पोखरा/ पोखरामा खोला र तालमा डुबेर २ किशाेर र एक बालक गरी ३ जनाको शुक्रबार ज्यान गएको छ । प्रहरीका अनुसार पोखरा–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा २ जना र पोखरा– २६ गुँदेतालमा एक गरी ३ जनाको ज्यान गएको हो ।
यसरी मृत्यु हुनेमा पोखरा– १ माेहरिया टोलका १८ वर्षीय प्रकृत बुद्धाचार्य र पोखरा–२ बागलुङ बसपार्कका ८ वर्षीय स्वयं ताम्राकार रहेका छन । उनीहरु पौने ४ बजेको समयमा हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । डुबेको सूचना थाहा पाउनसाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली र सशस्त्र प्रहरी बल नं.२४ हेडक्वाटर कालिका गण मालेपाटनबाट उद्दार टोली खटेकाेमा पौने ५ बजेको समयमा दुवैजनालाइ मृत अवस्थामा फेला पारेकाे कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । उनीहरु सहित ६ जना पौडी खेल्न गएकोमा अन्य ४ जना भने सकुशल रहेका छन । घटनाको प्रारम्भिक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी विहीबार दिउँसो सवा ३ बजेको समयमा गुँदेतालमा डुबेर लमजुङको मध्य नेपाल नगरपालिका करापुटार घर भई हाल पोखरा–२६ प्रगतिटोल बस्ने बिकाश परियारको ६ वर्षीय छोरा सचिनको तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सचिन बुवासंग माछा मारेको हेर्न गएकोमा अचानक तालमा डुबिरहेको अवस्थामा निजको बुवा र स्थानियले देखी तत्काल उद्धार गरी उपचारको लागि लेखनाथ सिटी अस्पतालमा ल्याएकोमा ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए





