पोखरा/राजनीति भनेको देखिने–सुनिने कर्ममात्र हैन, परिणाममुखी कर्मले आफूलाई प्रमाणित गर्ने क्षेत्र पनि हो । विद्यार्थीकालदेखि नै राजनीति गरेकी, प्राज्ञिक क्षमताबाट आफूलाई प्रमाणित गरेकी अनि परिवारका खातिर महत्कांक्षालाई चटक्कै छाडेर पर्दापछाडिको भूमिकामा रमाएकी विद्या भट्टराईलाई यो कुरा थाहा नहुने कुरै भएन । त्यसो त, नियतिले अब्बल नेता तथा पति रवीन्द्र अधिकारीलाई नखोजेको भए उनी प्राज्ञिक कर्ममै रमाउन चाहन्थिन् । तर, दुर्भाग्य भयो, पर्यटनमन्त्रीको भूमिकामै रहँदा २०७५ साल फागुन १४ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पति रवीन्द्रको निधन भयो । सहनु नै पथ्र्यो, विद्याले पनि आफूलाई सम्हालिन्÷सहिन् । रवीन्द्रको निधनपछि उनीसामु पुनः सक्रिय राजनीतिमा फर्कने दबाब बढ्यो । सुरुमा आनाकानी गरेकी उनले अन्ततः मातृपार्टी एमालेको निर्णय शिरोपर गरिन् । पति रवीन्द्रका अधुरा सपना पूरा गर्ने अठोटका साथ कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा होमिइन् ।
उपचुनावमा विजयी भएकी उनी २०७९ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भइन् । २०७९ असारमा भट्टराईलाई एमालेले उपसभामुखको उम्मेदवार बनाए पनि उनले सफलता हात पारिनन् । एमालेबाट प्रत्यक्ष चुनाव जित्ने ४ जना महिला सांसदमध्येकी एक उनी संसदमा भने मुखरित भइरहिन् । खासगरी शिक्षा र महिलाका सवालमा उनी तर्कसंगत रुपले प्रस्तुत हुन्थिन् । प्राज्ञिक छविकी उनलाई मंसिरको निर्वाचनलगत्तै बनेको प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउन खोजिएको थियो तर उनी आफैले चासो दिइनन् । अहिले पनि उनी मन्त्री बन्ने दौडधूपमा थिइनन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वको सरकारमा उनलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइयो । उनी प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सदस्य थिइन् ।
समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन गरेकी उनको भूमिका फेरिएको छ । जनताले तर्कमा विश्वास गर्दैनन्, तथ्यमा परिणाम चाहन्छन् । लथालिङ्ग बनेको शिक्षा क्षेत्र सुधार र देशभित्र सर्वसुलभ रुपले गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण, चरम राजनीतिले थलिएका विश्वविद्यालयहरुलाई पुनःजीवन प्रदान गर्न सकेमात्र पनि उनी सफल देखिनेछन् । कुरोको चुरो बुझेकी उनले दृढ इच्छाशक्ति देखाइन् भने त्यो असम्भव पनि छैन ।





