पोखरा/मनसुन सक्रिय हुन नपाउँदै कास्कीमा विपदका घटनाहरु घट्न थालेका छन् । मनसुन सुरु भएयता बाढीका चार, पहिरो २४, डुवान ६ र कटानका ३ घटना भए । यी ठूला र क्षति पु¥याएका घटना हुन् । मनसुन सुरुभएपछि कास्कीमा कुल १४ जनाले ज्यान गुमाए । ती सबैले पहिरोका कारण ज्यान गुमाउनेको संख्या हो । पहिरोको कारण असार १२ गते पोखरा २७ आरुपाटामा अनमोल सुनार (३वर्ष), मादी ५ मा आयुष्मा रानाभाट (१३वर्ष) को मृत्यु भयो । असार २५ गते पोखरा २७ सहेलीमा भीमबहादुर थापा (२२वर्ष) को मृत्यु भयो । यस्तै २९ गते पोखरा १९ तल्लकोट टारीमा पहिरोले घर पुरिदाँ एकै परिवारका ६ सहित सात जनाको मृत्यु भयो । कुलबहादुर परियार (४६वर्ष), उनकी श्रीमती मनकुमारी परियार (४३वर्ष), आमा लक्ष्मी परियार (८५वर्ष), छोरी प्रशना परियार(१५वर्ष), छोरी प्रभा परियार (२०वर्ष), ज्वाइँ अस्मित परियारको (२५वर्ष) मृत्यु भयो । सोही पहिरोमा राधिका परियार (कुलबहदुरको भाउजु) उद्दारको क्रममा लड्दा मृत्यु भयो ।
पोखरा ३२ मा अनिता ओझा (१८वर्ष), प्रतिक सुवेदी (९वर्ष), अनुष्का ओझा (११वर्ष) को मृत्यु भयो । यस्तै मादी गाउँपालिका ११ मा माइती री गुरुङ (८०वर्ष) को पहिरोको कारण मृत्यु भयो । यस्तै कास्कीमा ६ वटा घरमा पुर्ण रुपमा क्षती गरेको छ । पोखरा २७ मा दुई, मादी वडा नम्बर ५, पोखरा वडा नम्बर ११, १९ र ३२ मा एक–एक घरमा पुर्णरुपमा क्षति भएको हो । यस्तै कास्कीमा १० घरमा आंशिक क्षति गरेको छ । यी सबै सडक आसपासका घरहरु हुन् । सडक आसपास रहेको अधिकांश कच्चीघरमा क्षति गर्दा मानवीय क्षति भएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष भरतमणि पाण्डेले अहिले घटेका घटनामा सडक आसपासकै घरहरु देखिएको बताए । उनले सडक छेउछाउकै बस्ती जोखिम देखिएकाले सचेत रहन आग्रह गरे ।
‘अहिले कास्कीमा पहिरोको घटनाक्रम हेर्दा सडक छेउ र सडक आसपासका घरहरु नै पहिरोको जोखिममा परेको स्थिति छ । हामीले सामान्य आँकलन गर्दा समेत यो स्थिति देखिएको छ र घटनाभएका स्थलले पनि त्यही बताउँछ । यो किन भइरहेको छ भन्ने यत्तिकै भन्न सकिने स्थिति छैन,’ उनले भने, ‘सडक साइडका घरहरु जोखिममा देखिएको छ । सम्भवाना कम भएका ठाउँमा समेत जोखिम देखियो ।’
जल तथा मौसम विभागले सार्वजानिक गरेको एक तथ्यांक अनुसार गण्डकी प्रदेश औसतभन्दा बढी वर्षा हुने आँकलन छ । त्यसमा कास्की पनि अछुतो छैन् । विभागले सार्वजनिक गरेको उक्त औसतभन्दा बढी वर्षा हुनेभएपछि कास्कीमा केसलोड ( प्रभावित ) हुने व्यक्ति चार हजार नौ सय ५६ जना रहेको आँकलन छ । गण्डकी प्रदेशमा कास्की समग्रमा तेस्रो स्थानमा रहेको छ । गण्डकीमा वर्षाका कारण एक लाख १० हजार पाँच सय ५४ जना व्यक्ति प्रभावित हुने आँकलन रहेको छ । तर, जिल्ला विपद् व्यवस्थापन समिति कास्कीले भने पाँच हजार घर परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने र उद्दार तथा राहत दिनुपर्ने एक हजार केशलोडको आँकलन गरेको छ ।
कास्कीमा अहिले विपद्बाट घटेका घटनाले अझै पनि निकै जोखिममा रहेको देखाएको छ । वर्षा वा झरी कम भएमा ढुक्क हुने स्थितिमा कास्की अझै छैन त्यसै कारण जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार मात्रै एक सूचना जारी गर्दै नदीनालाको तटीय क्षेत्र रहेका तथा पहिरोको उच्च जोखिम देखिएका ठाउँका व्यक्तिहरुलाई सुरक्षित आश्रय स्थलहरुमा गइ उच्च सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले भारी वर्षा हुने सम्भावना रहेको र वर्षाको पानी कास्कीको माटोले सोसेकाले पहिरोको जोखिम बढिरहेको छ । यो जोखिमबाट मानवीय क्षति हुन नदिन नागरिक स्वयम् नै सचेत हुनुबाहेक अन्य विकल्प नरहेको र जिल्ला विपत् व्यवस्थापनको शुक्रबारको बैठकले कास्कीका सबै पालिकामा सचेतनाका लागि प्रचारप्रसारका गतिविधिहरु सुरु गरेको सुनाए ।





