पोखरा/नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले नेपाल सरकारले खारेजीको प्रक्रियामा लगेको संस्थानलाई रोक्न सफल भएको बताएका छन् । महाप्रबन्धक श्रेष्ठले संविधानले दिएको अधिकारलाई खानेपानी संस्थानले हरप्रकारले उपभोक्ताको सेवामा लाग्ने धारणा राखेका थिए ।
नेपाल खानेपानी संस्थान तालिम शाखाद्वारा आयोजित ४ दिने पानी परीक्षण तालिमको समापन गर्दै महाप्रबन्धक श्रेष्ठले कर्मचारी सेवा शर्त विनियमावली साउन मसान्तसम्ममा ल्याउने ठोकुवा गरे । जाइका आयोजनाको कामलाई जनशक्तिको अभावमा प्रभाव पार्न नहुने भन्दै हरेक शाखाबाट पोखरामा सम्पन्न हुन लागेको जाइका आयोजनामा जान कर्मचारीहरुलाई आग्रह गरे ।
तालिम शाखा प्रमुख निरण महर्जनको अध्यक्षतामा सम्पन्न भएको ४ दिने पानी परीक्षण तालिममा खानेपानी मन्त्रालयका सहसचिव राजाराम दाहालले मर्न लागेको संस्थानलाई व्युत्याईएको प्रसंग कोट्याउँदै केही महिनामै फरक पाउने बताए । कार्यक्रममा प्रशिक्षक सिनियर केमिष्ट अनुराधा ज्ञवालीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेकी थिइन् ।
तालिम समापनसँगै सुरक्षित खानेपानी वितरण, अनिवार्य परीक्षण, जोखिमको न्युनीकरण, दैनिक, मासिक र वार्षिकरुपमा परीक्षण गरिनु पर्ने विधिलाई प्रयोगात्मक तथा फिल्ड भिजिटको माध्यमबाट ज्ञान प्रदान गरिएको थियो । कर्मचारी केदार धमलाको सञ्चालनमा भएको समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखा प्रमुख कमल थापाले रचनात्मक तालिमले कर्मचारीको क्षमता बृद्धि विकास भएको बताए ।
खानेपानी संस्थानको आयोजनामा भक्तपुर नगरकोटमा आवासीय सुविधा सहितको राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षण केन्द्रको सभाहलमा गत १७ गतेदेखि सुरु भएको तालिममा संस्थानका विभिन्न २२ वटा शाखाबाट पानी गुणस्तर परीक्षणमा हुनु पर्ने नीति, नियम, ऐन, कानुन तथा मापदण्डलगायत विषयमा चर्चा भएको थियो । तालिममा खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका शाखा प्रमुख र्इं.पूर्णप्रसाद उपाध्याय, वासका निरव वैद्यलगायतले आधुनिकतामा पानीको गुणस्तरलाई हेर्नु पर्ने विधि र पद्दतिबारेमा ज्ञान दिएका थिए ।
तालिमलाई थप व्यवस्थित, गुणस्तर र प्रभावकारी बनाउन खानेपानी संस्थानका ईं.निरण महर्जन, सिनियर केमिष्ट अनुराधा ज्ञवाली, केमिष्ट दिपकनाथ योगी, वाटर क्वालिटी एसोसिएटका सुशिल बन्जाडेलगायतले तालिम प्रदान गर्दै सहजीकरण गरेको सहायक प्रशासन अधिकृत दिपेश्वर मण्डलले जानकारी दिएका थिए । तालिममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुरुप प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीलाई सुन्दरीजल पानी परीक्षण केन्द्र र केयुकेलअन्तर्गतको महांकालचौर पानी ल्यावमा फिल्ड भिजिट गराईएको थियो ।





