पोखरा/सर्वोच्च दालतले माओवादी केन्द्रको कारवाही अवैध ठहर तथा सभासदको पद कायम गरेसँगै नेपाल समाजवादी पार्टीको तर्फबाट गण्डकी प्रदेश सांसद कायम रहेका फणिन्द्र देवकोटाले पुनः उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हालेका छन् ।
गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा प्रदेश प्रमुख डिल्लीराज भट्टले फणिन्द्रलाई पुनः पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । देवकोटा पहिलोपटक असार जेठ २९ गते मन्त्री भएका थिए । माओवादी केन्द्रले उनलाई आफ्न्नै पार्टीको सांसद भएको जिकिरसहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेविरुद्ध मतदान गर्न ह्विप जारी गरेकोमा जेठ २८ गते फणिन्द्रले त्यसलाई लत्याएका थिए । त्यसपछि जेठ ३२ गते माओवादीले उनलाई कारवाही गरेको पत्र प्रदेश सभामा बुझाएको थियो ।सभामुख कृष्ण धितालले सो पत्र संसदमा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए । असार ६ गते मुख्मन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गर्दा फणिन्द्रको मन्त्रालयको जिम्मेवारी आफैसँग राखेको जानकारी प्रदेश प्रमुखलाई दिएका थिए ।
सभामुखको निर्णयविरुद्ध फणिन्द्रले सर्वोच्चको ढोका ढक्ढक्याएका थिए भने सर्वोच्चले असार १० गते उनको रिटमा अन्तरिम आदेश जारी गर्दै फणिन्द्रको सांसद पद कायमै रहने फैसला गरिदियो । सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ,‘ आवद्ध नभएको राजनीतिक दल नेकपा माओवादी केन्द्रबाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार उल्लिखित संवैधानिक र कानूनी व्यवस्थाको रोहमा प्रत्याभूत गरेको नदेखिएको परिप्रेक्ष्यमा मिति २०८१ । २ । ३२ को गण्डकी प्रदेश सभाको माननीय सभामुखको निर्णय तथा सूचना कार्यान्वयन भएमा निवेदकले जनप्रतिनिधिको हैसियतमा भूमिका निर्वाह गर्न नसक्ने भई अपुरणीय क्षति पुग्ने देखिँदा प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म मिति २०८१ । २ । ३२ को गण्डकी प्रदेश सभाको माननीय सभामुखको निर्णय तथा सूचना कार्यान्वयन नगर्नू, नगराउनू तथा निवेदकलाई गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा कार्यरत रहन दिनू ।’
सर्वोच्चको फैसलापछि असार १३ गते बिहीबार प्रदेशसभा पुग्दा भने उनलाई रोकियो । सभामुखले रिट अध्ययन गर्न नपाएको भन्दै उनलाई गेटमै रोकिएको थियो । फणिन्द्र त्यो दिन प्रदेशसभाको गेटबाटै फर्केका थिए ।
२०७९ को चुनावमा कांग्रेस–माओवादी केन्द्र, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ( नेसपा),राष्ट्रिय जनमोर्चासहितका दलहरुको चुनावी गठबन्धन बनेको थियो । नेसपाले भने माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर मैदानमा उत्रने निर्णय ग¥यो । सोही अनुरुप गोर्खा क्षेत्र नम्बर २ को ‘क’ मा उम्मेदवारी दिएका फणिन्द्रले माओवादीको गोलाकारभित्रको हसियाँ हथौँडा चुनाव चिन्ह लिएर नै विजयी बने । १२ हजार ४११ मत ल्याएर उनी विजयी बनेका थिए । माओवादी केन्द्रबाट विजयी बने पनि उनले प्रदेशसभामा चाहिँ आफ्नो पार्टी नेसपाकै तर्फबाट सदस्यता लिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनले ह्विप नमान्ने आफ्ना सदस्य सांसदलाई पदबाट हटाउन सक्ने अधिकार दिएको छ । नेसपाको पोलिटब्यूरो सदस्य रहेका फणिन्द्रलाई ह्विप नमानेपछि माओवादीले कारवाही त ग¥यो तर सर्वोच्चले अर्काको पार्टीको सदस्यलाई कारवाही गर्ने अधिकार माओवादीलाई नभएको ठहर गरिदियो ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटअन्तर्गत उर्जा मन्त्रालयको लागि ४ अर्ब २ करोड ५३ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको छ । भौतिक र सामाजिक विकास मन्त्रालयपछि तेस्रो ठूलो बजेट यही मन्त्रालयसँग रहेको छ । ‘एक घर ःएक धारा’, उज्यालो गण्डकी प्रदेश अभियानदेखि सिंचाइ,नदी कटानजस्ता समस्याको समाधानको जिम्मेवारी यही मन्त्रालयअन्तर्गत रहेको छ । त्यसो त, उनी गण्डकीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने बेलाकै ‘मुख्य चाबी’ हुन् । उनको विद्रोहले नै सुरेन्द्रको मुख्यमन्त्रीको यात्रा सुनिश्चित भएको हो ।





