काठमाडौं / अर्थमन्त्री विष्णु पौडेल र उर्जा, जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले उर्जाको प्रयोगलाई वृद्धि गर्दै नविकरणीय उर्जा उत्पादनमा विशेष जोड दिनुपर्ने वताएका छन् । नागरीकको उर्जा अधिकारलाई प्रत्याभुत गराउन नविकरणीय उर्जाको प्रयोगलाई जोड दिनुपर्ने मन्त्रीद्धयको जोड थियो ।
नविकरणीय क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधीहरुसंगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जाको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको पहिचान गरी त्यसको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघ र नेपाल सौर्य विधुत उत्पादन संघको प्रतिनिधिमण्डलसँग मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
‘मिश्रित उर्जा आजको आवश्यकता हो, यसको प्रवद्र्धन गर्न सरकार र नीजि क्षेत्र सहकार्य गरेर अगाडि बढ्नु पर्दछ ।’ अर्थमन्त्री पौडेलले भने, ‘यसका लागि वर्तमान सरकारले आवश्यक कार्यक्रम अगाडि ल्याउनेछ ।’
कार्यक्रममा परिसंघका अध्यक्ष गुणराज ढकालले नविकरणीय ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट नीजि क्षेत्रमैत्री कार्यक्रमको अपेक्षा राखेको वताए । उनले परिसंघ नविकरणीय ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएका वताउदै आफूहरू सरकारसँग सहकार्य गरेर यस क्षेत्रको विकासमा अगाडि बढ्न तयार रहेको बताए। ढकालले अर्थमन्त्री पौडेललाई बधाई दिदै सफल र परिणाममुखी कार्यकालका लागि परिसंघको तर्फबाट शुभकामना दिए ।

सो टोलीले मंगलवार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पनि भेट गरेको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए।
मन्त्री खड्काले नविकरणीय क्षेत्रको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिकाबारे लिखित रूपमै सुझाव उपलब्ध गराउन निजी क्षेत्रलाई आग्रह गरे ।
सो अवसरमा नेपाल सौर्य विधुत उत्पादक संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले देशमा उर्जा क्षेत्रको विकासका लागि नवीकरणीय ऊर्जाको महत्वपूर्ण भूमिका रहेको वताउदै सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
परिसंघका अध्यक्ष ढकालले नविकरणीय ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास ब्यक्त गर्दै मन्त्रीको सफल र परिणामुखी कार्यकालको लागि शुभकामना दिए ।
सो अवसरमा टोलीले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालसँग पनि भेटगरी नविकरणीय ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रका प्राथमिकताका बारेमा ध्यानाकर्षण गराएका थिए ।





