बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उद्दार र राहतका लागि कास्कीमा तीन सुरक्षा र पालिका तयार

उद्दार र राहतका लागि कास्कीमा तीन सुरक्षा र पालिका तयार


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८१, सोमबार

पोखरा/देशभर निरन्तरको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम उच्च छ । विशेष गरी गण्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा उच्च वर्षा भइरहेको र हुने हुँदा जोखिम पनि बढी छ । गण्डकीमा दुई दिनमा (यो समाचार तयार पार्दासम्म) ९ जनाको मृत्यु भइसकेको छ । बाढीपहिरोबाट घाइते हुने १० जना रहेका छन् ।
गण्डकीमा तनहुँ, स्याङजा र पर्वतमा मानवीय क्षति भएको छ भने ४५ चौपाय मरेका छन् । विपद्को उच्च जोखिमलाई प्रतिकार्य गर्न कास्कीमा तीन सुरक्षा निकायका साथमा स्थानीय पालिकासमेत तयारी अवस्थामा रहेको छ । विपद् व्यवस्थापन समितिले कास्कीमा विपद् प्रतिकार्य योजनाका लागि तत्कालै खटिन सक्ने गरी योजना समेत बनाएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कास्कीमा पोखरा महानगरपालिका बाढी र अन्य पालिकाहरु पहिरोको उच्च जोखिममा रहेको बताए । कास्कीमा मनसुन सुरुभए यता दुई बालबालिकाको ज्यान गएको छ भने अन्य ठूला मानवीय क्षति हुने घटना भएको छैन ।
‘आजका दिनसम्म त्यस्तो कुनै मानवीय क्षति वा कास्कीमा अहिले त्यस्तो ठूलो जोखिम भइसकेको छैन् । अवस्था सामान्य नै छ,’ उनले भने, मौसमजन्य विपद प्रतिकार्य योजना जिल्ला विपद व्यवस्थापन समितिले स्वीकृत गरेर लागु गरिसकेको र तीन वटै सुरक्षा निकाय प्रतिकार्यका निम्ति तयारी अवस्थामा रहेको छ ।’
कास्कीमा पोखरा १४ साविकको ल्याण्डफिल क्षेत्रमा अव्यवस्थित घरहरु बाढीको जोखिममा रहेको र उनीहरुलाई तत्कालै उद्दार गरी स्थानान्तरण गरिएको छ । पोखरा वडा नं. ३२ तल्लो गगनगौंडामा बेगनासतालबाट आएको नहरको पानी लिकेज हुँदा डुबानमा परेको र त्यसको सुधार गर्ने काम भइरहेको छ । यस्तै कास्कीमा मुख्य राजमार्ग अवरोध नभए पनि सहायक राजमार्गमा अवरोध भएको र त्यो हटाउने काम सम्पन्न भएको उनले जानकारी दिए ।
उनका अनुसार सुरक्षा निकायभित्र पनि क्विक रेस्पोन्स टिम (क्यूआरटी) र इमिडेटली रेस्पोन्स टिम (आइआरटी) तयारी अवस्थामा छ । त्यो बाहेक स्थानीय प्रहरीलाई २४ घण्टा नै तयारी अवस्थामा राखिएको छ । स्थानीय तहमा रहेका विपद व्यवस्थापन टिम रहेको र निरन्तर सम्पर्कमा रहिराखेको उनको भनाइ छ । नदीको किनारमा रहेका बस्तीका लागि नदीको बहाव घटेको वा बढेको जानकारी दिन पूर्वसूचना प्रणाली रहेको र सोही आधारमा सूचना प्रवाह गर्ने काम भइराखेको पनि उनले बताए । कास्कीमा राहतबारे कुनै समस्या नरहेको उनले सुनाए । मनसुन प्रतिकार्य योजना २०७९ अनुसार पोखरा महानगरपालिका बाढी तथा अन्य गाउँपालिका माछापुच्छे्र, मादी, रुपा र अन्नपूर्ण बढी पहिरोको जोखिममा रहेका छन् ।
पोखरा महानगरपालिका बाढीको उच्च जोखिममा रहेको छ । पोखराको वडा नं. २२ पुम्दीभुम्दी बाहेकका सबै वडा बाढीको जोखिममा रहेका छन् । वडा २२ भने मध्यम जोखिमको सूचीमा रहेको छ । पोखरा महानगरपालिकाका अधिकांश क्षेत्र पहिरोको जोखिममा रहेको छ भने, महानगरबाहेक अन्य पालिकाहरु भने बाढी, पहिरोको जोखिममा रहेको छ ।
जिल्ला प्रहरी कार्यालयको तर्फबाट परिचालन गर्न तयारी अवस्थामा कास्की प्रहरी प्रमुखसहित ४६ जनाको टोली रहेको छ । यस्तै उद्दार सामग्रीहरु तयारी अवस्थामा रहेको छ । शसस्त्र प्रहरी बलको भने ६ जना गोताखोरसहित ४० जनाको जनशक्ति तयारी अवस्थामा रहेको छ । नेपाल आर्मीको अधिकृतसहित ७० जनाको जनशक्ति तयारी अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->