुसार आफ्नो कार्यशैलीमा सुधार गर्न जनप्रतिनिधिलाई आग्रह गरे । सबै एकताको सुत्रमा अगाडि बढेमात्र पार्टीले लिएको लक्ष्य पुरा हुने उनको भनाई थियो । त्यसको लागि जिम्मेवारीमा रहेको व्यक्तिको भूमिका महत्वपूर्ण हुने उनले बताए । ‘सिद्धान्त, संगठन, सर्घष र शैलीमा एकरुपता कायम गर्दै पार्टीको आन्तरिक एकतालाई अझै बलियो बनाउदै जानुपर्नेछ’ उनले भने । नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्नको लागि स्थानीय तहदेखि प्रदेश र संघमा बहुमत आवश्यक पर्ने भन्दै त्यसको लागि सबैजना एकढिक्का भएर अगाडी बढ्नुपर्ने उनको भनाई थियो । समाजवाद उन्मुख संविधान पूर्ण रुपमा कार्यान्यवयन गर्नको लागि समेत एमालेको एकल बहुमत आवश्यक पर्ने उनको दावी थियो ।

जनप्रतिनिधि शासक नभई सेवक भएकोले जनताप्रति उत्तरदायी बन्नुपर्ने स्थायी कमिटी सदस्य अधिकारीले बताए । ‘जनतालाई निरास बनाउने अधिकार जनप्रतिनिधिलाई छैन, मतदातालाई उत्साह, उर्जा थप्नुप¥यो’ अधिकारीले आग्रह गरे । संगठनमा प्रयोग गरिहेको लोकतान्त्रीकरणमा पुनरावलोकन गर्नुपर्ने अवस्था आएको समेत उनको भनाई थियो । नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीका अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका कमिटी इन्चार्ज कृष्ण थापा, पोखरा महानगरपालिका कमिटीका निवर्तमान अध्यक्ष दिलिप न्यौपाने, वर्तमान उपाध्यक्ष नरेन्द्रनाथ ढुंगाना र सचिव सुशील बस्नेतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->