पोखरा/ कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक समृद्धिको महत्वपूर्ण आधार भएको र खोपले बालबालिकाहरूलाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । थापाले गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोसणा हुने र छिट्टै गण्डकी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा हुने उल्लेख गरे। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रवाट कास्की जिल्लाभित्र आई वसोवास गर्ने सवै वालवालिकाले पाउनु पर्ने सवै खोप पाएको सुनिश्चत गर्ने गरिएको पौडेलले बताए ।
स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए ।
कास्की जिल्लाका पाँचवटै पालिकाका कूल ७२ वटा वडाका कुल ३० हजार ७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका अधिकृत बद्री आचार्यले जानकारी दिए। आचार्यका अनुसार घरधुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पुरा नगरेका १४० जना वालवालिकाहरुलाई खोप लगाउने व्यवस्था समेत मिलाईएको थियो । १५ महिनासम्मका ७ हजार २ सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ । त्यस्तै १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार ८ सय ४७ जनाबालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए ।
कास्की जिल्लामा पाँचवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा वाह्य २ सय ३० खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान हुदै आएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिब बिनोदबिन्दु शर्मा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, स्वास्थ्य स्वयम्सेविकाहरूको संजालका अध्यक्ष भीमा पौडेलसहितले भनाइ राखेका थिए । कार्यक्रममा पोखरा महानगर तथा मादी गाउँपालिकाका ६० वर्षमाथिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाई समेत गरिएको थियो ।





