पोखरा/ पार्टी संसदीय दलको ह्विप उलंघन गरेको भन्दै माओवादी केन्द्रले गरेको कारबाही सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि गण्डकी प्रदेश सभामा फर्किएका प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले दोस्रोपटक आइतबार मन्त्रीको सपथ लिएका छन । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा पुनः नियुक्त देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराए ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत जेठ २८ मा विश्वासको मत दिएको भोलिपल्टै देवकोटाले सोही मन्त्रालयको जिम्मा पाएका थिए । माओवादी केन्द्रले सांसदबाट कारबाही गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका थिए । देवकोटालाई गत बिहीबार नै शपथ गराउने तयारी रहेकोमा उक्त दिनको प्रदेश सभा बैठकमा प्रवेश गर्न रोक लगाइएपछि आइतबारलाई सपथ सरेको हो ।
माओवादीको चुनाव चिन्हबाट चुनाव लडेर निर्वाचित भएपछि नेपाल समाजवादी पार्टीको सांसद भए पनि उनको संसदीय दल भने माओवादी केन्द्र रहेको थियो । माओवादीको कारवाहीपछि सांसद पद गुमाएका देवकाटा सर्बोच्च अदालत पुगेकोमा असार ९ मा उनको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै पद फिर्ता पाएका देवकोटालाई मुख्यमन्त्री पाण्डेले फेरि सोही मन्त्रालय दिएका हुन ।





