पोखरा/ सिद्धार्थ क्लब पोखराले स्थापनाको ४० औँ बार्षिकोत्सब कार्यक्रम विद्यार्थीहरुलाई विद्यालय पोशाकका साथै शैक्षिक सामग्री सहयोग र नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्कीलाई त्रिपाल हस्तान्तरण गरी सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले ४ दशकदेखी सिद्धार्थ क्लबले बाल, शिक्षा, महिला, स्वास्थ्य र वातावरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै स्थापनाको ४० औँ बार्षिकोत्सब कार्यक्रम मनाउन पाउदा खुशी व्यक्त गर्दै यस अवधीसम्म साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यबाद व्यक्त गरिन ।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्कीका सभापति डण्डराज शर्माले सिद्धार्थ क्लबसंगको संस्थागत पुरानो सम्बन्धको चर्चा गर्दै विपद न्यूनिकरणका सवालमा सिद्धार्थ क्लबको साथ निरन्तर पाउने विश्वास व्यक्त गरे । क्लबका पूर्वअध्यक्ष श्यामकृष्ण श्रेष्ठले क्लब स्थापनाकालको स्मरण गराउँदै क्लबका सदस्य र अभिभावकको सहयोगको आत्मसाथ गर्दै सामाजिक कार्यहरुमा उहाँहरुलाई पनि सहभागि गराउन अनुरोध गरे । यसैगरि क्लबका पूर्व अध्यक्ष पार्वती माकाजूले क्लबले ४०औँ बसन्त पार गरेकोमा शुभकामना व्यक्त गर्दै संस्थाको छवि उच्च राख्न सदैव सक्रिय रुपमा लागिरहनु पर्नै भनाई राखीन ।
कार्यक्रममा क्लबको बाल शैक्षिक कार्यक्रम अन्तर्गत ११ वटा सरकारी विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३३ जना विद्यार्थीहरुका लागी आवश्यक एक एक जोर विद्यालय पोशाक, कापी, पेन, पेन्सील, इरेजर, कटर, ड्रइङ्ग कपी लगाएतका शैक्षिक सामग्री सहयोग गर्नुका साथै नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा कास्की लाई विपद प्रभावित परिवारहरुलाई राहत स्वरुपको सहयोग व्यवस्थापन गर्ने कार्यको सहजिकरणका लागी २५ थान त्रिपाल सहयोग गरिएको थियो । क्लबका सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गरेको कार्यक्रममा सहभागीहरुलाई स्वागत क्लबका प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले गरेका थिए ।





