बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छः अधिकारी

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छः अधिकारी


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०८१, शनिबार

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताएका छन । ४६ औं पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिए ।

‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उनले भने । उनले युवालाई काम गरेर श्रममा बाँच्दै आफ्नो पौरखमा अगाडि बढ्न आग्रह गरे । युवा संघ कास्कीले बाढी पहिरो लगायतका विपद्मा परेका जनताको उद्धारमा सक्रिय सहभागिता जनाएर नमुना काम गरेको उनको दावी थियो । अबका दिनमा अझ सुदृढ एकतावद्ध बनेर आलोचना गर्नेलाई कामबाट जवाफ दिन उनले जोड दिए ।

अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका प्राकृतिक विपद्मा परि कास्की सहित लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा सहितका गण्डकी प्रदेशका जिल्लामा ठुलो जनधनको क्षति भएकोमा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले चिन्ता व्यक्त गरे । पहिरोमा परेर निधन भएकाको परिवारलाई आवश्यक राहत र व्यवस्थापन काम भइरहेको उनको भनार्ई थियो । ‘तपाईहरूको सहयोगमा प्रशासनलाई चुस्त दुरुस्त बनाएर पीडित परिवारलाई राहत दिने काममा हाम्रो नेतृत्वमा काम गरेका छौं, पीडित परिवारलाई भेट गरिरहेको छुँ’ उनले भने ।

युवा संघका संस्थापक अध्यक्ष समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अहिले देश अगाडि बढिरहेको भन्दै विकास निर्माण र विचार मार्फत राष्ट्रिय स्वाधीनताको झण्डा माथि उठाउन ओली सफल हुने दावी अधिकारीको थियो । ओली नेतृत्वको सरकारले देशमा रहेको गरिबी, अभाव, बेरोजगारी लगायतका समस्या समाधान गर्दै विकासको गतिमा देशलाई अगाडि बढाउने विश्वास उनले गरे ।
युवा संघ कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज विक्रम गुरुङ, कास्की सचिव उमेश गुरुङ लगायतले बोलेका थिए । पोखराको पृथ्वीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएको थियो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा एमाले कास्कीको आयोजनामा साउन ६ गते बिहान जिरो किमीदेखि पुष्पलाल पार्कसम्म सरसफाई कार्यक्रम तथा साउन ७ गते ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र वर्तमानको कार्यभार’ विषयक विचार गोष्ठीको आयोजना हुने एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->