पोखरा/ गत मंसिर पाँच गते पोखराको नागढुंगास्थित युनिक होटलमा सुकु विकको रहस्यमय मृत्युले कास्की प्रहरीलाई टाउको दुखायो । होटलमा महिला मृत फेला पारेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
प्रारम्भिक रुपमै प्रहरीले हत्याको आशंका गरी अनुसन्धान अघिबढाएको प्रहरीले बागलुङ गलकोट ९ मल्मका सञ्जय विकलाई सुरुवातदेखी नै सर्टलिष्ट ग¥यो । तर, आवश्यक प्रमाण नहुँदा उनलाई पक्राउ गर्न असफल रह्यो । निरन्तर सञ्जय प्रहरीको ट्रयाकमा परेका थिए । तर उनी भारततर्फ गएपछि भने प्रहरीले पक्राउ गर्न सकेन । अनुसन्धान जारी रह्यो बीचमा सञ्जय पुनः नेपाल फर्र्किको कुरा समेत प्रहरीले चाल पायो तैपनि उनी फुत्किए । हत्यापश्चात संजयले सुकुको साथमा रहेको मोबाइल (आइफोन), सुनको औंठी पनि लगेका थिए । प्रहरीसँग फरार संजयको हुलिया सिडीआर, सिसिटिभी फुटेज र फोनको लोकेसन थियो यद्यपि उनी उम्कन सफल भएका थिए । संजय नेपाल आए पनि नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका १२ हर्कपुरमा डेरा गरी बस्दै आए । उक्त कुरा प्रहरीले थाहा पाएपनि साउन २ गते उनी पक्राउ परेका हुन् ।
उनी पक्राउ परेपछि प्रहरीले होटलमा उनले नामसमेत फरक लेखाएको भेटियो । नियम अनुसार होटल बुक गरेपछि सेवाग्राहीको परिचय खोल्ने पत्रको आधारमा मात्रै होटल दिनुपर्ने नियम होटल संचालकले पालना नगर्दा समस्या झन जटिल बन्यो ।
‘अनुसन्धानको क्रममा एउटा के खुल्न आयो भने एउटा आर्यन मुलको जस्तो देखिने द नर्थ फेस लेखेको निलो रंगको ज्याकेट लगाएको व्यक्तिले आफ्नो नाम राजन गुरुङ भनी होटल युनिकको काठा नम्बर २०२ लिएको अभिलेखमा लेखेको थियो’ एसपी थापाले भने, ‘त्यो कोठामा एउटा बियर (प्रयोग नभएको) र दुई वटा जुस र ग्लास फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा सुकुको साथमा रहेको आइफोन १३ प्रोम्याक्स र सुनको सिक्रि लिएर गएको भेटिएको थियो ।’
उक्त आइफोन राजेश बुढाथोकीलाई ४० हजार पाँच सयमा बेचेको खुलेको थियो । त्यसपछि बल्ल प्रहरीले घटनाको क्लू फेला पारेको हो । ‘आइफोन बेचेपछि हाम्रो अनुसन्धानको मुख्य लिंक भेटियो । राजेश बुढाथोकीलाई पक्राउ गरियो त्यसपछि बल्ल संजय बिक हो भन्ने पत्ता लाग्यो,’ एसपीले भने । प्रहरीले आइफोनको अनुसन्धान गर्दा त्यहाँ फोटो खिचेको भेटेपछि संजयले नै हत्या गरेको पुष्टि भएको हो । पोष्टमार्टम रिर्पोटमा सुकुको हत्या घाँटी थिचेर भएको उल्लेख छ । होटल सञ्चालक, आफन्त र देख्नेले सनाखत गरेपछि उनीविरुद्ध मुद्दा चलेको हो । संजयको सुकुसँग सम्पर्क भने विजय परियारबाट भएको थियो । हत्या स्वीकारे पनि उनले अनुसन्धानमा बिहे गर्ने कुरासमेत चलेको बताएको एसपीले सुनाए । हत्याको कारण भने उनको सिक्री र मोबाइलनै भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
होटलको सुरक्षाको विषयमा बोल्दै उनले घटना लगत्तै होटल सञ्चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर तीन–चार दिनसम्म अनुसन्धान भएको बताए । होटलले अभिलेख नराखेको र सिसिटिभी जडान नगरेकै कारण घटना घटेको र व्यक्ति फरार हुन पाएको एसपीको भनाइ छ । होटल व्यवसायीहरुलाई पटक–पटक सिसिटिभी अनिवार्य र होटल बुक गर्दा परिचय खुल्ने कागजात विवरण राख्नपर्छ भन्ने कुरा अवगत गराउँदै आएपनि उक्त होटल दर्ता समेत नभएको भेटिएको हो । यो घटनामा मात्रै नभइ अन्य होटलको सवालमा समेत समस्या देखिएको र त्यस्ता होटललाई बन्द गर्नुपर्ने उनको भनाइ छ ।





