पोखरा/आजदेखि तीन दिनसम्म मनसुन अझै सक्रिय हुने भएकाले आवस्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला उच्च जोखिममा रहेको संकेत विभागले गरेको छ । विभागले असार १७ गतेदेखि २० गतेसम्मको अवधिमा ३४ जिल्लामा रेड अलर्ट जारी गरेको थियो ।
यसपटक ‘रेड जोन’ मा परेका जिल्लाहरुमा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपुर र मुस्ताङ छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व रेड जोनमा परेका छन् । कर्णाली प्रदेशका जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालिकोट, जुम्ला र हुम्लालाई पनि जल तथा मौसम विज्ञान विभागले रेड जोनमा राखेको छ भने सुदूरपश्चिमका डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा जिल्ला ‘रेड जोन’मा छन् । यसैगरी विभागले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३४ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।

मनसुन सक्रिय हुँदा भारी वर्षा हुने, बाढी–पहिरो आउने, होचा भूभाग डुबान हुने, गेग्रान बहावले सडक यातायात अवरुद्ध हुने र हवाई यातायात समेत प्रभावित हुने पूर्वानुमान विभागको छ । विभागले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ, ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सरोकारवाला निकायहरूमा अनुरोध छ ।’
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वामानुमान महाशाखाका अनुसार विगत केही दिनदेखि मनसुन न्यून चापीय रेखाका कारण नेपालमा मनसुन सक्रिय हुँदै गएको छ । सो न्यून चापिय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग आसपास नै रहने छ ।





