बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कजवे बगेपछि पृथ्वी राजमार्ग अवरुद्ध

कजवे बगेपछि पृथ्वी राजमार्ग अवरुद्ध


  • ढोरपाटन डेस्क
  • असार २३ २०८१, शनिबार

पोखरा/ तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेरामा बाढीले कजवे बगाउँदा पृथ्वीराजमार्ग अन्तर्गत दमौली–खैरेनीटार खण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको वर्षाले उक्त कजवे बगाएको तनहुँ प्रहरीका सूचना अधिकारी एवं डिएसपी दीपककुमार रायले बताएका छन । तत्काल राजमार्ग खुल्ने अवस्था नरहेको उनको भनाई छ । ह्युम पाइप राखेर कल्भर्ट नबनाएसम्म राजमार्ग सूचारु नहुने र तत्काल त्यो संभावना नभएकाले बैकल्पिक उपायको खोजीमा लागिएको उनले बताए ।

यसैगरी शुक्लागण्डकी–६ मा पहिरो गएको र बिस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यस खण्ड हुँदै यात्रा गर्ने सयौं यात्रुहरू अलपत्र परेका छन् । तनहुँकै भिमाद नगरपालिका–६ मालेबगरका ६ घर डुवानमा परेका छन्। डुबानमा परेका परिवारका सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।

गैंडाकोटमा २५ घर डुबानमा
नवलपुरको गैँडाकोट नगरपालिका–२ को नारायणी किनारका २५ घर डुबानमा परेका छन् । नारायणी नदीको बाढी बस्तीमा पस्दा बोटेटोल जलमग्न भएको छ । बढीको कारण २५ वटा घरमा रहेको अन्नपात र लत्ता कपडा भिजेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुबानमा परेको बस्तीका मानिसलाई टोल सुधार समितिको ट्रष्ट भवनमा राखिएको छ । यसैगरी केरुङ्गे खोलाको बाढीले हुप्सेकोट गाउँपालिका–४ को खेतीयोग्य जमिन कटान गरेको छ । प्रहरीका अनुसार करिब २५ विगाहा क्षेत्रफलमा लगाएको खेतीमा खोला पस्दा क्षति पुगेको छ ।

स्याङ्जामा ब्यापक क्षती

बाढी पहिरोले स्याङ्जाका विभिन्न स्थानमा व्यापक क्षति पुराएको छ । प्रहरीका अनुसार गल्याङ नगरपालिका–७ देवीस्थानकी मीना थापाको गोठ पहिरोले बगाएको छ । पहिरोले उनको एउटा भैंसी र पाडो मरेका छन । यसैगरी सोही स्थानका बिष्ण्ुमाया थापा, मित्रकुमारी बराल र यमबहादु हिटानको घर पहिरोको जोखिममा परेका छन । उता पुतलीबजार नगरपालिका–१ वाणिज्य बैंक अगाडि रहेको फारुक अलिको वर्कसपमा ५० मिटर माथिबाट पहिरो खस्दा मोटरसाईकल धुने २ वटा मेशिन पुरिएका छन । यसैगरी टीनको छानामा क्षती पुगेको र धुन राखिएको एक स्कुटर पनि पुरिएको छ ।

तस्बिर सौजन्य स्याङ्जा प्रहरी

त्यस्तै पुतलीबजार–३ कालीमाटीकी आसा रोक्काको घर पहिरोको जोखिममा परेको छ भने बिरुवा गाउँपालिका–६ स्याङदी माझकोटकी गुईश्वरी शर्मा मरासिनीको घर पूर्ण क्षति पुगेको र स्थानीय माधव शर्माको घर जोखिममा पारेको छ । आँधिखोला गाउँपालिका–३ काउरेका मनमाया बिकको गोठ पूर्णरुपमा क्षती हुनुका साथै २ वटा बाख्रा मरेका छन । अर्जुनचौपारी गाउँपालिका–३ का सरस्वती दमाईको घर पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सोही गाउँपालिकाको वडा नम्बर १ डाडेगौंडाका गुड्डु दमाईको घर आंशिक क्षति पुगेको छ । साथै वालिङ नगरपालिका–१ बिर्सिखाटोल रामबाच्छाका टेकबहादुर बिकको गोठ पहिरोले भत्काउनुका साथै २ बाख्रा मरेका छन । गल्याङ नगरपालिका– ६ पिंडीखोलामा टाँडीका देबबहादुर गुरुङले खेतमा जोत्न लिएर हिडेको गोरु खोलाको किनारमा हिड्ने क्रममा जमीन भासिई गोरु खसेर बेपत्ता भएको छ । यसैगरी अर्जुनचौपारी– १ का टोपबहादुर गुरुङले खेत जोत्न लैजाने क्रममा ठाडोखोलाले एउटा गोरु बगाएर बेपत्ता बनाएको स्याङ्जा प्रहरीका सूचना अधिकारी एवं डिएसपी इन्द्रबहादुर रानाले बताए ।

५ परिवारलाई सुरक्षित स्थानमा सारियो
यसैबीच पोखरा–१४ गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने ५ घरधुरीका २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
सेती नदीमा पानीको बाहब बढ्न गई बस्ती जोखिम भएपछि घरभित्रका सबै सामाग्रीसहित गोष्टी टोल बिकास संस्थाको भवनमा उनीहरुलाई सारिएको कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माले बताए । उनका अनुसार बिष्णु माया सुनुवारको ५ जना, डोल्मा शेर्पाको ७ जना, सुकदेव गुरुङको ४ जना, डावा शेर्पाको ४ जना र काजी शेर्पाको ३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

यसबीच पहिरोले पोखरा महानगरपालिका–३२ डाँडागाउँस्थित राजन बिकको घरको माथिबाट पहिरा खसेर घरसंग जोडिएको भान्सा कोठा भत्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->