
बागलुङ/जैमिनी नगरपालिका १० मा दशकदेखि व्यावसायिक कृषि गर्दै आएका केदार आचार्यले एकाएक काम छाडेर चितवन झरें । प्लाष्टिक टनेलमा सुन्तलाका बिरुवा हुर्काएका आचार्यले बिरुवा, तरकारी र फलफूल बेचेर वार्षिक १० लाख कमाउँथे ।
उनले गाउँ छाडेपछि फर्ममा सुनसान छ । अलैची संकलन गरेर बेच्ने काम पनि उनले गर्थे । प्लाष्टिक टनेलभित्र नयाँ प्रयोग समेत गर्ने आचार्यले गाउँ छाडेपछि कृषि प्राविधिक पनि अलमलमा छन् । जिल्लामै नमूना किसानको रुपमा चिनाइएकाले छाडेपछि नयाँ किसानलाई प्रोत्साहन गर्न अप्ठ्यारो भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत कुमार पुनले बताए ।
जैमिनी ४ मा बंगुरपालन गरेका जैमिनी ७ का नबिन रानाले पनि व्यवसाय बन्द गरेर वैदेशिक रोजगारीमा लागेका छन् । उनको फर्ममा ५० बढी बंगुर थिए । गतवर्ष अमेरिकन स्वाइनफ्लुले बंगुर मरेपछि उनी चिन्तामा परेका थिए । यो वर्ष सहयोग गर्न तयार भएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटा नै किसानले वैदेशिक रोजगारीको बाटो रोजेको देखेर चिन्तित छन् ।
एकडेढ वर्षमा जिल्लाका दर्जनबढी व्यवसायिक किसानले बैदेशिक रोजगारीको बाटो रोजेका छन् । अघिल्ला वर्ष १ देखि ४ लाख रुपैयाँसम्म अनुदान पाएर व्यावसायिक कृषिलाई बढाउने योजनामा उत्साहका साथ लागेकाहरुले देश छाडेपछि प्राविधिकले उपलब्धि कसरी देखाउने भन्नेमा अन्यौल छन् । बरेङ घर भइ सदरमुकाममा जग्गा भाडामा लिएर स्ट्रबेरी खेती गरेका अशोक श्रीष रोजागरीका लागि जापान छन् ।
अनुदान रकमले मात्र किसानको लगानी सुरक्षित नभएको गुनासो बढेको छ । अति वर्षा, खण्डवर्षा, लामो खडेरी लगायतले कृषि उत्पादनमा व्यापक क्षति भएपछि किसानहरु पलायन बन्न थालेका हुन् । ‘सुरु लगानी महंगो छ, कमाएको देखिन्छ, ऋण तिरेको देखिंदैन,’ बागलुङ नगरपालिका १२ का मुक्तिराम आचार्यले भने, ‘वर्षाभर दूध बेच्न नपाएर नोक्सानी व्यहोर्नुपरेको छ ।’ दूध बिक्रीको आधारमा अनुदान दिने नगरपालिकाको नीति छ । असार, साउन र भदौसम्म सडक अभावले दूध बजार पठाउन नसक्दा अनुदान पनि नपाउने, कमाइ पनि नहुने अवस्था छ ।
प्राकृतिक समस्या बढी, शुरु लगानी बढ्दा किसानले व्याज तिर्न समेत हम्मेहम्मे भएपछि धेरैजना पलायन भएका छन् । उत्पादनलाई बजारीकरणमा राज्यको साथ पाएमा किसानले काम छाड्नु नपर्ने अर्का किसान रुद्रनाथ शर्मा बताउँछन् । उत्पादनमा जुटेका किसानले बजार खोज्ने काममा निस्कनुपर्दा बढी सास्ती भोगेको गुनासो गर्छन् । बजार नपाएको, यातायातको समस्याले समयमा बजार पठाउन नसकेको र अप्रत्यासित आउने रोगले हैरानी भएको किसानको गुनासो छ ।
पछिल्लो समय मौषममा आएको समस्या र बैदेशिक रोजगारीमा ठूलो रकम कमाउने आसले किसानले पेशा छाडेको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए । ‘किसानलाई आकर्षित गरेर पेशामै रँख्न प्रयास भैरहेको छ, तर मौषमले पनि चुनौती दिएको छ,’ उनले भने, ‘अनुदान रकम सानो छ, यो बढाउन सकियो भने किसानलाई आर्कषित गर्न सकिन्छ ।’ सामाजिक रुपमा धेरै किसान बसेर काम गर्ने वातावरण भएमा पलायन हुने सोच नआउने समेत उनले बताए ।





