बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान, ४७ युनिट रगत संकलन

ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान, ४७ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८१, आइतबार

पोखरा/ ग्रिन डेभलपमेन्ट बैंक र लायन्स क्लब अफ पोखरा भद्रकालीको आयोजनामा आइतबार पोखरामा भएको रक्तदानमा ४७ युनिट रगत संकलन भएको छ । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्वसको अवसर पारेर पोखराको न्युरोडस्थित बैंकको मुख्यालय परिसरमा कार्यक्रम भएको हो ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एलका गभर्नर सुमन भट्ट क्षेत्रीले बैंकका सिइओ हरिबहादुर बुढाथोकीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे । गभर्नर भट्टले क्लब र बैंकले मिलेर विगत वर्षदेखि निरन्तर रक्तदान गर्दै आएकोमा प्रशंसा गरे । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत ब्लड बैंक पोखरासँगको सहकार्यमा रक्तदान भएको हो ।

बैंकका सिइओ बुढाथोकीले रक्तदान सबैभन्दा ठूलो मानवीय कार्य रहेको भन्दै यसलाई निरन्तरता दिइँदै आएको बताए । बागलुङबाट सुरु भएको ग्रिन डेभलपमेन्ट बैंकले विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो ।  ४७ जना रक्तदातामध्ये १६ जना महिला थिए । महिलामध्ये पनि १२ जना बैंककै कर्मचारी हुन् । १२ महिला कर्मचारीमध्ये ६ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । पहिलो पटक रक्तदान गर्नेलाई लायन्सको पिनले सम्मान गरिएको क्लब अध्यक्ष रवीबहादुर विकले बताए । लायन्स भद्रकालीले स्थापनाकालदेखि नै सामाजिक सेवाका कार्यहरु गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका डेपुटी सिइओ प्रकाशबहादुर गुरुङ, लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एलका सचिव, कोषाध्यक्ष, डिस्ट्रिक्ट ब्लड डोनेसन चियरपर्सन जीतेन्द्रमान शाक्य, रिजन चियरपर्सन कृष्णप्रसाद शर्मा तिमिल्सिना, जोन चियरपर्सन ज्ञानबहादुर कार्की, क्लबका अन्य पदाधिकारी, बैंकका कर्मचारीहरु सहभागी रहेको क्लब सचिव गुणखर अर्यालले बताए ।

१२ वर्ष अगाडि बागलुङमा खुलेको बैंकको मुख्य कार्यालय हाल पोखरामा छ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकले १५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ । बैंकका सहायक महाप्रबन्धक संयुक्तबहादुर धाख्वाले वार्षिकोत्सवका अवसरमा बैंकका विभिन्न शाखाहरुबाट सामाजिक कार्यहरु गरिएको बताए । बागलुङ शाखाले मानव सेवा आश्रममा दान गरेको भने भने नवलपुरको दलदले शाखाले विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । दमौली लगायका शाखाबाट सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ ।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले ग्रिन समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । सय रुपैयाँमा खाता खोल्न सकिने, मासिक ब्याज भुक्तानी, साढे ५ प्रतिशत व्याजदर रहेको उक्त खाता खोल्नेका लागि लकरमा ७५ प्रतिशत छुट दिइएको सहायक महाप्रबन्धक धाख्वाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->