पोखरा/तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले हालै एसईई उत्तिर्ण २१७ जना तमु बिद्यार्थीलाई बधाई सम्मान तथा शैक्षिक परामर्श एवम् उपचारका लागि आर्थिक समस्यामा रहेका १३ जना बिरामीहरुलाई ४ लाख २१ हजार रुपैया सहयोग हस्तान्तरण गरेको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको कार्यालयमा आयोजित कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि डा.गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्म तमु, विशिष्ट संरक्षक दिलबहादुर गुरुङ, प्रशिक्षक डिवी गुरुङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ लगायतले टिका, खादा, सम्मानपत्रसहितबाट विद्यार्थाीलाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गुरुङले एसईई उत्तिर्ण विद्यार्थीलाई बधाई दिदै तमु विद्यार्थीहरु अध्ययनकै लागि विदेश पलायन हुँदा मुलुक एवम समुदायले ठुलो क्षति व्यहोर्नुपरेको बताए । उनले नेपालमै अध्ययन गरी समुदाय, समाज र मुलुककाबारे नव युवाले सोच्नुपर्नेमा जोड दिए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन तमु युवा विद्यार्थीले पनि आफ्नो अधिकारकाबारे सुसुचित हुने र अध्ययनमा पनि अब्बल बन्नुपर्ने उनले बताए । संंघीयताले राज्य, सरकारलाई घर आँगनमा प्राप्त गर्न सकिने भएकाले भाषिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, विकासको अधिकारका लागि तमुहरु सचेत हुन आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने आस्वस्त समेत पारे ।

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले अध्ययनमा अब्बल, युवा पुस्ता सबल भई अघि बढ्न शुभेच्छा प्रकट गरिन । एसईई उतिर्ण विद्यार्थीका साथै अभिभावकलाई समेत परामर्श एवम प्रशिक्षित गदैै विद्यार्थीमा रहेको क्षमताको पहिचान, अभिरुचि, पढ्ने विषयको क्षेत्रकोबारेमा राम्ररी बुझि विषय छनौट साथै अभिभावकले वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन । साथीको लहलहैमा, अभिभावकको दवावका कारणले रुचिनै नभएका विषय अध्ययन गर्नुृपर्दा विद्यार्थीले विचैमा अध्ययन छाड्ने गरेको तथ्यांक समेत प्रस्तुत गर्दैै उनले समयमै आफ्नो क्षमता र विषयको सहि पहिचान गर्न सुझाइन ।
कार्यक्रममा तनहँुका भिमबहादुर गुरुङ, कास्की रुपाकी चन्द्रा गुरुङ, लमजुङकी विष्णुकुमारी गुरुङ, लमजुङका प्रेमबहादुर गुरुङ, स्याङजा बेझाङका इन्द्रप्रसाद देवकोटा, पोखरा ३१ का पृथ्वी गुरुङ, स्याङजा हरिनासका ओबीकुमारी थापा, मिलिजुली विजयपुरकी अरिना गुरुङ, पोखरा १० नागिनटोलकी मनमाया लामा, रुपा ६ कि अस्मिता थापामगर, याङजाकोटकी यानाीमाया रानाभाट, अन्नपुर्ण ३ कि कमला तुलाचन गुरुङ र मादी ११ वार्चोकका दिलबहादुर दमै गरी १३ जना विरामीलाई ४ लाख २१ हजार रुपैया मे.जय–रुपकुमारी–उदय अक्षयकोषबाट स्वास्थ्योपचार सहयोग हस्तान्तरण गरिएको थियो । तमु धिं नेपालले संचालन गर्ने उक्त कोष १ करोड १५१ रुपैया रहेको छ र उक्त कोषको ब्याजबाट आर्थिक अवस्था कमजोर रही उपचार गर्न कठिनाई परेका विरामीहरुलाई सहयोग गरिदै आएको छ।
कार्यक्रममा तमु धिं नेपाल केन्द्रीय युवा समितिका कलाकारहरु, तमु कलाकार संघ गण्डकीका कलाकारहरुले साँस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए भने युवा समिति केन्द्रीय सदस्य उषा गुरुङले मुक्तक वाचन गरेकी थिइन । मुक्तिनाथ दर्शन केवलकार प्रालिको सहयोग रहेको उक्त कार्यक्रमको अध्यक्षता तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, स्वागत वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र संचालन महासचिव जुनाकुमारी गुरुङले गरेकी थिइन ।





