पाेखरा/ घटना १– १०, ११ र १३ वर्षका एक बालक र २ बालिकासहित ईजरायलका पुरुष र कोस्टारिकाकी महिला । परिवारको शैलीमा पोखरामा बस्दै आएका । ती बालबालिका उनीहरुका सन्तान होइनन । नत पुरुष र महिला श्रीमान् श्रीमती नै थिए ।
घटना २– बेलायतका ५३ वर्षीय पुरुष एलेक्स नेपालीको नाममा पोखराको लेकसाइडमा बस्दै आएका थिए । उनले आफ्नो वास्तविक नाम भने बताएनन् । पढ्न आएको भने पनि उनीसंग कुनै विवरण र कागजात थिएन ।
घटना ३– कंगोका ३० वर्षीय युवा नेपाली युवतीलाई गर्लफ्रेन्ड बनाएर २ वर्षदेखि अवैधरुपमा पोखरामा बस्दै आएका थिए । उनले पेन्टिङको काम गर्थे ।
उनीहरुसहित अवैधरुपमा पोखरामा बस्दै आएका १२ विदेशी नागरिकलाई हालैमात्र पक्राउ गरी अध्यागमन विभाग काठमाडौं पठाइको छ ।
यी प्रतिनिधिमुलक पात्र र प्रवृत्तीमात्र हुन । पर्यटक भिसामा आएका विदेशी नागरिकहरु बसाइ अवधि सकिए पनि पोखरामा केकसरी अवैधरुपमा (ओभरस्टे) बस्दा रहेछन भन्ने माथिका उदाहरणले पुष्टी गर्छ । पर्यटकीय शहर पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै जाँदा विभिन्न भेष र बहानामा गैरकानुनीरुपमा बस्ने पर्यटकहरु पनि भेटिने गरेका छन । अध्यागमन विभाग, स्थानीय प्रशासन र प्रहरीले प्रभावकारी अनुगमन नगर्दा अवैधरुपमा पर्यटकहरु बस्दै आएका छन । नेपाल भित्रिने पर्यटक कहाँ गएर के गर्छ र कहिले फर्किन्छ भन्ने जानकारीका लागि प्रभावकारी संयन्त्र नहुँदा यस्ता पर्यटकले फाईदा उठाउने गरेका छन ।
पर्यटक प्रहरी कार्यालय पोखराका अनुसार पछिल्लो ५ वर्षको अवधिमा ३२ जना अवैध पर्यटकलाई समातेर अध्यागमन विभाग हुदै सम्बन्धित देशमा फिर्ता पठाइएको छ । तर योनै आधिकारीक तथ्यांक भने होइन । किनकी २०७७ को साउनदेखि चैतसम्ममात्र १९ जना अवैधरुपमा बसेका विदेशी नागरिकलाई फिर्ता पठाइएको थियो । पर्यटक प्रहरीको तथ्यांकमा यो संख्या समावेश छैन । अध्यागमन कार्यालय पोखरामा पनि वार्षिक केकति अवैध पर्यटक समातिन्छन भन्ने यकिन तथ्यांक छैन । विभिन्न शंकाका आधारमा प्रहरीले विदेशी नागरिकलाई समात्ने गरेको छ । प्रभावकारी अनुगमन गर्ने हो भने ठुलै संख्यामा अवैध पर्यटक पोखरा र आसपासका क्षेत्रमा बसेको अनुमान गर्न सकिन्छ । जोखिम क्षेत्रको पहिचान र अनुगमनविनै यति धेरै विदेशी समातिनुले एउटा समस्याको रुपमा रहेको सहजै अनुमान गर्न सकिने सरोकारवाला बताउँछन ।
अध्यागमन कार्यालय पोखराका प्रमुख नवराज शर्मा दोरङ्गाका अनुसार विशेष गरी आर्थिक अवस्था कमजोर भएका पर्यटकले सस्तो बसाईका कारण ओभरस्टे गरेको देखिन्छ । पोखरा र आसपासको प्राकृतिक सुन्दरताबाट पनि मोहित भएर उनीहरु आफ्नो देश फर्कन नचाहेको देखिने उनले बताए । ‘अनुगमन संयन्त्र कमजोर र हाम्रो भौगोलिक अवस्था पनि थाहा पाउने पर्यटक जो पटकपटक नेपाल आउँछन, उनीहरुले भिसा अपडेट गरेको पाइएन’ उनले भने । अध्यागमन कार्यालयले पर्यटक प्रहरीसंग सहकार्य गरी ओभरस्टे गरेका विदेशीलाई समाएर अध्यागमन विभागमा पठाउछ । घटना विशेषसंग जोडिएर समातिएमात्र ओभरस्टेबारे थाहाँ लाग्छ । अभियानका रुपमा अनुगमन भएमा ओभरस्टे बस्नेहरु सहजै पक्राउ पर्ने सरोकारवाला बताउँछन ।
कतिपय पर्यटक भारतसंगको खुला सिमानाबाट विना कागजात नेपाल भित्रिने गर्छन । एउटा उद्देश्यको भिसामा नेपाल आएर अरु काम गर्ने, अवैधरुपमा बस्ने र विभिन्न गैरकानुनी काममा संलग्न हुने गर्छन । भिसा अपडेट गर्ने पर्यटकले सडकमा पैसा उठाउने, जोगीको भेषमा हिड्ने, विभिन्न कला देखाएजस्तो काम गर्छन । साथै लागुऔषधको कारोबार, सहयोगका नाममा धर्म प्रचार, जडीबुटी, पुरातात्विक सम्पदा र ओखटेपहराको ओसारपसार, बालबालिका ओसारपसार तथा यौन दुव्र्यवहार, किर्ते कागजात, कल वाइपास, अवैध विदेशी मुद्रा चोरी तथा हुण्डीको कारोवारमार्फत नेपालको अर्थतन्त्रलाई नकरात्मक असर पु¥याउने काममा पनि संलग्न हुनसक्ने पर्यटन क्षेत्रका व्यक्तित्व आशंका गर्छन । यस्तो आशंका दोरङ्गाको पनि छ । तर यसको बिस्तृत अध्ययन भने नभएको उनले बताए । पक्राउ परेकाले सही सूचना दिदैनन् ।
पोखरा पर्यटक प्रहरीको अनुभवमा भिसा अवधि सकिएको, भिसा प्रयोजनविपरित काम गरेका, लुकीछिपी बस्ने, नेपाली युवती विहे गरेर यतै बस्ने, कम खर्चमा होमस्टेमा बस्न पाइने भएकाले ग्रामीण क्षेत्रमा बस्ने गरेको पाइएको छ । कतिपय गाउँका छाडेका घरमा पनि भिसा अपडेट नभएका पर्यटक बस्ने गरेको पाइएको पर्यटक प्रहरीका निरीक्षक जगदीश रेग्मी बताउँछन । ‘कतिपयको खर्च सकिएर पनि अवैधरुपमा बस्ने गरेका छन’ उनले भने । प्रयाप्त जनशक्ति नभएको र भाषा पनि नबुझ्ने समस्या उनले सुनाए । पोखरामा २०६४ मा पर्यटक प्रहरी स्थापना भएको हो । अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटी, घान्द्रुक र माछापुच्छ्रे गाउँपालिकाको धम्पुस पोष्टमा २÷२ जना प्रहरी खटिएका छन् । भाषामा राम्रो ज्ञान भएको दक्ष जनशक्तिको अभाव छ । रुस, चीन, कोरिया, जापानलगायतका विदेशीसँग दोहोरो संवाद गर्न अप्ठेरो हुन्छ । जनशक्ति अभावमा पनि सोचे अनुसार काम गर्न नसकिएको प्रहरीको भनाई छ ।
पोखराको लेकसाइड क्षेत्र, खपौंदी, पामेलगायत अन्य होमस्टे संचालन भएका गाउँहरुमा अवैध पर्यटक बसेको हुनसक्ने पर्यटक प्रहरीको अनुमान छ । पर्यटकीय चहलपहल हुने भन्दा ग्रामीण क्षेत्रमा बढीमात्रामा अवैध पर्यटक हुनसक्ने रेग्मी बताउँछन । उनले भने, ‘हामीले थाहा पाएजतिलाई पक्राउ गरेका छौ । प्रभावकारी अनुगमनको संयन्त्र नहुँदा केकति मात्रामा यस्ता पर्यटक छन भन्ने यकिन गर्न गाह्रो छ ।’ अध्यागमन कानुन अनुसार कुनै पनि विदेशी नागरिक नेपालमा १ सय ५० दिनभन्दा बढी बस्न पाउदैन । काम गर्नुपरे उनीहरुले श्रम स्वीकृति लिनुपर्छ वा जुन प्रयोजनले आएको हो सोही अनुसार स्वीकृति लिएमात्रै बस्न पाइन्छ । भिसा गुजारेर अवैधरुपमा बस्ने विदेशी पर्यटकलाई अध्यागमन विभागले जरीवाना तोक्छ । जरीवाना तिरेकालाई तत्कालै सम्बन्धित देशमा पठाइन्छ भने तिर्न नसक्ने कारागार चलान पनि हुन्छन ।
बिना अनुमति हिमाली तथा अन्य क्षेत्रमा घुम्न जाने र उनीहरु त्यतै हराउने पनि समस्याका रुपमा देखा परेको छ । उपल्लो मुस्ताङमा पर्वतारोही भएर जानेर घुमेर आउने, भिक्षु र जोगी बनेरसमेत निशेधित क्षेत्रमा जाने गरेका छन । विना स्वीकृति मुस्ताङको निषेधित क्षेत्रमा पुगेका ६ भारतीयलाई अध्यागमन कार्यालय पोखराले हालैमात्र पक्राउ गरी फिर्ता पठाएको थियो ।
स्थानीय तहले सबै होटललाई अनिवार्यरुपमा विदेशीको विस्तृत जानकारीसहितको विवरण राख्न लगाउने, लामो सयम बस्ने पर्यटकको निगरानी गर्नुपर्ने, सहयोेग गर्न आएकालाई बसाइ अवधि र प्रयोजनको विवरण पेश गर्न लगाउनु पर्ने देखिन्छ । एउटा भिसामा आएर अर्को काम गरेमा प्रशासनलाई खबर गर्नुपर्ने कार्यालयको भनाइ छ । त्यसैगरी पर्यटकलाई अध्यागमन कानुनबारे जानकारी दिने, पर्यटकको नेपालको भिसा भए नभएको एकिन गर्ने, भिसा नियमित नभएको पाएमा प्रहरीलाई खबर गर्नुपर्ने निजी क्षेत्रसंग कार्यालयको अपेक्षा छ । नियमित भिसा भएको यकिन गरेरमात्र बास दिने, संकास्पद गतिविधिमा संलग्न रहेको पाएमा जानकारी गराउने, श्रम इजाजत नलिएकालाई काममा लगाउन नहुने पनि कार्यालयले जनाएको छ ।





