पोखरा/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्रीमा नियुक्ती पछि उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित कांग्रेस, जसपा र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी छन् । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा उभिने भएका छन् । संसदीय दलको बैठक डाकेर यी पार्टीले विश्वासको मत नदिने निर्णय गरेका हुन् ।
एमालले विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई ह्रिप जारी गरेको छ । एमालेले अन्य राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ । नेपाली कांग्रेसले पनि ओलीलार्य विश्वासको मत दिनेछ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्दछ । संसदमा दुई ठूला पार्टीहरु एमाले र कांग्रेस मिल्दा प्रम ओलीले विश्वासको मत सहजै पाउने छन ।





