पोखरा/मंगलबार रातीको भारी वर्षाले पोखरा १९, तल्लकोट टारीमा सामान्य पहिरो झ¥यो । सुरक्षित मानिएको उक्त ठाउँमा एक्कासी बारीबाट पहिरो खसेको थियो । टारीमात्र होइन, पुरन्चौरका विभिन्न स्थानमा पहिरो खसेको थियो । तर, टारीमा भने घरकै माथिल्लो भागमा पहिरो गएका कारण जोखिम बढी देखिएको थियो ।
स्थानीयले जोखिम देखेरै कुलबहादुर परियारलाई सो घरमा नबस्न सुझावसमेत दिएका थिए । असार २५ गते राति परेको भारी वर्षापछि खसेको पहिरो पन्छ्याउन २७ गते अर्थात बिहीबार कुलबहादुरका छोरी–ज्वाइँ समेत पुगेका थिए । रातको समयसमेत स्थानीयले घरमा खाना खाए पनि नसुत्न आग्रह गरेका थिए तर सबै परिवार एक ठाउँमा भेट भएपछि उनीहरु घरमै हाँसीखुसी बसे ।
बिहीबार नै पहिरो पन्छ्याउने जस्तो स्थिति नदेखेपछि शुक्रबार पहिरो पन्छ्याउने योजनामा उनीहरु थिए । तर, उनीहरुको योजना योजनामै सीमित भयो । अचानक पुनः पहिरो गएपछि परिवारमा रहेका सात जनामध्ये ६ जनाको ज्यान गयो । एक जना बाँचे । छोरी प्रभा परियारले करिब एक वर्षअघि मात्रै विहे गरेकी थिइन् । २० वर्षीया प्रभा र उनका श्रीमान २५ वर्षीय अस्मित परियार घरमाथि पहिरो गएको खबर पाएपछि नै त्यहाँ पुगेका थिए । तर, उनीहरुसँगै ४६ वर्षीय कुलबहादुर परियार, उनकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्ष्मी परियार र १५ वर्षकी प्रशना परियारको मृत्यु भएको हो । सोही क्रममा उद्दार गर्ने क्रममा ५६ वर्षीया राधिका परियारकोसमेत मृत्यु भएको छ । उद्धारको क्रममा लडी उनको मृत्यु भएको प्रहरीले बताएको छ । सोही क्रममा १७ वर्षका पवन परियार (छोरा) भने बाँच्न सफल भएका छन् । उनीहरुको उद्दार गर्ने क्रममा ३२ वर्षीय कुमार परियार (मृतक कुलबहादुरको दाइको छोरा) घाइते भएका छन् ।
कुलबहादुरका दाइ भोजे दमैले पहिरोको जोखिमपछि घरमा नबस्न छिमेकीले भन्दा नमानेपछि घटना भएको बताए । उनले आफ्नो श्रीमतीसहित आमा र भाइको परिवारको मृत्यु भएको सुनाए । ‘मेरो गुँड पनि भत्किएको छ । श्रीमती विरामी थिइन् । राति अचानक गड्याङ्ग भयो । माथि भाइ–बुहारी हुन्, ज्वाइँ–छोरी हिजो आएका हुन् । म कान्छाको छोरी ऊ जेठाको छोरा हो,’ उनले भने, ‘उनीहरुका परिवार पाँच जना मेरी श्रीमती गरी ५ जना र आमा गरी सात जनाको मृत्यु भएको हो । सबैले यहाँ नबस्– नबस् भनेकै थिए । त्यस्तो कुरा नमान्नाले यस्तो घटना भयो ।’
स्थानीय भरतराज आचार्यले पहिरो जानका कारण हिउँदमा सुख्खा खडेरी हुनु र अहिले ठूलो वर्षा हुनु रहेको बताए । उनका अनुसार यसपटक उक्त क्षेत्रमा अचानक मुल फुटेको थियो । ‘पहिरो जाने संकेट पहिला नै देखिएको रहेछ । हुन त, यहाँमाथि सामान्य पहिरो गएको थियो । त्यसपछि हामीले नै यहाँ नबस्न र सर्न भनेका थियौं । अचानक मुल फुटेको थियो,’ उनले सुनाए, ‘पानीको भेल नआउने होइन, पहिला पहिला पनि आउने गरेको थियो तर त्यो भेल आउने ठाउँ फरक थियो । जोखिमलाई हेरेर भनेको मानेको भए यति ठूलो जनको क्षति हुने थिएन ।’
पोखरा महानगरपालिकाका वडा सदस्य तथा उद्दारमा खटिएका विकासकुमार आचार्यले घटना बिहिबार राती १० बजेर १२ मिनेट जाँदा भएको सुनाए । उनले घरमा खाना पकाएर खाए पनि सुत्नका लागि भने छिमेकीकैमा जान आग्रह गरेका थिए । त्यतिमात्र होइन, उनले सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै छिमेकीको घर खतरामा रहेको भनी सचेत गराउने कामसमेत गरेका थिए । तर, कुलबहादुरको परिवारले घर नछाड्दा ठूलो घटना घटेको हो । ‘मैले साढे ६ बजे त्यो घरमा पुगेर भनेको थिए, यहाँ खाना खानुस् तर नबस्नुस । कहाँ हुन्छ ? त्यहाँ बरु बस्ने व्यवस्था गरौँला पनि भनेको थिएँ । पछि म फर्केर आएँ,’ उनले भने, ‘राति अचानक घम¥याङ्ग गरेको आवाज आयो म त त्यही घरमा पहिरो खस्यो भनेर गएँ । जाँदा सबै पुरिएको थियो । आलोमै निकाल्न सकिन्छ भन्ने लागेर निकाल्ने कोसिस पनि गरेका थियौँ तर पहिरो फेरि आएपछि भागाभाग भयो ।’ उनले उक्त स्थानमा आफूले मात्र नभइ आफ्ना बाउबाजेले समेत पहिरोको सामना अहिलेसम्म नगरेको सुनाए ।
यता, पोखरा महानगरपालिका ३२, चैनपुर बाह्रबीसेमा पहिरोले तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । राति सुतिरहेको अवस्थामा ४० वर्षिय आरती ओझाको ढुङ्गा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरमा पछाडीबाट पहिरो आउँदा आरतीको दुई छोरी र उनको दाईको छोराको मृत्यु भएको हो । उनको छोरी १९ वर्षीय अनिता ओझा, ११ वर्षकी अनुष्का ओझा र उनको दाइको छोरा ९ वर्षका प्रतिक सुवेदीको मृत्यु भएको हो । आरती भने घाइते छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
यस्तै, कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्लेमा पहिरोको कारण ८० वर्षिय माईती कुमारी गुरुङको मृत्यु भएको छ । ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले कच्ची घर अबिरल बर्षाको कारण घर माथिबाट पहिरो आउँदा उनको मृत्यु भएको हो । उनको छोरा अन्दाजी ५५ वर्षीय ओमबहादुर गुरुङको सकुशल उद्दार गरेको प्रहरीले बताएको छ ।





