तस्बिर : किरण आचार्य
बागलुङ/धौलागिर अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. तरुण पौडेलको नाउँमा स्थापित कोषबाट स्वास्थ्य र शिक्षा तथा सामाजिक अभियानको क्षेत्रमा लागेकाहरुलाई सम्मान गरिएको छ ।
डा. तरुण पौडेल चिकित्सा कोषले नागरिकको स्वास्थ्य सेवामा लागेका ६ जनालाई सम्मान गरेको हो । शुक्रबार बागलुङमा आयोजित कार्यक्रममा धौलागिरि अस्पतालमा कार्यरत एनेस्थेसियोलोजिष्ट डा. अमित ढुंगाना सहितका व्यक्तित्वलाई सम्मान गरेको हो । ढुंगाना डेढ वर्षदेखि अस्पतालमा कार्यरत छन् । उनले आधादर्जन स्वास्थ्य संस्थामा बसेर काम गरिसकेका छन् ।
त्यस्तै, कोषले म्याग्दीको राखुपिपलेमा बसेर काम गरेका सिनियर अहेव शिवप्रसाद पाण्डेलाई शुन्य होम डेलीभरी बनाउन पहल गरेको भन्दै सम्मान गरियो । उनको सक्रियतामा उक्त वडाको स्वास्थ्य चौकीमा पछिल्लो समय संस्थागत सुत्केरी हुनेहरु शतप्रतिशत पुगेका छन् । पर्वतको बनौमा बसेर २८ वर्षदेखि काम गरेकी अनमी फूलकुमारी महतो, स्याङजाको अमोर सेवा नेपाल नामक संस्थाकी प्रबन्धक कमला पराजुलीलाई सम्मान गरिएको छ । संस्थाले बाल गृह स्थापना गरेर सेवा गरेको हो ।
त्यस्तै शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशिल बागलुङको बलेवास्थित त्रिभूवन बहुमुखी क्यामपसका अध्यक्ष चुडामणी शर्मालाई पनि सम्मान गरेको कोषका अध्यक्ष काजी रोशनले बताए । धौलागिरि प्राविधिक शिक्षा प्रतिष्ठानमा अध्ययन गरेर ल्याबतर्फ उत्कृष्ठ अंक ल्याउने विद्यार्थी प्रदिप भुषाल र सामान्य चिकित्सातर्फ उत्कृष्ठ कृष्णा पुनलाइ पनि पुरस्कृत गरिएको थियो ।
धौलागिरि अस्पतालमा १७ वर्षसम्म मेडिकल सुपरिटेण्डेन्ट रहेर सेवा गरेका प्रा. डा. तरुण पौडेलको नाउँमा दश वर्षअघि यो कोष स्थापना भएको हो । हाल डा. पौडेल पोखरास्थित गण्डकी मेडिकल कलेजमा कार्यरत छन् । अहिलेसम्म कोषबाट नवौं संस्करणको सम्मान र पुरस्कार दिइएको हो । धौलागिरि बहुमुखी क्यामपसका प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले उत्कृष्ठ व्यक्तिलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा उपाध्यायले सामाजिक अभियान्ता, चिकित्सक र शिक्षा क्षेत्रको अगुवाहरु जहिले पनि जिम्मेवार र संयमीत हुनुपर्ने बताए । ‘यी क्षेत्रहरु संवेदनशिल छन्, ती क्षेत्रमा लाग्नेले कहिले पनि अहंकार र अभद्र व्यवहार गर्न मिल्दैन’ उपाध्यायले भने, ‘अर्काको अभद्र व्यवहार पनि सहेर सेवा गर्ने क्षेत्रलाई सम्मान गर्नुपर्छ ।’
कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव रामप्रसाद खनालको संचालन र सदस्य शकुन्तला शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा संरक्षक डा. तरुण पौडेल, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किरण तिवारी, पुरस्कृत व्यक्तित्व डा. अमित ढुंगाना, पुर्व सांसद मन कुमारी केसी, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरे, शिवप्रसाद पाण्डे, फूलकुमारी पुन र चुडामणी शर्माले मन्तव्य राखेका थिए ।





