पाेखरा/ गण्डकी प्रदेशमा अविरल वर्षा, बाढीपहिरो एवं चट्याङबाट १३ दिनको अवधिमा २२ जनाको ज्यान गएको छ । २० घाइते भएका छन भने ५९ चौपायाको क्षति भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार यही असार १२ गतेदेखि असार २४ सम्ममा ४७ वटा विपद्जन्य घटनामा यो क्षति हुन पुगेको हो ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार मृतकमा ९ महिला, ७ पुरुष, ४ बालिका र २ बालक रहेका छन । बाढीपहिरोबाट २१ र एकजनाको चट्याङ लागेर मृत्यु भएको छ । यसैगरी घाइतेमा ११ जना पुरुष, ७ महिला र २ बालक रहेका छन । घाइतेमा १६ जना बाढीपहिरो र ४ जना चट्याङले भएका गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।
बाढीपहिरोबाट सबैभन्दा बढी स्याङ्जामा ४ महिला, एक पुरुष र एक बालिका गरी ६ जनाको मृत्यु भएको छ । त्यसैगरी लमजुङमा एक पुरुष, एक महिला, एक बालिका र २ बालक गरी ५ जनाको मृत्यु भएको छ । तनहुँमा २ पुरुष र २ महिला गरी ४ जनाको मृत्यु भएको छ भने कास्कीमा एक बालक र एक बालिका गरी २, बागलुङमा एक पुरुष र एक महिला गरी २ र पर्वतमा २ पुरुषको मृत्यु भएको छ । नवलपुरमा चट्याङबाट एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै तनहुँमा चट्याङबाट २ र बाढीपहिरोबाट ६ जना गरी ८ घाईते भएका छन । लमजुङमा पहिरो र चट्याङमा परी ४ पुरुष घाईते भएका छन भने कास्कीमा २ महिला, स्याङमा ६ जना घाईत भएका छन । यसअवघिमा भएको विपद्जन्य घटनामा भएको भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको रेग्मीले बताए ।
यस्तो छ २०८१ असार १२ देखि २४ गतेसम्म गण्डकी प्रदेशमा भएको विपद्जन्य घटनाबाट भएको क्षती






