मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बसपार्क चल्यो, दातालाई जग्गा फिर्ता कहिले ?

बसपार्क चल्यो, दातालाई जग्गा फिर्ता कहिले ?

झण्डै ४ करोड राजश्व प्रदेश सरकारले छुट दिने र नगरले बाटो बनाइदिएमात्रै जग्गा फिर्ता गर्न सकिने बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारी बताउँछन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०८१, बुधबार

बागलुङ/साविक धौलागिरीबासीको २३ वर्ष अघिको सपना पुरा भएको छ । तत्कालिन अञ्चल सदरमुकाम बागलुङ बजारमा चारै जिल्लाको सवारी चाप धान्ने गरी आधुनिक बसपार्क बनाउने सपना पुरा भएको हो ।
नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिकाले वडा नं. ४ उपल्लाचौरको दावगह्रामा बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याएको हो । बसपार्क निर्माणका लागि स्थानीय ४१ जना जग्गादाताले १७ रोपनी जग्गा निशुल्क उपलव्ध गराएका थिए ।
जग्गाको खोजी थालेको २३ वर्षपछि तयार भएर सञ्चालनमा ल्याइएको बसपार्कको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उद्घाटन गरे । दिप बाल्ने, शिलालेख अनावरण गर्ने र बस चालकलाई टिका लगाएर पहिलो बस बसपार्कबाट काँकडभिट्टा छुटाएर मुख्यमन्त्री पाण्डेले बसपार्क सञ्चालनमा आएको घोषणा गरे ।
बसपार्क उद्घाटन गर्दै पाण्डेले संविधानले दिएको अधिकार प्रयोग गर्नमा अंकुश लाग्दा काम गर्न कठिन हुने बताए । केही समयअघि धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रविरञ्जन प्रधानको सरुवालाई अदालतले रद्ध गरेको विषयप्रति संकेत गर्दै पाण्डेले भने ‘संविधानले कार्यपालिका, व्यवस्थापिका र न्याय पालिकाको आ–आफ्ना काम किटान गरेको छ तर कहिलेकाहीँ एकले अर्काको काममा हस्तक्षेप गर्दा काम गर्न कठिन हुन्छ, जनताले चाहेको जस्तो डेलिभरी दिन सकिन्न, यो अवस्थाको अन्त्य हुनुपर्छ ।’ उनले बसपार्कको पहुँचमार्गको कालोपत्रे, जग्गादाताको बाँकी जग्गा व्यवस्थापनको काम लगायतमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री कृष्ण पाठकले बसपार्क सञ्चालनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिए । उनले प्रदेश सरकारसँग जोडिएका विषयमा सम्बोधन गर्न सरकार तयार रहेको बताए ।
नगर विकास कोषको ९ करोड लगानी हुने भएपनि ७ करोड ६६ लाख ९९ हजार रुपैयाँमा काम सक्नेगरी आशिष फेवा संयुक्त निर्माण कम्पनीले जिम्मा लिएको थियो । बसपार्क, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्क लगायतको संरचना तयार छन् । हाल बागलुङको चिप्लेटीमा रहेको बसपार्कले चाप नधानेपछि नयाँ बसपार्क सञ्चालनमा ल्याईएको हो । चिप्लेटी बसपार्कमा भने जीपपार्क वा सभाहल बनाउने विषयमा अध्ययन गरिने नगरपालिकाको योजना छ । यो बसपार्कले लामो र छोटो दुरीका बस संचालन गर्न दुइवटा पार्क संचालनमा आउन सक्नेछन् । बसको पार्किङ, टर्मिनल भवन, शौचालय, खानेपानी र दोहोरो ट्रयाक १७ रोपनीमा बनेको छ ।

बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन तथा विकास समिति बनेको थियो । समितिले उपभोक्ताको ६९ रोपनी जग्गा एकिकृत गरेर आफ्नो नाममा लिएको थियो । त्यो मध्ये १७ रोपनी जग्गा नगरका नाममा दिएपछि बाँकी जग्गा समितिकै नाममा छ ।
बसपार्कका लागि नगरलाई जग्गा दिँदा १२ बुँदे सहमति भएको थियो । सहमति अनुसार जग्गादाताले जग्गा दिए । बाँकी जग्गामा सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधार तयार गर्ने जिम्मेबारी नगरपालिकाको भनिएको छ । तर, ति काम भएका छैनन् । सबै काम सकेर कित्ताकाट भएपछि योगदानको आधारमा जग्गा फिर्ता गर्ने सम्झौतामा उल्लेख रहेको समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी बताउँछन् । अहिले सडक मात्रै खोल्दा पनि जग्गा फिर्ता लिन जग्गादाता तयार भएपनि समितिले जग्गादातालाई जग्गा फिर्ता गर्दा लाग्ने राजश्वमा कुरा मिलेको छैन् । झण्डै ४ करोड राजश्व प्रदेश सरकारले छुट दिने र नगरले बाटो बनाईदिए मात्रै जग्गा फिर्ता गर्न सकिने राजभण्डारी बताउँछन् ।
बसपार्क सञ्चालनमा आईसक्दा समेत सित्तैमा दिएर बाँकी रहेको जग्गा नपाएकोमा जग्गादाता भने निराश छन् । ‘यो त तरिकै भएन्, जसले बसपार्क बनाउन जग्गा दियो उसैलाई जग्गा फिर्ता नगरी बसपार्क उद्घाटन गरेर के गर्न खोजिएको हो ? सम्झौता अनुसारको काम भएन्’ समितिका सचिव ध्रुव बहादुर केसीले भने ।

दुःख भोग्नेलाई उद्घाटनमा उपेक्षा
२०५८ सालदेखि बसपार्क निर्माणको कसरत सुरु भएपनि स्रोत लगायतका बिबिध कारणले स्थानीय तह गठन पछिको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहलले निर्माणको काम सुरु भयो । निवर्तमान नगरप्रमुख जनकराज पौडेल नेतृत्वले नगर विकास कोषसँग ऋण लिने, जग्गाको चक्लाबन्दी तथा प्राबिधिक र भौतिक रुपमा आएका अनेकौं चुनौती चिरेपछि बसपार्क निर्माण भएको थियो ।
बसपार्कको जग्गा चक्लाबन्दीमा बदमासीको आशंकमा तत्कालिन उपप्रमुख सुरेन्द्र खड्का, वडा अध्यक्ष ध्रुबबहादुर केसीसहित कर्मचारी र जग्गा व्यवस्थापन समितिले अख्तियार र अदालत धाउनु पर्यो । त्यो मात्रै होईन कार्यकालको उत्तरार्धमा निलम्बन व्यहोर्नुपर्यो । बिशेष अदालतले सफाई दियो । अख्तियार सर्वोच्च जाने आँट गरेन् । बसपार्ककै लागि अनियमितता जस्तो गम्भिर आरोप खेपेर पनि सफाई पाएका र निन्तर पहल गरेका पूर्व जनप्रतिनिधिलाई उद्घाटनमा वास्ता गरिएन् ।

संचालनमा अझै आशंका
बसपार्क मुख्य सडकको पहुँचमा छैन् । बस्ती छिचोलेर पार्कमा पुग्नुपर्ने पहुँचमार्ग त्यति सहज छैन् । ठुला सवारी साधन सहजै पुग्न सक्दैनन् । उद्घाटनमै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पहुँचमार्ग कालोपत्रे र स्तरोन्नतीका लागि प्रदेश सरकारको सहयोग मागे ।
बजारभन्दा केही पर, बसपार्क पुग्न यात्रुलाई अर्को साधनको प्रयोग गर्नुपर्ने बाध्यता छ । ‘नयाँ बसपार्कबाट सहज हिसाबले बस चलाउन पाईयोस्, उद्घाटन भएको बसपार्क चलेन भन्ने सुन्न नपरोस्, यातायात व्यवसायीका समस्या पनि सुनियोस्’ धौलागिरी गण्डकी यातायात सेवाका अध्यक्ष उमेश केसीले भने, ‘हामी बसपार्कबाट सेवा लिन प्रतिबद्ध छौं ।’ यो बसपार्क बनेपछि एकैपटक ८० वटा बस राख्न मिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->