बागलुङ/मंगलबार उद्घाटनका दिन आधुनिक बागलुङ बसपार्कबाट काँकडभिट्टाका लागि एउटामात्रै बस छुट्यो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चालक र सहचालकहरुलाई टिका लगाए र दक्षिणा दिएरै बस छुटाए । त्यसपछि अर्को बस छुटेन् । बसपार्कमा उपस्थित सर्वसाधारणले बुधबार बस छुट्लान भन्ने सोचेका थिए । तर बसले एकुन्द्रो मेटेन् ।
भव्य कार्यक्रमका बीच उद्घाटन भएको २४ घण्टा नबित्दै बसपार्क सुनसान भएको छ । बाटोको दुरावस्था र सवारी साधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारी साधन बसपार्कमा लैजान आनाकानी गरिरहेका छन् ।
बागलुङ नगरपालिका वडा न. ४ दावागरामा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । निकै तामझामका साथ उद्घाटन गरिएको बसपार्क एकदिन पनि सञ्चालनमा आउन नसकेकोमा नगरबासी चिन्तामा छन् ।
व्यवसायी विष्णुराज पन्तले असुरक्षाको कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए । ‘बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?’ उनले आश्चार्य व्यक्त गर्दै भने– ‘नगरले सुरक्षा दिनुपर्यो नि, अनि मात्र ठुला सवारी गन्तव्यमा पुग्छन् ।’
बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । ‘व्यवसायीसँग सम्झौता भएको छैन्, हामी छलफलमै छौं, एकदुई दिनमा काम टुंगो लाग्छ’ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले भने– ‘एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन् ।’ उनले बसपार्कलाई दीगो बनाउनको लागि यातायात व्यवसायीहरुसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए ।
निकै तामझामका साथ उद्घाटन गरिएको बसपार्क एकदिनपनि सञ्चालनमा आउन नसक्नुलाई नगरको असफलताको रुपमा लिएको स्थानीय व्यवसायी बाबुकाजी केसीले बताए । ‘यो खासगरि नगरप्रमुख र सिङ्गो नगरपालिकाको असफलता हो भन्ने लाग्छ ।’ उनले भने–‘एकदिनमै बन्द हुने बसपार्क तामझामका साथ उद्घाटन गर्नु हुन्नथ्यो ।’ उनले नगरपालिकाले आफ्नो अधिकार प्रयोग गर्न नसक्दा यस्तो अवस्था आएको बताए ।
निर्माण प्रक्रिया सुरु गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणको लागि नगर विकास कोषबाट ८ करोड ७० लाख रुपैयाँ ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।





