रामेछाप / रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दोरम्बा सैलुङ गाउँपालिका-३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको उनले बताए । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । सूचना अधिकारी इन्सपेक्टर न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ ।





