बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

संघीय मन्त्री गुरुङ र भट्टराई को हुन ?

संघीय मन्त्री गुरुङ र भट्टराई को हुन ?


  • ढोरपाटन संवाददाता
  • असार ३२ २०८१, सोमबार
नवनियुक्त मन्त्री पृथ्वीसुव्वा गुरुङ

पोखरा/ नवगठित मन्त्रीपरिषद्मा नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशका दुई जना मन्त्री बन्न सफल भएका छन । एमाले उपमहासचिव एवं लमजुङबाट निर्वाचित पृथ्वीसुव्वा गुरुङ र कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित विद्या भट्टराई क्रमशः संचार तथा सूचना प्रविधि मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन ।

मुख्यमन्त्री हुँदै संघीय मन्त्रीमा गुरुङ

लमजुङमा पृथ्वीसुव्वा गुरुङलाई ‘मुखिया’ भनेर बोलाउँछन । गुरुङ समुदायमा गन्यमान्य तथा उपल्लो दर्जामा रहेको जेठो छोरालाई मुखिया भन्ने चलन छ । अमृत साइन्स क्याम्पसमा २०३४ मा विएस्सीको पढाई सकेर आफ्नै गाउँ हाल क्व्होलासोंथर गाउँपालिका–९ गिलुङमा रहेको हालको बुद्धोदय माविमा उनी प्रधानाध्यापक बन्न आएका थिए । झन्डै ७ बर्ष प्रधानाध्यापक भए । बिज्ञान विषय पढाउथे । तर बिचैमा राजिनामा दिएर २०४३ को निर्वाचनमा उनी जनपक्षीय उम्मेदवार बनेर होमिए ।

२०२७ मा ईशानेश्वरस्थित प्रमोद हाईस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियू सचिवमा निर्वाचित भएदेखि राजनीतिमा लागेका थिए पृथ्वीसुव्वा । २०६४ को संविधान सभा निर्वाचनमा उनी लमजुङबाट बिजयी भएका थिए । ०७० को निर्वाचनमा भने उनी पराजित भए । शान्ति स्थापनापछिको विधायिका सांसद हुँदा १८ महिना पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । ०४३ यता एमाले लमजुङ क्षेत्र नं. २ (हाल प्रदेश ख) मा हरेक चुनावका एक्ला उम्मेदवारको रुपमा प्रस्तुत हुदै आएका छन । जिल्लाको विकासका लागि उनी सधैं खटिने नेता हुन् । पञ्चायतमै राजनीतिमा होमिएका उनले बहुदल, लोकतन्त्र, गणतन्त्र भोगे । देश संघीयतामा गएसंगै गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बन्न सफल भए २०७४ को निर्वाचनपछि । गुरुङ २०७९ बैशाखमा भएको निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराएका हुन उनले । उनी प्रदेशमा आएर फेरी मुख्यमन्त्री बन्न चाहन्थे । तर पार्टीले संघमा टिकट दिएको थियो ।

पञ्चायविरुद्ध लाग्दा ३ महिना बढी उनी कारागारमा बसे । पहिलो संविधानसभामा (२०६५–०६९) मा शासकीय स्वरुप निर्धारण समितिको सदस्य र व्यवस्थापिका संसदमा प्राकृतिक स्रोत साधन समितिको सदस्य भएर काम गरेका थिए । साथै संविधान सभा निर्वाचनपछि प्रतिनिधि सभामा आदिवासी जनजाति सांसदहरुको समूह ९ककस० को अध्यक्ष बनेका थिए ।

२०१४ फागुन २ मा जन्मिएका उनी २०३५ सालमा मध्य–उत्तर इलाका पार्टी सक्रिय दल नेकपा (माले) लमजुङको सदस्यको रुपमा संगठित भए । २०३६ सालमा नेकपा (माले) पश्चिमोत्तर इलाका पार्टी सक्रिय दल लमजुङको सदस्य बने । २०३७ साल फागुन ७ गते नेकपा (माले) को पार्टी सदस्यता प्राप्त गरे । २०४० बैशाखमा नेकपा (माले) जिल्ला संगठन कमिटीको सदस्य बने । २०४८ फागुन ९–१० को प्रथम जिल्ला अधिवेशनबाट नेकपा (एमाले) जिल्ला कमिटी सचिवमा निर्वाचित भए । २०५१ फागुन १०–११ को दोस्रो जिल्ला अधिवेशनबाट निर्विरोध जिल्ला सचिवमा पुनः निर्वाचित भए । २०५४ माघ ९–१४ मा नेपालगञ्जमा सम्पन्न पार्टीको छैटौं महाधिवेशनबाट नेकपा (एमाले) केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भए । २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव, २०६० मा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनित भए । २०६१ देखि २०७० सम्म केन्द्रीय जातिय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हाले । २०६१ देखि २०७० सम्म आदिवासी–जनजाति फाँट इञ्चार्जको रुपमा काम गरे । २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए। २०६५ मा पार्टी पोलिटव्यूरो सदस्यमा निर्वाचित भए । २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रही काम गरे । २०७१ मा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिवमा निर्वाचित भए । २०७२ देखि पार्टीको केन्द्रीय संगठन विभाग प्रमुखको जिम्मेवारीमा थिए । नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा २०३७÷२०३८ मा दुई पटक हिरासतमा बसे । २०४०÷२०४१ को शिक्षक संघर्षमा १४ दिन प्रहरी हिरासतमा बसे । २०४०÷२०४१ को शिक्षक संघर्षको सफल नेतृत्व उनले गरेका थिए । २०३८ सालमा नेकपा (एमाले) इलाका पार्टी संगठन कमिटीको तर्फबाट टक्सारमा ज्याला वृद्धिको लागि हली हड्तालको नेतृत्व उनले गरेका थिए । २०३९ सालमा कृषि मजदुरहरुको ज्याला वृद्धिको लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरेका थिए । २०४१ देखि २०४४ साल सम्म घरवार विहिन किसान, सिकर्मी, डकर्मीहरुको घर निर्माण गर्न घर निर्माण सहकारी सञ्चालन गरी २५ वटा घर निर्माण गर्ने कामको वैचारिक नेतृत्व गरेका थिए । २०४१ सालमा नेकपा (माले) लमजुङ जिल्लाको प्रतिरोधीदलको राजनीतिक कमिसारको जिम्मेवारी बहन गरे । २०४५ सालमा नेकपा (माले) द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्षको लागि गठित संयुक्त संघर्ष समिति, नेकपा (माले) लमजुङको संयोजकको भूमिका निर्वाह गरे । २०४६ सालमा पञ्चायती व्यवस्था विरोधी संयुक्त जनाआन्दोलन लमजुङमा संयोजकको भूमिका निर्वाह गरे । २०४७ मा नेकपा (माले) को तर्फबाट नेकपा (माले) र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजक भई काम गरे । २०४२ असार ७ गते पक्राउ परी १ सय दिन प्रहरी हिरासत सहित ११ महिना शान्ति सुरक्षा ऐन अन्तरगत लमजुङ कारावासमा थुनामा रहे । कारावासमा रहेर नै रापस जनपक्षीय उम्मेदवार भै भण्डारफोन अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गरे ।

गुरुङ २०७४ माघ २९ मा गण्डकी प्रदेश सरकारको संस्थापक मुख्यमन्त्री बनेका थिए । नेकपामा आएको खटपटपछि माओवादी केन्द्र समर्थित सांसदहरुले समर्थन फिर्ता लिँदा उनी २०७८ जेठ २७ गते पदमुक्त भएका थिए ।
पार्टीभित्र स्पष्ट र बैचारिक नेतामा गनिने गुरुङ संघीयता पक्षधर हुन् । संघले प्रदेशलाई अधिकारविहीन बनाएको भन्दै उनी मुख्यमन्त्री भएका बेला सातै प्रदेशका मुख्यमन्त्रीको भेला गराएर संघबिरुद्ध उत्रिएका थिए । आफ्नै नेतृत्वलाई पनि उनले खबरदारी गरेका थिए । इतिहास र दर्शनशास्त्रको अध्ययनमा रुची भएका उनी खेल, गीत र संगीतमा पनि विशेष रुची राख्छन । मातृभाषा गुरुङ, नेपाली र अंग्रेजी भाषामा पोख्त छन् । उनले भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर, हङकङ, मकाउ, चीन, उत्तर कोरिया, जापान, अमेरिका, स्पेन, स्वीडेन, डेनमार्क, नेदरल्याण्ड, नर्वे, संयुक्त अधिराज्य, क्यानाडा, बोलिभिया, ग्वाटेमाला, एलसाल्भाडोर, पेरु, इथिओपिया, बहराइन, कतार, संयुक्त अरव इमिरेट्स, अमेरिकालगायत देशको भ्रमण गरिसकेका छन ।

प्राध्यापन छाडेर राजनीतिमा होमिएकी बिद्या

नवनियुक्त मन्त्री विद्या भट्टराई

२०७५ फागुन १५ गतेअघिसम्म विद्या भट्टराईलाई राजनीतिक नेता र उनका समकक्षी बाहेकले एउटा प्राध्यापकका रुपमा मात्र चिन्दथे । उनी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीकी श्रीमती हुन । राजनीतिमा टाढा रहेर त्रिविमा प्राध्यापन पेशमा सक्रिय थिइन । पति मन्त्री भए पनि उनले आफ्नो काम छोडिनन र पतिको हैसियतको उन्माद पनि देखाइनन । सामाजिक काममा सक्रिय उनले आफ्नो ज्ञान र क्षमता देशभित्र र बाहिर बाँडिरहहिन ।

गृहिणी, सामाजिक अभियन्ता अनि प्राध्यापकका रुपमा सरल जीवनयापन गर्दै आएकी थिइन । अचानक देशको ढुकढुकी बनिरहेका, विकास र समृद्धिको अभियान छेडिरहेका, जस्तासुकै विवाद र आरोपहरुको डटेर सामना गर्ने क्षमता राख्ने जीवनसाथी रवीन्द्रको कार्यक्षेत्रमा रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भयो । त्यसपछि रबिन्द्रले चालेको राजनीतिक अभियान र विकास तथा समृद्धिको यात्रालाई निरन्तरता दिन भन्दै पार्टीले उनलाई राजनीतिमा आउन भन्यो । आफ्नै श्रीमानको क्षेत्रमा भएको उपनिर्वाचनमा पार्टीले उनलाई टिकट दियो र जितिन पनि । त्यसपछि उनको राजनीतिक यात्रा सुरु भयो । त्यतिबेला देशमा नेकपा थियो ।

२०२९ साल कात्तिक २९ गते काठमाडौंमा जन्मिएकी विद्या १२ वर्षको कलिलो उमेरमै राजनीतिमा होमिएकी थिइन । विद्यार्थी राजनीतिमा उचाई चढ्दै गर्दा रवीन्द्र अधिकारीसंग विवाह गरेपछि सक्रिय राजनीतिबाट विश्राम लिएर घर–परिवारको जिम्मा लिंदै रवीन्द्रको राजनीतिक यात्रालाई सहज बनाउन पुगिन । पति रवीन्द्रको अकल्पनीय निधनपछि राजनीतिमा सक्रिय बनाउनेबारे कुनै चासो, पदको आकांक्षा उनले राखेकी थिइनन ।

भट्टराई २०४२ सालमा पशुपति मित्र मावि चावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत रहँदाकै अवस्थामा अनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन हाजिरी जवाफ वक्तृत्वकला र वृक्षारोपण आदिमा सक्रिय भएकी थिइन । २०४५ सालमा भारतले लगाएको नाकाबन्दी विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका कार्यक्रममा विभिन्न स्कुलहरुमा विद्यार्थीलाई संगठित गर्ने अभियानमा लाग्दै आफ्नो राजनीतिक चेतलाई निखारेकी उनले २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटिमा आबद्ध हुदै सक्रिय रुपमा सहभागी भएकी थिइन । २०४७ सालमा अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनले काठमाडौंका विभिन्न ठाउँहरुमा महिलालाई संगठित गर्न सक्रिय भइन । सोही वर्ष जनसांस्कृतिक परिवारको सदस्य हुँदै नेकपा (एमाले)को संगठित सदस्य बनिन ।

२०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतमा पोखरामा सम्पन्न एघारौ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८ मा नेकपा (एमाले) वडा कमिटी सदस्य बनेकी थिइन । २०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिएकी थिइन भने २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा सक्रिय भइन । २०५५ मा अनेरास्ववियुको केन्द्रिय सचिव बनिन । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषदको सदस्य भइन । अधिकारीसंग २०५६ साल असार २६ गते जनवादी विवाह भएको थियो । २०५८ मा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन पेशा सुरु गरेकी थिइन ।
भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी भएर मात्र हैन यो देशलाई आवश्यक पर्ने एउटा जनप्रतिनिधिमा हुनुपर्ने सबै क्षमता रहेको राजनीतिक बृत्तमा चर्चा चल्छ । उनको ज्ञान, क्षमता र कार्यशैली अनि नेतृत्व गर्नसक्ने क्षमता र जनतामा भिजेर काम गर्ने कुशलताले नै उनलाई पार्टीले मन्त्रीको जिम्मेवारी दिएको हो । २०७९ को निर्वाचनमा उनी दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन ।

२०६७ देखि २०७० सम्म सार्क स्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था “वियोण्ड वेइजिङ कमिटी”मा कार्यक्रम सयोजकको रुपमा कार्यरत उनले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरिन । त्यसपछि त्रिविको खुल्ला सेवा आयोग परीक्षा पास गरी स्थायी रुपमा उपप्राध्यापक पदमा उत्तीर्ण  भ्इन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->