प्रतिकात्मक तस्बिर
पोखरा/पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसंगै लेकसाइड क्षेत्र २४ सै घण्टा र मुख्य बजारक्षेत्र राती अबेरसम्म खोल्न पाउने व्यवस्था भयो । तर, पछिल्लो समय लेकसाइडमा विवाद बढिरहेको छ । नाइट क्लबका कारण स्थानीयमात्र होइन पर्यटकले समेत निकै सास्ती खेपिरहेका छन् । यतिमात्र होइन नाइट क्लबका बाउन्सरलाई कारवाहि गर्दा डिएसपी सरुवा नै भए । २४ सै घण्टा खुल्ला गरेपछि पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै केही मापदण्ड बने तर, लेकसाइडका रात्रिकालिन व्यवसायमा २५ प्रतिशतले पनि मापदण्ड अनुसार सञ्चालन गरेका छैनन् ।
शनिबार पोखरामा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले पर्यटकीय राजधानी पोखराको समस्या, चुनौति र सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । प्रशासनिक निकाय, स्थानीय सरकारसहित नागरिकको उपस्थितिमा कार्यक्रमको आयोजना गरियो । सोही क्रममा सहभागि देखी सम्बन्धीत निकायले पनि रात्रिकालिन व्यवसायबारे कडाइ गर्नुपर्ने धारणा राखेका थिए । पर्यटकीय राजधानी घोषणा हुनुपूर्व लेकसाइड २ बजेसम्म खुल्ला भएपनि हाल२४ सै घण्टा खुल्ला भएको छ । नाइट क्लबले साउन्ड प्रुफ, सुरक्षा व्यवस्था गर्नुपर्ने भएपनि त्यसो गरेका छैनन् ।
पूर्व जनप्रतिनिधि जगतबहादुर पहारीले नाइट क्लबले कोलाहल मच्याउदै मापदण्ड अनुसार सञ्चालन नगरेको बताए । १६ नम्बर गल्लीमा रहेको क्लब सञ्चालकले आवश्यक मापदण्ड पालन नगरि चुनौति दिइरहेको र त्यसलाई समाधान गर्नुपर्नेमा जोड दिए । स्थानीय शान्ति पहारीले नाइट क्लबका कारण आफुहरु सुत्न समेत नपाएको बताइन् । गोमा ढकालले लेकसाइडको फुटट्रायकमा विहान हिड्न सक्ने अवस्था नभएको बताइन् । बबिता मल्ललेसम्बन्धीत निकायले कारवाहि गर्न नसक्दा क्लबहरुमा मादक पदार्थ सेवन गरि मातेकाले रातभर अश्लिल शब्द बोल्दै दुःख हैरानि दिनेगरेको सुनाइन् । उनीहरुले लेकसाइडमा कडा गर्न आएका डिएसपीको सरुवा गरिदिएका कारण आफुहरु झन असुरक्षित भएको बताए।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जवाफ दिदैँ फुटफाथ व्यवस्थापन र सडक मानवबारे सहकार्य गरि अभियान चलाएको बताए । पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सहर निर्माणमा अघि बढ्दा आवश्यक सुरक्षाका विषयलाई हेरेर अघि बढ्नुपर्ने र गुुनासोको बारेमा छलफल गरिने बताए । प्रशासनको संरक्षणमा विकृति फैलन नदिने र सुरक्षाको केही बाध्यताले गर्दा समस्या आएको उनको भनाइ थियो । यसका लागि नागरिक आफै सचेत हुनुुपर्ने र रात्रिकालिन व्यवसायका लागि सरोकारवालासँग बसेर रिभ्युगर्ने उनको भनाइ छ । ‘कुनैपनि व्यवसाय सञ्चालन गर्दा कानुनले तोकेको मापदण्ड पालना गरेको हुनुपर्छ । सर्त पालना गनुै व्यवसायको कर्तव्य हो । हाम्रो अनुुगमन टोली छ । अनुुगमन नभएको होइन दिनैपिच्छे जान सकिदैन्’ प्रजिअले भने, ‘मापदण्ड विपरितका छन भने लिखत रुपमा दिएका छौं मानेनन् भने बन्द गर्नुपर्छ । मापदण्ड विपरित छन भने गुनासोको आधामा हामीले कारवाहि गर्छौ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले प्रविधियुक्त प्रहरी सेवा सञ्चालन गर्ने गर्ने बताए । त्यसका लागि पोखरामा अपराध हुन सक्ने ३५० हटस्पट पहिचान बनाएको अवधारणापत्र महानगरपालिकालाई बुझाएको सुनाए । अवधारणापत्रमा पर्यटकिय राजधानीलाई सुरक्षित बनाउन ३५० ठाउँमा सिसिटिभी जडान गर्न पाँच करोड बराबरको लागत लाग्ने भएतापनि महानगरले ५० लाख रुपैयाँमात्र विनियोजन गर्दा काम नभएको उनको भनाइ छ । नागरिकले उठाएका गुनासोप्रति प्रहरीको क्षेत्राधिकार भित्र पर्ने कुरामा आजैदेखि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।महिला तथा बालिकाको प्रयोग भइरहेको छ भने श्रम ऐन अनुसार सुविधा पाएका छैनन् त्यतिमात्र होइन यौनजन्य र वेश्यावृतिमा समेत प्रयोग भइरहेका छन् । १८ वर्ष मुनका बालबालिकालाई मनोरञ्जनको क्षेत्रमा लगाउन पाइदैन तर, लगाएको छ । उमेर खुल्ने कुनै परिचयपत्र नराखेको भेटिएको छ एसपीले भने । उनका अनुसार रात्रिकालिन व्यवसाय स्थानमा आवास क्षेत्र हुँदा समस्या भएको हो । यस्तै विहानको समयमा फुटट्रयाकमा देखिने अवस्थाबारे नगर प्रहरीले ध्यान दिन जरुरी रहेको र महानगरसँग समन्वय गर्न आवश्यक रहेको एसपीले बताए ।
पोखरा महानगरपालिका ६ का वडाअध्यक्ष विष्णुबहादुर भट्टले केन्द्र र प्रदेशका कारण आफुहरु अधिकार विहिन भएको बताए । रात्रिकालिन व्यवसायबारे केन्द्र र प्रदेशस्तरबाटै अघि बढेकाले आफुहरुले सोचेअनुसार काम गर्न नसकेको उनको भनाइ छ ।





