बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका सभामुखलाई सञ्चार विज्ञको सुविधा थप

गण्डकीका सभामुखलाई सञ्चार विज्ञको सुविधा थप

अनुसूची संशोधन गर्न पाउने अधिकारलाई लिएर गण्डकीमा पटकपटक सुविधा थप


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार

पोखरा/सरकारले ‘गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन, २०७४’ को अनुसूची संशोधन गरेर नयाँ पद सिर्जना गरेको छ । गण्डकीका सभामुखलाई थप सुविधा उपलब्ध गराउन ऐन संशोधनको निर्णय मन्त्रिपरिषदले गरेको हो ।
यसअघि राजपत्राङ्कित तृतीय श्रेणीको स्वकीय सचिव १ जना, राजपत्र अनंकित प्रथम श्रेणीको स्वकीय सचिव १ जना र कार्यालय सहयोगीको सुविधा सभामुखले पाउँथे । तर, अहिले आएर सरकारले राजपत्राङ्कित तृतीय श्रेणीको पद सिर्जना गरेर सभामुखलाई सञ्चार विज्ञको सुविधा दिइएको हो ।
गण्डकीमा सभामुख कृष्णप्रसाद धिताल छन् । उनकै आग्रह अनुसार सरकारले ऐनको अनुसूची संशोधन गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङले जानकारी दिए । मन्त्रिपरिषदले उक्त ऐनको अनुसूची २ मा संशोधन गरिएको जानकारी उनले दिए ।
राजपत्रमा प्रकाशित अनुसूची अनुसार सभामुख धितालले आफ्नो सचिवालयमा सञ्चार विज्ञ थप गर्न पाउने छन् । गतवर्ष मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त भएको दुई हप्तामै ऐनको अनुसूची सच्याएर चालकको सुविधा लिने निर्णय गरेका थिए ।
२०८० वैशाख १४ गते पहिलोपटक नियुक्त भएका पाण्डेले २८ गते मन्त्रिपरिषद बैठकबाट चालक सुविधा थपेका थिए । मुख्यमन्त्रीको सचिवालयले प्राप्त गर्ने सुविधामा ३ जना स्वकीय सचिव, २ जना कार्यालय सहायक पाउने व्यवस्था थियो । राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची हेरफेर गर्दै १ जना हलुका सवारी चालक पनि थपिएको हो ।
प्रदेश सभाले मात्रै कुनै पनि ऐन संशोधन गर्न सक्छ । तर, ऐनको अनुसूची भने मन्त्रिपरिषदले नै संशोधन गर्न सक्छ । अनुसूची संशोधन गर्न पाउने अधिकारलाई लिएर गण्डकीमा पटकपटक सुविधा थपका निर्णयहरु हुने गरेका छन् ।
२०७८ असोजमा तत्कालीन कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले सरकार टिकाउनका लागि साना दलले पाउने सुविधामा पनि व्यापक बढोत्तरी गरेका थिए । त्यतिबेला प्रदेश सभामा १० प्रतिशत सदस्य नहुने दलले संसदीय दलको मान्यता नै नपाउने गरि थ्रेसहोल्डको व्यवस्था थियो । संसदीय दलको मान्यता नपाएपछि उनीहरुले पाउने सेवासुविधा पनि थोरै थियो ।
थ्रेसहोल्ड हटाउनेदेखि अन्य थुप्रै लाभका पद पनि सिर्जना र सुविधा थप उक्त सरकारले गरेको थियो । प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुखलाई थप एक÷एक जना पिएको सुविधा दिनेगरी ऐन संशोधन गरिएको थियो । दलका उपनेता, दलका सचेतक भन्ने नयाँ अनुसूची थपेर सुविधा लिन उक्त ऐन संशोधन गरिएको थियो ।
त्यति नै बेला सभामुखदेखि सांसदसम्मको सुविधा २ हजार रुपैयाँले बढाइयो । त्यतिबेला संशोधित ऐन अनुसार अहिले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुले सुविधा लिँदै आएका छन् । मासिक ५२ हजार २ सय रुपैयाँ पारिश्रमिक पाउने सांसदको तलब बढाएर ५४ हजार २ सय रुपैयाँ पुर्याइएको हो । संघीय सरकारले चालु आर्थिक वर्षमा सबैको तलब २ हजार रुपैयाँले बढाएको भन्दै यहाँ सांसदको सुविधा पनि सोही अनुपातमा बढाइएको हो ।
दलका सचेतकले ५६ हजार ५ सय २० रुपैयाँ, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक, समितिका सभापति, दलका प्रमुख सचेतकले मासिक ५८ हजार ८ सय ४०, दलको उपनेताले पनि ५८ हजार ५ सय ४० रुपैयाँ पाउँछन् ।
संसदीय दलका नेताले चाहिँ ५९ हजार ५ सय, उपसभामुख र विपक्षी दलका नेताले ६० तथा सभामुखले मासिक ६३ हजार ४ सय ८० रुपैयाँ लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->